
काठमाडौंमा ह्वीसपर मिसेस नेपाल वर्ल्ड २०२६ को ट्यालेन्ट शो सम्पन्न भएको छ। सौन्दर्यसँगै व्यक्तित्व, सिर्जनशीलता र प्रतिभालाई प्राथमिकता दिने उद्देश्यले आयोजित कार्यक्रममा अन्तिम प्रतिस्पर्धाका २२ प्रतियोगीले नृत्य, अभिनय, कविता वाचनलगायतका प्रस्तुति दिएका थिए।
प्रतियोगीहरूले आ–आफ्नो रुचि र क्षमताअनुसार प्रस्तुत गरेको प्रतिभाले ट्यालेन्ट राउण्डलाई आकर्षक बनाएको थियो। यसै चरणबाट ‘मिसेस ट्यालेन्ट’ छनोट गरिनेछ। रिवन इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाका अनुसार उक्त उपाधिको विजेता अन्तिम प्रतिस्पर्धाकै दिन घोषणा गरिनेछ।
ट्यालेन्ट राउण्डको मूल्यांकन संगीतकार राजु सिंह, नृत्य निर्देशक जोगेन्द्र केसी, अभिनेता तथा मोडल यसराज गराच र शिक्षाविद् ज्ञानेन्द्र लामाले गरेका थिए।
आगामी कात्तिक १४ गते काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा हुने ग्रान्ड फिनालेमा प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेक्षा पौड्याल, रस्ना श्रेष्ठ, यस्मिन बेगम सइद, नेहा गुप्ता, दिप्ती ढुंगेल, बिन्दु थापा राना, शिल्पा न्यौपाने, शान्ता राना, सुनिता श्रेष्ठ कर्माचार्य, सन्ध्या लामा, बिनिता गुरुङ, ज्योति लामिछाने, समीक्षा रानाभाट, सुष्मा थापा, क्रिस्टिना ज्ञवाली, अञ्जु परियार, मोनिका तामाङ र कञ्चन महर्जन उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा गृहिणीदेखि डाक्टर, इन्जिनियर, बैंकर, व्यवसायी, नर्स तथा फेसन डिजाइनरसम्म विभिन्न पेसामा सक्रिय महिलाको सहभागिता छ। आयोजकका अनुसार विविध पेसा र पृष्ठभूमिका यी प्रतियोगीले अन्तिम चरणमा प्रतिभा, आत्मविश्वास र व्यक्तित्व प्रस्तुत गर्नेछन्।
प्रतियोगिताबाट छनोट हुने मिसेस नेपाल वर्ल्ड २०२६ विजेताले अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्। साथै, यही मञ्चबाट मिसेस नेपाल इन्टरनेसनल, एमएस इन्टरनेसनल र मिसेस कोस्मोका विजेतासमेत चयन गरिनेछ। यी उपाधिका विजेताले सिंगापुरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने आयोजक शिला बास्तोलाले जानकारी दिइन्।
अश्विनी झाको कोरियोग्राफी तथा निशा बराइलीको सह–कोरियोग्राफीमा आयोजना हुने प्रतियोगिता गङ्गा महर्जन र विन्दिया श्रेष्ठको संयोजनमा सम्पन्न हुनेछ।


