
पनौती । काभ्रेपलाञ्चोकको पनौतीमा केन्द्रीय कार्यालय रहेको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा अन्नदान कार्यक्रम सम्पन्न गरेको छ।
वार्षिकोत्सवका अवसरमा संस्थाले पनौती नगरपालिका–९, त्रिवेणीधामस्थित प्राणनाथ माइती वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूका लागि खाद्यान्न सहयोग गरेको हो।
संस्थाले आयोजना गरेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्साल, नायब प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेलगायत विभागीय प्रमुखहरूको उपस्थितिमा वृद्धाश्रमलाई चामल, दाल, आलु, तेल, नुनलगायत दैनिक भोजनका लागि आवश्यक खाद्य सामग्री हस्तान्तरण गरिएको थियो।
वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूको भोजन व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले खाद्यान्न सामग्री प्रदान गरिएको संस्थाले जनाएको छ। वार्षिकोत्सवलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले अन्नदान कार्यक्रम आयोजना गरिएको बताइएको छ।
लघुवित्त संस्थाको मुख्य उद्देश्य वित्तीय पहुँच विस्तार गर्नुका साथै समुदायसँग प्रत्यक्ष रूपमा जोडिएर सामाजिक तथा आर्थिक क्षेत्रमा योगदान पुर्याउनु पनि हो। सोही भावनाअनुसार ज्येष्ठ नागरिकहरूको सेवामा गरिएको सहयोगले संस्थाको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता थप स्पष्ट गरेको छ।संस्थाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, ज्येष्ठ नागरिक सेवा तथा विपन्न समुदायको हितमा सहयोगका कार्यक्रमलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।


