
काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलोपटक च्याम्पियन बनेको हो।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै बिना विकेट पूरा गर्यो। सुदूरपश्चिमको जितमा जर्ज मन्से नायक बने। उनले १२ छक्का र आठ चौकासहित अविजित १२५ रन बनाए। विनोद भण्डारी ३० रनमा नटआउट रहे।
मन्सेले २८ बलमा अर्धशतक पूरा गरेका थिए। त्यसपछि झनै आक्रामक बनेका उनले ४९ बलमै शतक पूरा गर्दै एनपीएल फाइनलमा शतक प्रहार गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए।
६.४ ओभरमा सन्दीप जोराले मन्सेको क्याच छाडेपछि उनले त्यसको भरपूर फाइदा उठाए। मन्सेको विस्फोटक ब्याटिङसामु लुम्बिनीका बलर निरीह देखिए।
लुम्बिनीले बनाएको थियो १५५ रन
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो।
लुम्बिनीका लागि दिलिप नाथले अविजित ३९ रन बनाए। कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८ र अलि शेखले २४ रनको योगदान दिए।
सुदूरपश्चिमका स्कट कुगलेइनले दुई विकेट लिए। हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र थरिन्दु रत्नायकेले समान एक–एक विकेट लिए।
तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा
एनपीएलका अघिल्ला दुई संस्करणमा फाइनल पुगे पनि उपाधिबाट वञ्चित हुँदै आएको सुदूरपश्चिमले तेस्रो प्रयासमा इतिहास रचेको हो।
यसअघि टोली पहिलो संस्करणमा पाँच विकेट र दोस्रो संस्करणमा छ विकेटले पराजित भएको थियो। यसपटक भने लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले पहिलोपटक एनपीएल ट्रफी उचाल्यो।
च्याम्पियन सुदूरपश्चिमले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउँदा उपविजेता लुम्बिनीले ८० लाख रुपैयाँ प्राप्त गरेको छ।


