
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले काठमाडौंको बालुवाटारमा आफ्नो १२औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित आफ्नै केन्द्रीय कार्यालय रहेको भवनबाटै नयाँ शाखा सञ्चालनमा ल्याएको हो।
बैंकले पहिलोपटक कारोबार सञ्चालन गरेको १९औँ वर्षको विशेष अवसर पारेर २०८३ कात्तिक १८ गते बुधबारदेखि बालुवाटार शाखा सञ्चालनमा ल्याएको जनाएको छ।
बैंकका अध्यक्ष दिलीप प्रताप खाँणको अध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाले बालुवाटार शाखाको उद्घाटन गरेका हुन्।
नयाँ शाखामार्फत ग्राहकहरूले नियमित बैंकिङ सेवाका अतिरिक्त एटीएम, लकर तथा विदेशी मुद्रा सटही लगायतका सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। शाखा विस्तारमार्फत आम नागरिकको बैंकिङ सेवामा पहुँच अभिवृद्धि, वित्तीय समावेशीकरणलाई थप सुदृढ बनाउने तथा ग्राहकलाई सहज र विश्वसनीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्य रहेको बैंकको भनाइ छ।
गरिमा विकास बैंकले शाखा विस्तारलाई केवल भौगोलिक उपस्थितिको वृद्धि मात्र नभई स्थानीय आर्थिक गतिविधिको प्रवर्द्धन, उद्यमशीलताको विकास, बचत परिचालन तथा उत्पादनशील क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिएको जनाएको छ।
बालुवाटारमा नयाँ शाखा सञ्चालनसँगै व्यक्तिगत तथा संस्थागत ग्राहकको आवश्यकताअनुसार वित्तीय सेवा उपलब्ध गराई स्थानीय आर्थिक गतिविधिलाई थप चलायमान बनाउन सहयोग पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ।
ISO 9001:2015 तथा ISO 27001:2022 मान्यता प्राप्त गरिमा विकास बैंकले देशका सातै प्रदेशमा फैलिएको शाखा सञ्जालमार्फत विभिन्न भौगोलिक क्षेत्रका करिब १० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीद्वारा जारी प्रेस विज्ञप्तिमा शाखा विस्तारलाई निरन्तरता दिँदै आएको उल्लेख गरिएको छ।


