
कसलाई सुनाऊँ आफ्नो दुःख ? कसलाई भनूँ आफ्नो व्यथा ?
आज आफ्नै भूमिमा हामी पराइझैँ भएका छौँ। जीवनभर मानिसको साथ दियौँ, घरगोठको रक्षा गर्यौँ र उसका सुख–दुःखमा साथ निभायौँ। मालिकका लागि ज्यानसमेत हत्केलामा राखेर कठिन सिकारमा साथ दियौँ। घर, गोठ, पशुधन र परिवारको सुरक्षालाई आफ्नो कर्तव्य ठान्यौँ। तर आज तिनै मानिसबाट उपेक्षित हुनुपर्दा मन कुँडिन्छ, पीडाले छाती चिरिन्छ। कुनै समय माया, विश्वास र आत्मीयता पाएका हामी आज आफ्नै माटोमा बिर्सिइँदै छौँ—बिस्तारै हराउँदै छौँ।
के हिमाल, के पहाड, के तराई—जहाँ रहे पनि हामी मानिसकै साथी बन्यौँ। भेडीगोठ, बाख्रागोठ, चौँरीगोठ, घरआँगन, खेतबारी र वनपाखामा पहरेदार बनेर खटियौँ। भोक, तिर्खा, घामपानी र जाडो–गर्मीको पर्वाह नगरी मालिक र उसको परिवारको सुरक्षामा जुटिरह्यौँ। रातभर जाग्राम बसेर रखवाली गर्यौँ। मानिसको खुसीमै आफ्नो खुसी देख्यौँ। बदलामा हामीले कहिल्यै ठूलो अपेक्षा राखेनौँ—केवल थोरै माया र आत्मीयता।
हिजो हामी घरका सदस्य थियौँ
एक समय यस्तो थियो, हाम्रो आफ्नै संसार थियो। मानिसका घर, गोठ र गाउँबस्तीमा हाम्रो छुट्टै स्थान र पहिचान थियो। हामी घरका रक्षक, गोठका पहरेदार, मालिकका विश्वासिला साथी र गाउँकै पहिचान थियौँ।
भेडीगोठदेखि चौँरीगोठसम्म, हामी एक्लैले पनि पशुधनको संरक्षण र सुरक्षा गर्दै आएका थियौँ। आफ्नो क्षमताले भ्याएसम्म पशुधनको रक्षा गर्नुका साथै मानिसको जीवन, जीविकोपार्जन र परम्परागत संस्कृतिको संरक्षणमा पनि साथ दिएका थियौँ।
हाम्रो इमानदारी र वफादारीको कदर हुन्थ्यो। हामीप्रतिको आत्मीयता कतिसम्म थियो भने, मायाको चिनो र सम्बन्धको प्रतीकका रूपमा एकअर्कालाई उपहारस्वरूप दिने चलनसमेत थियो। हामी केवल घरपालुवा जनावर थिएनौँ, परिवारका सदस्य र गाउँबस्तीका अभिन्न अंग थियौँ।
घरमा मिठो–मसिनो जे पाके पनि हाम्रो भाग छुट्याइन्थ्यो। थोरै भए पनि मायाले खान दिइन्थ्यो। तिहारमा हाम्रो पूजा गरिन्थ्यो। हामीलाई घरकै सदस्यझैँ माया गरिन्थ्यो। मालिकका सुख–दुःखमा साथ दिन्थ्यौँ र उसको परिवारलाई आफ्नै परिवार ठान्थ्यौँ।
तर समय बदलियो।
मानिसको जीवनशैली बदलियो, रहनसहन बदलियो, सोच बदलियो। मानिसको संसार आधुनिक बन्दै गयो, तर हाम्रो संसार भने क्रमशः उजाडिँदै गयो।
आफ्नै माटोमा हामी पराइ भयौँ
आज हिमाली भोटे कुकुर, पहाडी कुकुर र तराईका स्थानीय कुकुर—हामी सबै आफ्नै भूमिमा पराइझैँ उपेक्षित बन्दै गएका छौँ।
सुरक्षित बास हराएको छ। पेटभरि खान पाउन मुस्किल छ। सडकका गल्ली, फोहोरका थुप्रा र चिसा छिँडीहरू नै हाम्रा आश्रय बनेका छन्। आफ्नै माटोमा जन्मिएर, यही हावापानीमा हुर्किएर पनि आज आश्रय र आत्मीयताको खोजीमा भौँतारिनुपरेको छ।
गाउँमा कम्तीमा चिनेजानेका मानिस छन्, खुला ठाउँ छन्, ओत लाग्ने कुनाकाप्चा छन्। सहरमा भने घरैघर र सडकैसडक छन्—हाम्रा लागि सुरक्षित बास छैन, ओत लाग्ने ठाउँसमेत छैन।
मानिसहरूमा विदेशी जातका कुकुरप्रतिको बढ्दो मोह र अरूको नक्कल गर्ने प्रवृत्तिले हाम्रो अस्तित्वलाई झन् ओझेलमा पार्दै लगेको छ। आधुनिकताको नाममा आफ्नै मौलिकता बिर्सिँदा हामी आफ्नै माटोमा पराइ बन्दै गएका छौँ।
जर्मन शेफर्ड, ल्याब्राडोर रिट्रिभर, गोल्डेन रिट्रिभर, जापानिज स्पिट्ज, साइबेरियन हस्की, पग, फ्रेन्च बुलडग र पोमेरेनियनजस्ता विदेशी जातका कुकुरले सहरी घरमा माया, सुविधा र संरक्षण पाइरहँदा हामीजस्ता रैथाने कुकुर सडकमा उपेक्षित जीवन बिताउन बाध्य छौँ।
हामीलाई विदेशी कुकुरसँग कुनै वैरभाव छैन। उनीहरू पनि माया, स्याहार र सम्मानका हकदार हुन्। आखिर, उनीहरू पनि हाम्रै दाजुभाइ हुन्—भूगोल फरक भए पनि जीवको नाता एउटै छ।
हाम्रो गुनासो उनीहरूले पाएको माया र सुविधासँग होइन। हाम्रो पीडा आफ्नै रैथाने कुकुरप्रति मानिसले देखाएको बेवास्तासँग हो। पुस्तौँदेखि हामीले दिँदै आएको साथ, सुरक्षा र सेवाको गुन बिर्सिइएकोमा हो।
आधुनिक हुनु भनेको आफ्नै मौलिकता बिर्सनु होइन। अरूको नक्कल गर्नु आधुनिकता होइन।
के आफ्नै माटोमा जन्मिनु नै हाम्रो गल्ती हो ?
पुस्तौँदेखि मानिसको सुख–दुःखमा साथ दिँदै आएका हामीले आज आफ्नै भूमिमा आश्रय र आत्मीयताका लागि भौँतारिनुपर्ने कस्तो विडम्बना हो ?
हामीले जीवनभर निःस्वार्थ सेवा गर्यौँ। घरगोठको रक्षा गर्यौँ। पशुधन जोगायौँ। मानिसको साथ निभायौँ। तर आज हाम्रा योगदान बिर्सिइँदा मनमा एउटै प्रश्न उठ्छ—
के हाम्रो वफादारी र निःस्वार्थ सेवाको मूल्य यति नै थियो ?
के आफ्नै माटोमा जन्मिनु र हुर्किनु नै हाम्रो गल्ती हो ?
माया र सम्मान पाउन विदेशी नै हुनुपर्ने हो र ?
बूढो भएपछि सडकमा किन ?
कहिलेकाहीँ हामीले अर्को पीडा पनि आफ्नै आँखाले देखिरहेका हुन्छौँ।
स्वस्थ र जवान छउन्जेल छोराछोरीसरह माया गरेर विदेशी जातका कुकुर पालिन्छन्। महँगा खाना खुवाइन्छ, अस्पताल लगिन्छ, न्यानो ओछ्यानमा सुताइन्छ। तर बूढो, अशक्त वा बिरामी भएपछि कतिपयलाई सडकमा ल्याएर अलपत्र छोडिन्छ।
बिचरा !
