दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तिहारको पाँचौँ दिन गोवद्र्धनसँगै गोरु र हलिको पूजा गरी मनाइँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ कार्तिक २४ गते, मंगलवार ६:५९

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज गोवद्र्धन पर्वत, बली राजा, गोरु तथा हलिको पूजा गरी मनाइँदैछ। यस अवसरमा पूजा गरिएका गोरु तथा हलिलाई विभिन्न मीठा परिकार खुवाउने परम्परा छ।

गोवद्र्धन पूजाका लागि घरआँगन लिपपोत गरी गाईको गोबरबाट पर्वतको आकृति बनाइन्छ। त्यसलाई गोवद्र्धन पर्वतको प्रतीक मानेर विधिपूर्वक पूजा गरिन्छ। द्वापरयुगमा भगवान् श्रीकृष्णले गोवद्र्धन पर्वत उठाएर गोकुलवासीलाई मुसलधारे वर्षाबाट जोगाएको स्मरणमा यो पूजा गर्ने परम्परा रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले बताए।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएको दिन गोवद्र्धन पूजा गर्नुपर्ने धार्मिक विधि रहेको छ।

धार्मिक मान्यताअनुसार भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार दिएका थिए। यही विश्वासका आधारमा आज बली राजाको समेत पूजा आराधना गरिन्छ। तिहारमा देउसी खेल्ने क्रममा ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए’ भन्दै भट्याउने परम्परा पनि यसै धार्मिक विश्वाससँग जोडिएको छ।

कृषि कर्ममा महत्वपूर्ण योगदान पुर्‍याउने गोरुको पनि आज विशेष पूजा गरिन्छ। वर्षभरि खेतबारी जोतेर मानव जीवनमा सहयोग पुर्‍याउने गोरुलाई मीठा परिकार खुवाउँदै सम्मान गर्ने चलन छ। गोरुलाई भगवान् शिवको वाहन नन्दी अर्थात् साँढेको स्वरूप मानेर पूजा गर्ने परम्परासमेत रहेको छ।त्यसैगरी, वर्षभरि गोरु जोतेर खेतीपातीमा संलग्न हुने हलि तथा कृषि कर्ममा योगदान पुर्‍याउने किसानलाई पनि आज सम्मानस्वरूप पूजा गरी मीठा परिकार खुवाइन्छ। यही कारण तिहारको पाँचौँ दिनलाई ‘हलि तिहार’ समेत भन्ने गरिन्छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु