
बडादसैँको नवरात्रअन्तर्गत आज दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा–आराधना गरिँदैछ। तपस्या, त्याग, संयम, धैर्य र आत्मबलकी प्रतीक मानिने ब्रह्मचारिणी देवीले भगवान् शिवलाई पति पाउन कठोर तपस्या गरेको धार्मिक विश्वास छ।
देवीको एक हातमा जपमाला र अर्को हातमा कमण्डलु रहेको स्वरूपको पूजा गरिन्छ। विशेषगरी विद्यार्थी, साधक र योगीहरूका लागि ब्रह्मचारिणीको आराधना फलदायी मानिन्छ। देवीको पूजामा फूल, अक्षता, चन्दन, पञ्चामृत, फलफूल तथा विभिन्न प्रसाद चढाउने परम्परा छ।
आज देवीलाई सख्खर अर्पण गरी पूजा तथा दान गरेमा बन्धनबाट मुक्ति, अनिष्ट नाश र सुख–शान्ति प्राप्त हुने धार्मिक मान्यता छ। ब्रह्मचारिणीको साधनाले ज्ञान, आत्मबल, धैर्य र सकारात्मक ऊर्जा बढ्ने विश्वास गरिन्छ।