न उसलाई सडकमा बाँच्ने तरिका थाहा हुन्छ, न खानेकुरा खोजेर खान सक्ने क्षमता बाँकी हुन्छ। न रोगसँग लड्ने शक्ति हुन्छ, न संकटमा साथ दिने कोही। अन्ततः भोक, रोग, पीडा र असुरक्षासँग एक्लै लड्दालड्दै उसले जीवन गुमाउनुपर्ने अवस्था आउँछ।
यसरी सडकमा अलपत्र छोडिएका कुकुरले हामीलाई समेत रोग सार्ने जोखिम बढाउँछन्। एउटा समस्याको समाधान खोज्दा अर्को समस्या जन्मिन्छ।
उनीहरूका लागि गाडी, हाम्रो लागि गल्ली
हाम्रा आँखै अगाडि ठूलो विभेद देखिन्छ।
उनीहरू मालिकसँग महँगा गाडी चढेर घुम्न निस्कन्छन्। हामी भने एक गाँस खाना र ओत लाग्ने ठाउँको खोजीमा गल्ली–गल्ली भौँतारिन्छौँ।
उनीहरूलाई मासु–भात मन नपर्दा विदेशबाट मगाइएका पोषिला खानेकुरा खुवाइन्छन्। हामीचाहिँ कसैले एक टुक्रा खानेकुरा देला कि भन्ने आशामा सडकका गल्ली चहार्छौँ।
मानिसलाई देख्नेबित्तिकै हामी पुच्छर हल्लाउँदै नजिकिन खोज्छौँ। सायद कसैले माया गर्ला, टाउको सुम्सुम्याउला, केही खान देला—यही सानो आशा हुन्छ।
उनीहरू न्यानो ओछ्यानमा मालिक–मालिक्नीसँगै निदाउँछन्। हामी भने चिसो रातमा एकअर्काको शरीरको न्यानो खोज्दै सडकका छिँडी र कुनाकाप्चामा खाँदिएर रात काट्छौँ।
उनीहरूका लागि सुख–सुविधाको कमी छैन। हाम्रा लागि भने एक छाक खाना र सुरक्षित ओतसमेत दुर्लभ छ।
बिरामी हुँदा उनीहरूको अस्पताल छ, हाम्रो पीडा कसले सुन्छ ?
ऊ बिरामी पर्दा उपचारका लागि अस्पताल छन्। औषधि र स्याहारको व्यवस्था छ। मालिक बाहिर जाँदा सुरक्षित राख्न होस्टल छन्। नियमित नुहाइन्छ, के खायो भनेर चासो राखिन्छ, स्वास्थ्य र आरामको ख्याल गरिन्छ।
हामी बिरामी पर्दा कसले हेर्छ ?
घाइते हुँदा कसले उपचार गरिदिन्छ ?
पीडाले छटपटिँदा हाम्रो आवाज कसले सुन्छ ?
भोकले सताएर खानेकुराको आशामा मानिसको नजिक जाँदा माया पाउनु त परै जाओस्, कतिपयले ‘भुस्याहा कुकुर’ भन्दै अपमान गर्छन्। ‘बौलाएछ’ भन्दै गाली गरेर लखेट्छन्।
कति साथी उपचार र स्याहार नपाएर सडकको कुनै कुनामा छटपटिँदै प्राण त्याग्न बाध्य हुन्छन्।
तर हामीलाई पनि माया, स्याहार र अवसर दिने हो भने हामीसँग क्षमता छैन र ?
हामीलाई अवसर दिनुहोस्, हामी आफ्नो क्षमता प्रमाणित गर्न सक्छौँ।
हाम्रो बासस्थानलाई पनि सम्मान गरिदिनुहोस्
गाडीमा आउने हुन् वा पैदल हिँडेर, मानिसहरू आफ्ना पाल्तु विदेशी कुकुरसहित हामी बस्ने, रमाउने र हिँड्ने ठाउँमा आउँछन्। कुकुरलाई जथाभावी दिसापिसाब गराएर, फोहोर छोडेर जान्छन्।
आफ्नो रहर र मनोरञ्जनका लागि अरूको बासस्थान फोहोर बनाउनु कति उचित हो ?
यस्तो व्यवहार देख्दा हामीलाई दुःख मात्र होइन, लाज पनि लाग्छ।
हाम्रो त खुला आकाश नै छानो हो। सडकको पेटी नै ओछ्यान हो। गल्लीका कुना नै आश्रयस्थल हुन्।
गर्मीमा चर्को घाम, वर्षामा झरी र जाडोमा कठ्याङ्ग्रिने चिसो सहँदै हामी दिनरात बिताउँछौँ। पेटमा भोक, शरीरमा घाउ र मनमा मायाको तिर्सना बोकेर बाँच्नु नै हाम्रो नियति बनेको छ।
हामीलाई महँगा खानेकुरा र विलासी जीवन चाहिएको होइन।
केवल दुई गाँस खाना, ओत लाग्ने सुरक्षित ठाउँ र दुःखमा मलम लगाइदिने एउटा मायालु हात चाहिएको हो।
हिजो हामीले तपाईंलाई जोगायौँ, आज हामीलाई जोगाइदिनुहोस्
कस्तो विडम्बना !
