
नुवाकोट — मानिसको पहिचान उसले हासिल गरेको उच्च शिक्षा, ओगटेको पद वा घुमेको भूगोलले मात्र निर्धारण गर्दैन। उसको वास्तविक पहिचान कर्म, निष्ठा र सेवाभावले बनाउँछ। यही मान्यतालाई व्यवहारमा उतार्दै नुवाकोटको रीठ्ठेचौरका राजन लामिछाने पछिल्लो समय गाउँ, समाज र समग्र जीवजगत्को सेवामा सक्रिय छन्।
आर्थिक अभाव र पारिवारिक वियोगसँग संघर्ष गर्दै हुर्किएका लामिछानेले आफ्नो जीवनलाई श्रम, सीप र सेवासँग जोड्दै आएका छन्। गाउँका मठमन्दिर तथा सार्वजनिक संरचनाको मर्मतसम्भारदेखि बाटोमा सिँढी निर्माण, चौतारा संरक्षण, बटुवाका लागि फलैँचा निर्माण र चराचुरुङ्गीका लागि गुँड तथा पानीको व्यवस्था गर्नेसम्मका काममा उनी आफ्नै श्रम र सीप प्रयोग गरिरहेका छन्।

लामिछानेको जन्म नुवाकोटको खत्री गाउँमा पिता रत्नप्रसाद लामिछाने ‘सत्तरी साइला’ र आमा तुलाकुमारीका माइलो छोराका रूपमा भएको हो। उनका पिता गाउँमा झारफुक गर्ने व्यक्तिका रूपमा परिचित थिए। आर्थिक अवस्था कमजोर भएकाले पाखोबारीमा उत्पादन हुने कोदो र मकैले वर्षभरि खान नपुग्ने भएपछि उनी अरूको मेलापातमा काम गरेर परिवारको गुजारा चलाउँथे।
परिवारको आर्थिक अवस्था कमजोर भए पनि रत्नप्रसादले श्रीमती र पाँच सन्तानको जिम्मेवारी सम्हाल्दै जीवन बिताए। अभावकै बीच आफ्ना सन्तानको भविष्यका लागि निरन्तर संघर्ष गरेका उनका जीवनका कठिन दिनहरू राजनले बाल्यकालमै नजिकबाट देखे।
सानै उमेरमा राजनले परिवारमा एकपछि अर्को वियोग पनि सहनुपर्यो। पहिले बुबाको निधन भयो, त्यसपछि दाजुको। रोगले थलिएकी आमाको उचित उपचार गर्न नसक्दा आमालाई समेत गुमाउनुपर्यो। बाल्यकालमै अभिभावक गुमाएका राजनमाथि परिवारको जिम्मेवारीसमेत थपियो।

आफ्नै उमेरका साथीहरू राम्रो लुगा लगाएर हिँडेको, मिठोमसिनो खाएको र रमाइलो गरेको देख्दा उनका मनमा पनि त्यस्तै रहर पलाउँथे। तर पारिवारिक अभावका कारण ती रहर पूरा गर्न सम्भव थिएन। आफ्नै जीवनमा भोगेको अभाव र पीडाले उनलाई पछि अरूको दुःख बुझ्ने र सकेसम्म सहयोग गर्ने संवेदनशील व्यक्ति बनाउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।
शिक्षाको अवसर पनि उनले पर्याप्त पाएनन्। जीवनको कठिन परिस्थितिले उनलाई कम उमेरमै श्रम र जिम्मेवारीको बाटोमा धकेल्यो। तर उनले अभावलाई आफ्नो नियति मानेर बस्नुको सट्टा सीप सिके र श्रमलाई जीवन परिवर्तनको आधार बनाए।
राजनले ढुङ्गा, माटो र काठका काम सिके। आफ्नै हातमा भएको सीप र निरन्तर मेहनतबाट उनले विस्तारै आफ्नो जीवनलाई व्यवस्थित बनाउँदै लगे। आफ्नै गाउँमा घर बनाए र कृषि कर्ममा समेत सक्रिय भए।
