
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) यूएईले आपत्कालीन अवस्थामा नेपाली समुदायलाई तत्काल सहयोग र उद्धारमा सहजीकरण गर्ने जिम्मेवारीसहित राहत तथा उद्धार समितिको संयोजकमा संस्थाका सचिव ज्ञानेन्द्र गुरुङलाई मनोनयन गरेको छ।
एनआरएनए यूएईले सार्वजनिक गरेको जानकारीअनुसार गुरुङलाई समितिको संयोजकको जिम्मेवारी दिइएको हो। यूएईमा रहेका नेपाली नागरिकलाई कुनै पनि आपत्कालीन अवस्था, समस्या वा कठिनाइ आइपरेमा आवश्यक सहयोग, समन्वय तथा उद्धारका लागि नवनियुक्त संयोजकसँग सम्पर्क गर्न संघले आग्रह गरेको छ।
समितिले यूएईमा रहेका नेपालीहरूको हित, सुरक्षा तथा आपत्कालीन अवस्थामा आवश्यक सहयोग र उद्धारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले काम गर्ने संघले जनाएको छ।विशेषगरी दुर्घटना, स्वास्थ्यसम्बन्धी समस्या, आकस्मिक संकट वा अन्य कठिन परिस्थितिमा नेपाली समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय तथा सहजीकरण गर्ने समितिको भूमिका रहने बताइएको छ।
आपत्कालीन सहयोग तथा समन्वयका लागि संयोजक गुरुङलाई +971 55 257 3899 मा सम्पर्क गर्न सकिने एनआरएनए यूएईले जनाएको छ। संघले यूएईमा रहेका सम्पूर्ण नेपाली समुदायलाई उक्त सम्पर्क विवरणबारे जानकारी गराउन तथा आवश्यकता परेको अवस्थामा सहयोग र समन्वयका लागि समितिसँग सम्पर्क गर्न आग्रह गरेको छ।