हिजो मानिसका घरगोठ र परिवारको रक्षा गर्ने हामी आज आफ्नै सुरक्षाका लागि भौँतारिनुपरेको छ।
हामीलाई दया मात्र होइन, माया, सम्मान र जिम्मेवारी चाहिएको छ।
विदेशी जातका कुकुरलाई माया गरौँ, तर आफ्नै रैथाने कुकुरलाई पनि नबिर्सौँ। हामी पराइ होइनौँ। यही माटो र हावापानीमा हुर्किएका तपाईंहरूका पुस्तौँदेखिका साथी, सारथि र रक्षक हौँ।
हामी केवल घरपालुवा जनावर होइनौँ। हामी गाउँबस्तीका पहरेदार हौँ। नेपाली समाजको मौलिक संस्कृति, परम्परा र जीवनशैलीसँग जोडिएका अभिन्न साथी हौँ। पुस्तौँदेखि मानिसको साथ दिँदै आएका हामी तपाईंहरूको इतिहास, जीवनशैली र आत्मीयताका साक्षी पनि हौँ।
हाम्रो अस्तित्व जोगाउने कि हराउन दिने ?
सुन्दैछौँ, सहरतिर रैथाने कुकुरको सङ्ख्या नियन्त्रण गर्न बन्ध्याकरण अभियान चलाइएको छ रे।
सडकमा असहाय जीवन बिताउने कुकुरको दुःख कम गर्ने प्रयास आवश्यक छ। जनसंख्या व्यवस्थापन, रोग नियन्त्रण र पशु कल्याणका उपाय आवश्यक छन्। तर हाम्रो मनमा एउटा डर पनि छ—
कतै सङ्ख्या नियन्त्रणको नाममा हाम्रो वंश, जिन र अस्तित्व नै सङ्कटमा पर्ने त होइन ?
हामीलाई आफ्नो वंश नास हुने चिन्ता मात्र होइन, मानिस र हाम्रो पुर्खौँदेखिको सहअस्तित्व नै समाप्त हुने हो कि भन्ने गहिरो चिन्ता छ।
हाम्रो संरक्षण केवल सडकका कुकुरको संरक्षण होइन। यो स्थानीय जैविक विविधता, परम्परागत ज्ञान, ग्रामीण जीवनशैली र मानिस–जनावरबीचको पुस्तौँ पुरानो सम्बन्धको संरक्षण पनि हो।
अन्तिम विनम्र अनुरोध
हाम्रो मानव जातिसँग विनम्र अनुरोध छ—
भोकालाई गाँस दिनुहोस्।
घाइतेलाई उपचार गर्नुहोस्।
बेसहारालाई सुरक्षित आश्रय दिनुहोस्।
हामीलाई घृणा होइन, माया र सम्मान दिनुहोस्।
हामीलाई सिकाउनुहोस्, हामी सिक्न सक्छौँ।
हामीलाई बुझाउनुहोस्, हामी बुझ्न सक्छौँ।
हामीलाई अवसर दिनुहोस्, हामी आफ्नो क्षमता, दक्षता र तागत देखाउन सक्छौँ।
हाम्रो अस्तित्व जोगाउनु भनेको एउटा स्थानीय कुकुरको संरक्षण गर्नु मात्र होइन। यो पुस्तौँदेखि चलिआएको साथ, विश्वास, सहअस्तित्व र साझा सांस्कृतिक विरासतको संरक्षण गर्नु पनि हो।
हिजो हामीले तपाईंहरूको साथ दियौँ।
तपाईंका घरगोठको रक्षा गर्यौँ।
तपाईंका पशुधन जोगायौँ।
तपाईंका सुख–दुःखमा साथ निभायौँ।
आज हामीलाई तपाईंहरूको साथ चाहिएको छ।
माया चाहिएको छ।
सम्मान चाहिएको छ।
संरक्षण चाहिएको छ।
किनकि—
**हामी पराइ होइनौँ हजुर,
यही माटोका सन्तान हौँ।
तपाईंहरूका पुस्तौँदेखिका साथी हौँ।
हिजो तपाईंलाई जोगायौँ,
आज हामीलाई जोगाइदिनुहोस्।
तिलक ढकाल
८ कार्तिक २०८३
काठमाडौं, नेपाल