उनको सबैभन्दा ठूलो प्राथमिकतामध्ये छोरीहरूको शिक्षा रह्यो। आफ्ना तीन छोरीलाई राम्रो शिक्षा दिने उद्देश्यले उनले आर्थिक कठिनाइका बाबजुद उनीहरूको पढाइमा निरन्तर लगानी गरे। अहिले उनका छोरीहरूमध्ये कोही स्नातकोत्तर तहमा अध्ययनरत छन्, कोही नर्सिङमा स्नातक गर्दै छन् भने कोही कक्षा १२ मा अध्ययनरत छन्।
आफूले पर्याप्त शिक्षा हासिल गर्न नपाए पनि छोरीहरू आत्मनिर्भर र शिक्षित बनून् भन्ने उनको दृढ इच्छाले परिवारको जीवनमा नयाँ सम्भावनाको ढोका खोल्यो। गाउँबाट काठमाडौंसम्म छोरीहरूलाई पढाउन पठाउँदा कोठाभाडा, शुल्क, कापीकलमलगायतका खर्च जुटाउनु सहज थिएन। तर उनले आफ्ना व्यक्तिगत आवश्यकता सीमित गरेर सन्तानको भविष्यलाई प्राथमिकता दिए।
परिवारको जिम्मेवारी पूरा गर्दै जाँदा उनको मन समाजसेवातर्फ पनि आकर्षित हुँदै गयो। आफूले जानेको सीप र श्रमलाई व्यक्तिगत आम्दानीमा मात्र सीमित नगरी उनले गाउँको सार्वजनिक हितमा प्रयोग गर्न थाले।

गाउँका मठमन्दिर निर्माण तथा मर्मत, चौतारा संरक्षण, बाटोमा सिँढी निर्माण, कुवा तथा पँधेरो संरक्षण र जीर्ण सार्वजनिक संरचनाको मर्मतसम्भारमा उनी सक्रिय छन्। बाघखोर चौताराको मर्मतसम्भारमा उनले महिनौँसम्म निरन्तर श्रम गरेका छन्। त्यस्तै, चमेरे गुफासम्म पुग्ने बाटोमा सिँढी निर्माण तथा गाउँका उकाला–ओराला र पहिरोले बिगारेका बाटो सफा र व्यवस्थित गर्ने काममा पनि उनी जुट्दै आएका छन्।
यी कामबाट उनले पारिश्रमिक वा व्यक्तिगत लाभको अपेक्षा राखेका छैनन्। गाउँको सार्वजनिक सम्पत्ति संरक्षण होस्, स्थानीय बासिन्दालाई सहज होस् र सार्वजनिक स्थल व्यवस्थित बनून् भन्ने उद्देश्यले उनी आफ्नै खर्च, सीप र श्रममा यस्ता काम गर्दै आएका छन्।
लामिछानेको सेवाभाव मानिसमा मात्र सीमित छैन। प्रकृति र चराचुरुङ्गीप्रतिको उनको प्रेम पनि उत्तिकै उल्लेखनीय छ। गाउँघरमा पुराना रूखहरू मासिँदै जाँदा चराहरूको बासस्थान संकटमा परेको महसुस गरेपछि उनले बाँसका ढुङ्ग्रो प्रयोग गरेर चराहरूका लागि गुँड बनाउन थाले।
बानियाँटार, सिमरा, कल्छेल, गडखारलगायत विभिन्न स्थानमा पुगेर उनले ५० भन्दा बढी ठाउँमा चराहरूका लागि गुँड बनाइसकेका छन्। ती गुँडमा भँगेरालगायतका चराहरूले बचेरा कोरल्न थालेका छन्। कतिपय स्थानमा उनले चराहरूका लागि पानीको व्यवस्थासमेत गरेका छन्।
चराका लागि गुँड बनाउने काम कसैले सिकाएको वा कुनै संस्थाले जिम्मेवारी दिएको काम होइन। यो उनको आफ्नै रुचि, प्रकृतिप्रतिको प्रेम र जीवजन्तुप्रतिको करुणाबाट सुरु भएको अभियान हो। बोल्न नसक्ने जीवहरूको बासस्थान जोगाउन उनले गरेको प्रयासले सेवा मानिसका लागि मात्र नभई समग्र जीवजगत्का लागि हुनुपर्छ भन्ने सन्देश दिन्छ।
पछिल्लो एक वर्षदेखि लामिछाने बटुवा तथा स्थानीय बासिन्दाको सहजताका लागि बाटोछेउमा साना फलैँचा तथा विश्रामस्थल निर्माणमा पनि सक्रिय छन्। स्थानीय काठ, ढुङ्गा र माटो प्रयोग गरी आफ्नै सीप र श्रमबाट उनले २० भन्दा बढी स्थानमा फलैँचा निर्माण गरिसकेका छन्।
यी फलैँचा थकाइ मार्ने ठाउँमा मात्र सीमित छैनन्। गाउँलेहरूका लागि भेटघाट गर्ने, सुखदुःख साट्ने र केहीबेर आराम गर्ने साझा थलो बनेका छन्। वृद्धवृद्धाका लागि सुस्ताउने ठाउँ बनेका यी संरचनाले लामो बाटो हिँड्ने बटुवालाई पनि राहत दिएका छन्। कतिपय ठाउँमा स्थानीयले त्यहीँ बसेर तरकारीलगायतका कृषि उपज बिक्री गर्ने अवसरसमेत पाएका छन्।
स्थानीय स्रोतसाधनको प्रयोग र आफ्नै श्रमबाट सार्वजनिक हितका संरचना निर्माण गरेर लामिछानेले गाउँमा श्रमदानको पुरानो संस्कृतिलाई निरन्तरता दिएका छन्। ठूलो बजेट, संस्था वा औपचारिक पदबिना पनि व्यक्तिगत सीप र इच्छाशक्तिबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन्।
लामिछानेको जीवन अभावबाट उठेर परिवार सम्हाल्ने, सन्तानको भविष्य निर्माण गर्ने र त्यसपछि आफ्नो सीप तथा श्रम समाजलाई समर्पण गर्ने यात्राको उदाहरण हो। मठमन्दिर, चौतारा, पाटीपौवा र बाटोको मर्मतदेखि चराहरूका लागि गुँड निर्माण तथा बटुवाका लागि विश्रामस्थल निर्माणसम्मका उनका कामले निःस्वार्थ सेवाको अर्थलाई व्यवहारमै देखाएका छन्।
उनका लागि सेवा कुनै पद, प्रतिष्ठा वा प्रशंसा प्राप्त गर्ने माध्यम होइन। आफ्नै हातले काठ मिलाउने, ढुङ्गा सजाउने, माटो लगाउने र पसिना बगाउने काममै उनी सन्तुष्टि खोज्छन्।
समाजका लागि योगदान दिन ठूलो धनसम्पत्ति वा उच्च पद आवश्यक पर्दैन भन्ने सन्देश लामिछानेको जीवनले दिएको छ। सीप, श्रम, करुणा र दृढ इच्छाशक्ति भए एक व्यक्तिले पनि आफ्नो समुदायमा सकारात्मक परिवर्तनको सुरुवात गर्न सक्छ।
आफ्ना लागि बाँच्नु स्वाभाविक हो। तर अरूको दुःखलाई आफ्नै दुःख सम्झेर सहयोग गर्नु, सार्वजनिक हितमा श्रम गर्नु र आफूले सकेको योगदानबाट अरूको जीवन सहज बनाउनु जीवनको अझ ठूलो अर्थ हुन सक्छ। यही अर्थमा राजन लामिछानेको जीवन आफूभन्दा अरूका लागि बाँच्ने एउटा प्रेरणादायी कथा बनेको छ।


