
नेपालगन्ज । मिस नेपाल वर्ल्ड २०२६ दीपमाला ढकाल आगामी मंसिर १२ गते नेपालगन्जमा आयोजना हुने धारा नेपालगन्ज म्याराथनको १२औँ संस्करणमा सहभागी हुने भएकी छन्। उनले म्याराथनमा दौडिँदै परोपकारी कार्यका लागि आर्थिक सहयोग जुटाउने भएकी हुन्।
तेक्वान्दोमा ब्ल्याकबेल्टसमेत रहेकी दीपमाला स्वयं पनि म्याराथन धाविका हुन्। उनले विश्वप्रसिद्ध स्ट्यान्डर्ड चार्टर्ड हङकङ म्याराथनमा समेत सहभागिता जनाइसकेकी छन्। नेपालगन्ज म्याराथनमा उनले कुन दूरीमा प्रतिस्पर्धा गर्ने भन्ने विषयमा भने चाँडै जानकारी सार्वजनिक गरिने आयोजकले जनाएको छ।
नेपालका म्याराथन प्रतियोगितामा मिस नेपाल स्वयं दौडिन लागेको यो सम्भवतः पहिलो अवसर हो। यसअघि विद्यार्थी, युवा तथा समाजलाई खेलकुद र स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने उद्देश्यले मिस नेपाललाई नेपालगन्ज म्याराथनमा आमन्त्रण गरिँदै आएको थियो।
स्वस्थ समाज निर्माणका लागि सञ्चालन हुँदै आएको जागरण अभियानअन्तर्गत नेपालगन्ज म्याराथन र द हिडेन ट्रेजरबीचको समझदारीअनुसार मिस नेपाल वर्ल्ड नेपालगन्ज म्याराथनकी सद्भावना दूतसमेत रहनेछिन्।
गत वर्ष मिस नेपाल वर्ल्ड २०२५ लुना लुँइटेल र मिस नेपाल वर्ल्ड २०२३ श्रृच्छा प्रधानले अनौपचारिक रूपमा पाँच किलोमिटर दौड पूरा गरेका थिए। यसपटक भने दीपमाला स्वयं परोपकारी उद्देश्यसहित दौडमा सहभागी हुन लागेकी हुन्।
क्यान्सरपीडितका लागि सहयोग र जलवायु सचेतना
दीपमालाले म्याराथनमार्फत क्यान्सरपीडितका लागि सहयोग जुटाउनुका साथै जलवायु परिवर्तनबारे सचेतना फैलाउने उद्देश्य राखेकी छन्।
विश्वका प्रतिष्ठित म्याराथनहरूमा परोपकारी उद्देश्यका लागि दौडिने प्रचलन छ। विभिन्न गैरसरकारी संस्था तथा कर्पोरेट क्षेत्रले च्यारिटीका लागि धावकलाई सहभागी गराउँदै ठूलो रकम संकलन गर्ने गरेका छन्। यही अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालमा पनि जोड्ने प्रयासस्वरूप दीपमालाले दौडलाई सामाजिक अभियानसँग जोड्न लागेकी हुन्।
१२ विधामा प्रतिस्पर्धा
नेपालगन्जको बीपी चोकबाट सुरु हुने म्याराथनमा यसपटक विभिन्न १२ विधा समावेश गरिएको छ।
प्रतियोगितामा ४२ किलोमिटर पुरुष खुला म्याराथन, २१ किलोमिटर महिला हाफ म्याराथन, १० किलोमिटर पुरुष तथा महिला खुला, पाँच किलोमिटर पुरुष तथा महिला खुला, पाँच किलोमिटर स्कुलस्तरीय छात्र–छात्रा दौड, तीन किलोमिटर कर्पोरेट रन, तीन किलोमिटर किड्स रन, तीन किलोमिटर ह्वीलचेयर रन, दुई किलोमिटर फेमिली रन र तीन किलोमिटर रन फर अल रहेका छन्।
म्याराथनको ४२ किलोमिटर दूरी पुरुष खुलातर्फ भए पनि व्यक्तिगत समय परीक्षणका लागि सहभागी हुन चाहने महिलालाई विद्युतीय चिप उपलब्ध गराइनेछ। त्यस्तै, महिला हाफ म्याराथनमा पुरुष धावकले पनि आफ्नो समय सुधारका लागि दौडिन चाहेमा विद्युतीय चिप उपलब्ध गराउने व्यवस्था गरिएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिएका छन्।
उमेर समूहका धावकलाई विशेष अवसर
४२ किलोमिटरतर्फ ४०–५०, ५०–६० र ६०–७० वर्ष उमेर समूहका धावकको छुट्टाछुट्टै वरियता निकालिने आयोजकले जनाएको छ। प्रत्येक समूहका उत्कृष्ट तीन धावकलाई सम्मान तथा प्रोत्साहन गरिनेछ।
एबोट वर्ल्ड म्याराथन मेजर्ससँगको सहकार्यमा उमेर समूहका धावकलाई विश्वव्यापी वरियतामा समेत समावेश गरिँदै आएको आयोजकको भनाइ छ। यसपटक पनि त्यसलाई निरन्तरता दिइनेछ भने उमेर समूहको विश्व च्याम्पियनसिपमा सहभागिताका लागि समेत सहजीकरण गरिनेछ।
विभिन्न विधाका उत्कृष्ट धावकलाई विश्वका प्रतिष्ठित म्याराथन तथा वर्ल्ड एथ्लेटिक्सअन्तर्गतका प्लेटिनम, गोल्ड, एलिट र लेभल रेसमा सहभागिताको अवसर उपलब्ध गराउने तयारीसमेत गरिएको छ।
अनलाइन दर्ता खुला
नेपालगन्ज म्याराथनका लागि अनलाइन दर्ता खुला भइसकेको दर्ता संयोजक गगन थापाले जानकारी दिएका छन्। प्रतियोगितामा सहभागी हुन नेपालगन्ज म्याराथनको आधिकारिक वेबसाइटमार्फत दर्ता गर्न सकिनेछ।
गत जुनमा नर्वेको ट्रम्सोमा आयोजित कार्यक्रममा नेपालगन्ज म्याराथनले विश्वभरका विभिन्न रेसमध्ये एम्स सोसल अवार्ड प्राप्त गरेको थियो।
शान्ति र सद्भावको सन्देश बोकेको म्याराथन
नेपालगन्ज म्याराथन सन् २०१५ देखि निरन्तर आयोजना हुँदै आएको छ। २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरणमा २०७२ सालदेखि नेपालगन्जमा म्याराथन सुरु गरिएको हो।
बहुजातीय, बहुधार्मिक र बहुसामुदायिक विशेषता बोकेको नेपालगन्जलाई शान्ति, सद्भाव र एकताको सूत्रमा जोड्ने माध्यमका रूपमा म्याराथनलाई अघि बढाइएको आयोजकको भनाइ छ।
कोभिड–१९ महामारीका बेला समेत नेपाल सरकारको स्वास्थ्य प्रोटोकल पालना गर्दै नेपालगन्ज म्याराथनले टोकियो ओलम्पिकका लागि खेलाडी छनोट प्रतियोगिता आयोजना गरेको थियो।
म्याराथनसँगै अहिले करिब एक दर्जन भगिनी इभेन्टसमेत सञ्चालनमा छन्। स्कुले बालबालिकालाई जलवायु परिवर्तनका असर र अनुकूलनबारे सचेत गराउने उद्देश्यले गौघाट ग्रीन रन र राप्तीसोनारी नेचर रन तीन वर्षदेखि सञ्चालन हुँदै आएका छन्। रातको समयमा समेत सुरक्षित रूपमा दौडिने वातावरण निर्माण गर्ने उद्देश्यले नेपालगन्ज १० के नाइट रनका दुई संस्करणसमेत सम्पन्न भइसकेका छन्।
नेपाली सम्पदालाई विश्वमाझ प्रचार गर्ने उद्देश्यले गत वर्षदेखि काठमाडौं २५ किमी हेरिटेज रेस सुरु गरिएको छ भने कर्णाली प्रदेशमा कर्णाली हाफ म्याराथन पनि सञ्चालनमा आएको छ।
लोकतन्त्रमा संवाद र बहसको महत्वलाई जोड दिँदै नेपालगन्ज डिस्कोर्सअन्तर्गत नेपालगन्ज कनक्लेवका छ संस्करण सम्पन्न भइसकेका छन्। यस वर्षको कनक्लेवमा युवा र खेलकुदका विषयमा मिस नेपाल वर्ल्ड दीपमाला वक्ताका रूपमा समेत सहभागी हुने आयोजकले जनाएको छ।


