
निकोसिया, साइप्रस । परदेशको भूमिमा रहे पनि नेपालीहरूको दशैंको रौनक र उत्साहमा कुनै कमी देखिएन। अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी साइप्रसको आयोजनामा लिमासोलमा सम्पन्न ‘भान्से धमाका–३’ कार्यक्रममा नेपाली गीत–संगीत, नृत्य र मौलिक संस्कृतिको भव्य प्रस्तुतिसँगै दशैंको उल्लास छाएको थियो।
कार्यक्रमका मुख्य आकर्षण चर्चित लोकगायक पशुपति शर्मा बने। शर्मा स्टेजमा प्रवेश गर्नासाथ हल दर्शकको उत्साहपूर्ण ताली र हुटिङले गुञ्जिएको थियो। उनले ‘मलाई अमेरिका यहीँ’, ‘क्याम्पस पढ्न आउनी’, ‘स्याङ्जा जाने बाटैमा तनहुँ’ लगायतका लोकप्रिय गीत प्रस्तुत गर्दा दर्शकहरू कुर्सीबाट उठेर नाच्न थालेका थिए। उनका कालजयी गीतले केही समयका लागि साइप्रसमा रहेका नेपालीलाई नेपालकै गाउँ–ठाउँ र मौलिक परिवेशको सम्झना गराएको थियो।
कार्यक्रम गीत–संगीतमा मात्र सीमित रहेन। साइप्रसमा सक्रिय मगर संघ, तमू समाज, किरात राई यायोक्खा, क्षेत्री–बाहुन समाज, तमू प्ये ल्हु संघ, शेर्पा किदुग, नेपाल तामाङ घेदुङ लगायतका संघ–संस्थाले आफ्ना मौलिक सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। विभिन्न समुदायका सांस्कृतिक झलकले कार्यक्रमलाई थप विविधतापूर्ण र आकर्षक बनाएको थियो।
त्यस्तै, चर्चित मोडल उमा तामाङको नृत्यले कार्यक्रमको माहोल थप तताएको थियो। स्थानीय कलाकार नक्कले स्याङतान र साजन श्रेष्ठका प्रस्तुतिले पनि दर्शकको प्रशंसा बटुले। अध्यक्ष रेशम पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डा. रामजीवन पञ्जियारले प्रवासमा रहेर पनि नेपाली भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणका लागि यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताए।
कार्यक्रमको औपचारिक सञ्चालन नविन चौलागाईंले गरेका थिए भने उपाध्यक्ष गोपाल तिमल्सिनाले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रमको सुरुवातमै रेखा श्रेष्ठ, विन्दु दुलाल, लक्ष्मी श्रेष्ठ र राधा बज्राचार्यले अतिथिहरूलाई टीका तथा जमरा लगाएर स्वागत गरेका थिए। टीका–जमरा र सांस्कृतिक प्रस्तुतिले प्रवासमा रहेका नेपालीलाई दशैंको वास्तविक अनुभूति दिलाएको थियो।
लिमासोलमा आयोजित कार्यक्रममा DJ अर्साद खानको डिजे प्रस्तुतिले पनि दर्शकलाई लामो समयसम्म झुमाएको थियो।
कार्यक्रममा मिडिया पार्टनरका रूपमा सेफ्नो टिभीबाट आत्मा ध्वज लामा, नागरिक बोलीबाट राजाराम बस्नेत तथा न्युज लाइन्स नेपाल डटकमबाट मनिषा अर्याल लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
समग्रमा, ‘भान्से धमाका–३’ मनोरञ्जनमा मात्र सीमित रहेन। यसले साइप्रसमा रहेका नेपालीहरूलाई एउटै मञ्चमा जोड्दै नेपाली कला, संस्कृति र मौलिक परम्पराको संरक्षणसँगै दशैंको खुसी, आत्मीयता र सद्भाव साटासाट गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको देखियो।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, कलाकार, सांस्कृतिक प्रस्तुति दिने संघ–संस्था, मिडिया पार्टनर, प्राविधिक टोली तथा साइप्रसका विभिन्न शहरबाट कार्यक्रममा सहभागी हुन आएका सम्पूर्ण दर्शकप्रति अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी साइप्रसले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।


