
नेपालगन्ज — “ओ मेरा छोर्याट्टि, नेपालगन्जमा सार्वजनिक सम्झना लाई क्या दिऔँ बैना, मेरो माया झुठो होइन, यो मुटुमा तिमीबाहेक अरू कोही छैन…” भन्दै चर्चित गायक सुनिल सिंह ठकुरीको नयाँ गीत ‘ओ मेरा छोर्याट्टि’ नेपालगन्जमा सार्वजनिक गरिएको छ।
बास नेपालको समन्वयमा आयोजित कार्यक्रममा गीतको म्युजिक भिडियो सार्वजनिक भएसँगै उपस्थित दर्शक गीतको लयमा झुमेका थिए। गीत सार्वजनिक गरेपछि गायक ठकुरीले स्टेजमै लाइभ प्रस्तुति दिएका थिए।
ठकुरीले लाइभ गीत प्रस्तुत गरिरहेका बेला म्युजिक भिडियोकी मोडल करिष्मा शाही ठकुरी समेत स्टेजमा आएर नाच्न थालेपछि कार्यक्रमको माहोल थप रमाइलो बनेको थियो। उपस्थित सहभागीले पनि गीतमा नाच्दै मनोरञ्जन लिएका थिए।
पश्चिम नेपालको स्थानीय भाषाशैली र कला–संस्कृतिलाई समेटिएको गीतको सार्वजनिकरण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ संगीतकार ओमप्रकाश शर्माले गरेका थिए।
कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे जानकारी दिएका थिए। प्रमुख अतिथि शर्माले नयाँ प्रतिभाको कला तथा संगीतप्रतिको लगाव सकारात्मक भएको बताउँदै गीतले सबैको मन जित्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा प्राज्ञ तथा बास नेपालका सल्लाहकार किरण आचार्यले गीत तथा म्युजिक भिडियोले पश्चिम नेपालको पहिचान झल्काएको बताइन्। बास नेपालका सल्लाहकार रुद्रप्रसाद तिमिल्सिनाले सुशासन र पारदर्शितासँगै स्थानीय कला–संस्कृतिको संरक्षणमा बास नेपालले भूमिका निर्वाह गरेकोमा खुसी व्यक्त गरे।
त्यस्तै, अछामी सेवा समाजका अध्यक्ष पुष्कर खड्काले सुदूरपश्चिमको कला–संस्कृति प्रस्तुत गरिएको गीतको सफलताको शुभकामना दिए।
‘ओ मेरा छोर्याट्टि’ सार्वजनिक तथा तिहार शुभकामना आदान–प्रदान कार्यक्रम बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न क्षेत्रका एक सयभन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ।


