
काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को समेत प्रभाव देखिन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशभर सामान्यतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भूभागका साथै मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर अधिकांश भूभागमा बादल लाग्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भूभागका धेरै स्थानमा समेत वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर अधिकांश स्थानमा बादल लाग्नेछ। देशका अधिकांश भूभागमा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने थोरै स्थानमा भारी वर्षा र हिमपात हुन सक्नेछ।
महाशाखाका अनुसार शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ। महाशाखाले वर्षा, हिमपात र हावाहुरीको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।


