
काठमाडौं । क्रियाशील सामाजिक सेवा तथा साहित्यिक सङ्गठन नेपाल (आस्लुन) को आयोजनामा ‘कवितासंवाद ५.०’ कार्यक्रम सम्पन्न भएको छ। ‘कवितामा विचार, विचारमा संवाद, संवादले बनाउँछ उज्यालो समाज’ भन्ने मूल नाराका साथ शनिबार डिल्लीबजारस्थित सुसरा क्याफेमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा साहित्यिक क्षेत्रका अग्रज तथा अनुज पुस्ताका स्रष्टाहरूले कविता वाचन गर्दै विचार र भावनाको आदानप्रदान गरेका थिए। कविता वाचनसँगै साहित्यिक अन्तरक्रिया, आसुकवि तथा घुम्ती कविता कार्यक्रमसमेत आयोजना गरिएको थियो।
घुम्ती कविता प्रस्तुतिले कार्यक्रमलाई थप सिर्जनात्मक र रोचक बनाएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी स्रष्टाहरूले समकालीन साहित्य, पुस्तान्तरण र सिर्जनात्मक सहकार्यका विषयमा समेत आफ्ना धारणा राखेका थिए।
कार्यक्रमका अध्यक्ष तथा आस्लुनका अध्यक्ष सुशील आचार्यले अग्रज र अनुज पुस्तालाई एउटै मञ्चमा जोड्दै आपसी सद्भाव, सहकार्य र एकताको वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
उहाँले अग्रज पुस्ताको अनुभव र अनुज पुस्ताको नयाँ सोचलाई जोडेर साहित्यिक गतिविधिलाई थप सशक्त बनाउने उद्देश्य रहेको बताउनुभयो।
कविता, विचार र संवादमार्फत पुस्ताबीचको साहित्यिक सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले नेपाली साहित्यमा पुस्ताबीचको सहकार्य र सिर्जनात्मक आदानप्रदानको सन्देश दिएको आयोजकको भनाइ छ।
कार्यक्रममा कवि कल्पना काफ्ले, कल्पना मरासिनी, सिकारु राम, शम्भु गजुरेल, अभिनव वात्स्यायन, मधुसूदन पराजुली ‘मानव’, अशोक बोहरा, एस.आर. दुवाडी, भूवन अथर तथा मुक्तककार विजय घिमिरे ‘विफल’ लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन कवितासंवादका संयोजकसमेत रहनुभएका सुशील आचार्यले गर्नुभएको थियो।
आयोजक : क्रियाशील सामाजिक सेवा तथा साहित्यिक सङ्गठन नेपाल (आस्लुन)


