
रचनाकार : गोबिन्द राज ओझा (राजन)
मानव बुद्धि विकसित भयो, विज्ञान चुली चढ्यो,
ज्ञानका नवदीप बाली, विश्व उज्यालो बढ्यो।
सृष्टिको रहस्य खोज्दै, सत्यतर्फ लाग्यौँ,
यस्तो दिव्य युगमा पनि, किन अज्ञान जाग्यौँ?
विज्ञानले सृष्टिभित्रका, रहस्य खोज्दै जान्छ,
सृष्टिका कण-कणभित्र, अद्भुत कला भान्छ।
प्रकृतिका रूप हेर्दा, विस्मय मनमा छर्छ,
ईश्वरको अस्तित्वबारे, मानव चिन्तन गर्छ।
कलाकारका सिर्जनामा, दिव्य भाव सजिन्छ,
कविका कोमल शब्दमा, प्रेम सुधा रसिन्छ।
गीत र भजनका स्वरले, प्रभुको महिमा गाउँछन्,
ईशप्रेमका पवित्र धारा, हृदयभित्र बगाउँछन्।
अनन्त वैभवका स्वामी, दयाका सागर हुन्,
कृपाका अमृतधारा, जीवनका आधार हुन्।
दुःखमा आशा, सुखमा शान्ति, श्रद्धाका उज्याला,
कसरी बिर्सन सकिएला, कृपाका ती माला?
स्वर्ग र नर्कका चर्चा, कर्मफलका कुरा,
न्यायसभामा एक दिन, खुल्नेछन् कर्म पूरा।
कर्मअनुसार फल मिल्ने, सत्य बुझौँ आज,
सत्कर्मले जीवन सजाऔँ, त्यागौँ कुकर्मको राज।
मृत्यु पारिको जीवनको, आस्थाले पाठ पढायो,
आत्मचिन्तनको उज्यालोले, जीवनमार्ग देखायो।
युवावस्था, पुनर्जन्मका, मान्यता विविध छन्,
परम सत्यको खोजीमा, विश्वासका पथ छन्।
अन्तिम नबीका सन्देश, धर्मको दिव्य ज्ञान,
सत्य, न्याय र प्रेम हुन्, मानवताका प्राण।
हक र बातिल छुट्याई, सद्मार्ग रोज्न सिकौँ,
निष्कपट भक्ति हृदयमा, सदाचारको बीउ छरौँ।
विश्वभरि न्याय छाओस्, शान्ति फुलोस् धर्तीमा,
दीनदुःखी हाँस्न पाऊन्, सुखको मधुर बस्तीमा।
भोक, अभाव र अन्याय, निर्मूल पार्न जुटौँ,
ईश्वरको सेवाभित्र, मानव सेवामा जुटौँ।
कलियुगका विकृतिले, मानव मन नखाओस्,
लोभ, घृणा र हिंसाले, प्रेमदीप ननिभाओस्।
सत्य, दया र सद्भावका, नयाँ किरण फैलाऔँ,
दानवता पर सारेर, मानवता अपनाऔँ।
नवप्रकाशको युगमा, शुभ सन्देश सुनौँ,
आत्मशुद्धिको यात्रामा, सत्यको बाटो चुनौँ।
हृदयभित्र दिव्य ज्योति, प्रेमभाव जगाऔँ,
मंगलमय अभियानमा, हातेमालो गरौँ।
नूर युगको आगमनको, शुभ परिकल्पना,
सत्य, प्रेम र शान्तिको, पवित्र साधना।
मनमा करुणा, कर्ममा धर्म, वचनमा मिठास,
मानवताको विजयमा, जागोस् नयाँ विश्वास।
जय सत्य! जय प्रेम! जय मानव कल्याण!
ईश्वरभक्ति र सत्कर्मले, उज्यालो बनोस् जहान।


