
काठमाडौं, असोज २४। नेपाली मौलिक खानाको संरक्षण, प्रवर्द्धन र ब्रान्डिङ गर्ने उद्देश्यले प्रेसिडेन्ट बिजनेस ग्रुपले तेस्रो ‘पक्कु फेस्टिभल–२०८३’ आयोजना गर्ने भएको छ।
असोज २५ देखि २९ गतेसम्म पाँच दिन चल्ने फेस्टिभल काठमाडौंको सुन्धारा, महाराजगञ्ज, बत्तीसपुतली र कलंकीस्थित प्रेसिडेन्टका आउटलेटहरूमा सञ्चालन हुनेछ। साथै, भैरहवामा आयोजना हुने फुड फेस्टिभलमा पनि प्रेसिडेन्टको पक्कु प्रस्तुत गरिनेछ।
नेपाली मौलिक स्वाद र आतिथ्य संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्यसहित आयोजना गरिएको फेस्टिभलले रैथाने परिकारको संरक्षण, पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनको बजार विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
होटल तथा रेस्टुरेन्ट क्षेत्रमा दुई दशकदेखि सक्रिय प्रेसिडेन्ट बिजनेस ग्रुपले हाल ३५० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिँदै आएको छ। समूहले बुटवल र काठमाडौंको बुढानीलकण्ठमा समेत नयाँ आउटलेट विस्तार गर्ने तयारी गरेको जनाएको छ।


