दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

९८ वर्षीया आमालाई साक्षी राखेर दुई पुस्तक विमोचन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ कार्तिक १६ गते, सोमबार १०:०४

काठमाडौं । ९८ वर्षीया मनमाया सिटौलाको उपस्थितिमा उनका दुई छोरा डा. सुरेन्द्र सिटौला र प्रा. डा. विशाल सिटौलाद्वारा लिखित दुई पुस्तक सार्वजनिक गरिएको छ। डा. सुरेन्द्रको ‘पाठशाला’ र प्रा. डा. विशालको ‘आमा : एक युग, एक दर्शन’ आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो।

शिखा बुक्सको आयोजनामा भएको कार्यक्रममा वक्ताहरूले दुवै कृतिको विषयवस्तु, साहित्यिक पक्ष तथा वैचारिक महत्त्वमाथि चर्चा गरे। कार्यक्रममा मातृत्व, पारिवारिक सम्बन्ध, ज्ञान, संस्कार र पुस्तान्तरणसँग जोडिएका विविध विषयमा विचार आदानप्रदानसमेत भयो।

कार्यक्रमका प्रमुख वक्ता १०८ स्वामी रमणानन्द गिरी महाराजले आमालाई सबैभन्दा ठूलो प्रत्यक्ष देवताका रूपमा व्याख्या गर्दै आमाबाट प्राप्त ज्ञान र संस्कारको सम्मान गर्नुपर्ने बताए। उनका अनुसार आमा ज्ञानको स्रोत भएकाले उहाँको सेवा, पूजा र सम्मान आवश्यक छ।

‘आमा : एक युग, एक दर्शन’लाई उनले ‘मातृपुराण’सँग तुलना गरे। आमासँग जोडिएका ज्ञान, अनुभव र जीवनदर्शनलाई अभिलेखका रूपमा पुस्तकमा समेट्नु प्रशंसनीय काम भएको उल्लेख गर्दै उनले प्रा. डा. विशाल सिटौलालाई यस कार्यमा अर्जुन र व्यास दुवैको भूमिकामा रहेको टिप्पणी गरे।
त्यस्तै, ‘पाठशाला’ले स्थापित मान्यता र परम्परागत ज्ञानमाथि प्रश्न उठाउँदै स्वतन्त्र चिन्तन तथा ईश्वरको आराधनातर्फ पाठकलाई उन्मुख गराउने प्रयास गरेको उनले बताए। ज्ञान र सेवाको भावनालाई केन्द्रमा राखेर दुई दाजुभाइले कलम चलाएकोमा खुसी व्यक्त गर्दै उनले ‘आमाको पाठशाला’ निरन्तर चलिरहोस् भन्ने शुभकामना दिए।
वर्तमानलाई बुझ्न र भविष्य निर्माण गर्न इतिहासको सम्मान आवश्यक रहेको बताउँदै उनले आमा–बुबाको सेवा र सम्मान गर्ने संस्कारलाई जीवनमा आत्मसात् गर्न पनि आग्रह गरे।

आमासँगको संवादमा जीवनदर्शन

‘आमा : एक युग, एक दर्शन’माथि प्रा. डा. भवानीप्रसाद खनाल र प्रा. डा. बिना पौडेलले धारणा राखे। डा. पौडेलले पुस्तक प्रश्नोत्तर शैलीमा तयार पारिएको उल्लेख गर्दै आमासँगको आत्मीय संवादमार्फत जीवनका अनेक जिज्ञासा, अनुभव र अनुभूतिलाई पुस्तकमा समेटिएको बताइन्।

उनका अनुसार कृतिले एकातिर अग्रजप्रतिको सम्मान र अर्कोतिर सन्तानप्रतिको वात्सल्य तथा जिम्मेवारीलाई प्रभावकारी ढंगले प्रस्तुत गरेको छ। प्रा. डा. खनालले पुस्तकमा समेटिएका समाधि, लौकिक पक्ष तथा परकीय भाषाको प्रयोगले कृतिलाई गम्भीर र विशिष्ट बनाएको धारणा राखे।

‘पाठशाला’मा भविष्यप्रतिको चिन्ता

‘पाठशाला’माथि डा. तुलसी भट्टराई र डा. नवराज लम्सालले चर्चा गरे। डा. भट्टराईले कृति मानिसको वर्तमान सन्ताप र समस्यामै सीमित नरही भविष्यतर्फ केन्द्रित रहेको बताए। भावी पुस्ताका लागि पुस्तकले उपयोगी र मूल्यवान् ज्ञान प्रदान गर्ने उनको भनाइ थियो।
रामरञ्जन पौडेलले भने फरक–फरक गाईको दूधको पोषणीय सार एउटै भएझैँ फरक धर्मको मूल सार पनि एउटै हुने दृष्टान्त प्रस्तुत गरे। उनले ‘पाठशाला’लाई आत्मबोध र परमार्थतर्फको यात्राका रूपमा व्याख्या गरे।कार्यक्रममा पूर्वराजदूत डा. कृष्णप्रसाद ओलीले शुभकामना मन्तव्य दिए भने कार्यक्रमका अध्यक्ष पुष्पराज पौडेलले स्वागत मन्तव्य व्यक्त गरे।

साहित्यकार तथा हास्यव्यङ्ग्य कलाकार सरोज घिमिरेले सञ्चालन गरेको कार्यक्रममा हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलले प्रस्तुति दिएका थिए। गायक शिशिर योगीले सांगीतिक प्रस्तुति दिए।
दुई पुस्तकको विमोचनसँगै सम्पन्न कार्यक्रमले आमा, परिवार, ज्ञान, संस्कार र पुस्ताबीचको अनुभव हस्तान्तरणको महत्त्वलाई समेत उजागर गरेको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु