दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ मंसिर ४ गते, शुक्रबार ७:१६

काठमाडौं । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीलाई प्रबोधिनी एकादशी, देवउठनी एकादशी तथा ‘ठूली एकादशी’का रूपमा मनाइन्छ। सनातन धर्मावलम्बीका लागि विशेष धार्मिक महत्व बोकेको यस दिन भगवान् विष्णु चार महिनाको योगनिद्रापछि जागृत हुने विश्वास गरिन्छ।

हरिबोधनी एकादशीका दिन घरआँगनमा रोपिएको तुलसीको विशेष पूजा गरी विधिपूर्वक विवाह गराउने परम्परा छ। तुलसीको मठलाई गोबर र माटोले लिपपोत गरी विभिन्न रङका वस्त्र, फूलमाला तथा अन्य सामग्रीले सिँगारिन्छ। विष्णुको प्रतीकका रूपमा लिङ्गो स्थापना गरी तुलसीको पूजा तथा विवाह सम्पन्न गरिन्छ।

धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन भगवान् विष्णु क्षीरसागरमा योगनिद्रामा जाने र कात्तिक शुक्ल एकादशीका दिन जागृत हुने विश्वास छ। विष्णु भगवान् शयनमा रहेको अवधिलाई चतुर्मास भनिन्छ। यस अवधिमा विवाह, व्रतबन्ध, गृहप्रवेशलगायतका माङ्गलिक कार्य नगर्ने परम्परा रहँदै आएको छ। हरिबोधनी एकादशीसँगै चतुर्मास समाप्त हुने भएकाले त्यसपछि शुभ तथा माङ्गलिक कार्यका लागि बाटो खुल्ने धार्मिक मान्यता छ।

चार महिनाअघि हरिशयनी एकादशीका दिन घरमा रोपिएको तुलसीलाई आज विशेष रूपमा पूजा गरी विष्णुको अर्को प्रतीक मानिने पीपलसँग विवाह गराउने चलन पनि छ। तुलसी विवाहपछि द्वादशीका दिन पूजा सम्पन्न गरी चतुर्मासभरि विष्णुको प्रतीकका रूपमा पूजा गरिएको तुलसीको विसर्जन गरिन्छ।

यस दिन व्रतालुले उपवास बस्ने तथा फलाहारका रूपमा पिँडालु, सक्खरखण्डलगायतका फलाहार ग्रहण गर्ने परम्परा छ। सम्भव भएसम्म निराहार व्रत बस्ने र नसके एकपटक मात्र फलाहार गर्ने धार्मिक विधि बताइएको छ। भगवान् विष्णुको पूजा गरी फलफूल तथा विभिन्न प्रकारका नैवेद्य अर्पण गरिन्छ। रातभर जाग्राम बसेर हरिनाम सङ्कीर्तन गरे भगवान् विष्णु प्रसन्न हुने धार्मिक विश्वाससमेत रहेको छ।
हरिबोधनी एकादशीसँग पितृसम्बन्धी परम्परा पनि जोडिएको छ। दिवङ्गत पितृको सम्झनामा खोलामा फूल तार्ने चलन कतिपय स्थानमा अझै प्रचलित छ। हातमा फूल लिएर ‘पितृभ्यः स्वधा नमः’ मन्त्र उच्चारण गर्दै एकादशी व्रतबाट प्राप्त पुण्य पितृहरूलाई समर्पण गर्ने धार्मिक विधि रहेको छ। यसरी पितृलाई पुण्य समर्पण गर्दा उनीहरू प्रसन्न भई परिवारमा सुख, शान्ति, समृद्धि र आशीर्वाद प्रदान गर्ने विश्वास गरिन्छ।

श्रीहरि जागृत भएको अवसरमा षोडशोपचार विधिबाट भगवान् विष्णुको पूजा गर्ने, विभिन्न फलफूल तथा नैवेद्य अर्पण गर्ने र हरिनाम सङ्कीर्तन गर्ने गरिन्छ। विवाहलगायतका माङ्गलिक कार्यको प्रारम्भमा भगवान् विष्णुलाई साक्षी राखेर सङ्कल्प गर्ने परम्परा भएकाले चतुर्मासका कारण रोकिएका शुभ कार्यहरू पनि यसै दिनपछि पुनः सुरु हुने मान्यता छ।

पद्मपुराणको उत्तरखण्डमा वर्णित एकादशी माहात्म्यअनुसार प्रबोधिनी एकादशीको व्रतलाई अत्यन्त पुण्यदायी मानिएको छ। यस दिन व्रत बस्दा एक हजार अश्वमेध यज्ञ तथा सय राजसूय यज्ञ गरेबराबरको फल प्राप्त हुने धार्मिक विश्वास छ। विधिपूर्वक व्रत तथा पूजा गरे सबै पाप नष्ट हुने र मृत्युपछि वैकुण्ठ प्राप्त हुने विश्वाससमेत शास्त्रीय ग्रन्थहरूमा उल्लेख गरिएको पाइन्छ।

हरिबोधनी एकादशीमा श्रद्धापूर्वक गरिने जप, तप, स्नान, दान, होम तथा पूजाआजा अक्षय फलदायी हुने धार्मिक मान्यता छ। त्यसैले सनातन परम्परामा यस दिनलाई भगवान् विष्णुको आराधना, तुलसी विवाह तथा चतुर्मासको समापनसँग जोडिएको विशेष आध्यात्मिक पर्वका रूपमा लिइन्छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु