
काठमाडौँ, मंसिर १२। महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका लागि १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अवलोकनमा सहज, सुरक्षित र व्यवस्थित वातावरण निर्माण गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले आग्रह गर्नुभएको छ।
आज सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बादीले राष्ट्रिय खेलकुद प्रतियोगिता सबै नागरिकको साझा उत्सव भएकाले खेल अवलोकनका लागि आउने सबै वर्गका नागरिकको सहज सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनुभयो। उहाँले प्रतियोगिता स्थलमा आवश्यक व्यवस्थापनसँगै पहुँचमैत्री वातावरण निर्माणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
कर्णाली प्रदेशकी छोरीका रूपमा आफ्नै प्रदेशमा राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको उल्लेख गर्दै मन्त्री बादीले प्रतियोगिताका कारण कर्णालीमा उत्सव र पर्वको जस्तै वातावरण सिर्जना भएको बताउनुभयो। उहाँले प्रतियोगिता सफल बनाउन योगदान पुर्याउने आयोजक, खेलाडी, सुरक्षाकर्मी, स्थानीयवासी तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्नुभयो।
पत्रकार सम्मेलनमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, कानुनमन्त्री सोभिता गौतम तथा कर्णाली प्रदेशका मुख्यमन्त्रीको उपस्थिति रहेको थियो। पत्रकार सम्मेलनपछि मन्त्री बादीले प्रतियोगिता सञ्चालन भइरहेको खेलमैदानको अवलोकन गर्नुका साथै बक्सिङ खेल प्रत्यक्ष रूपमा हेर्नुभएको थियो।
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णाली प्रदेशको खेलकुद विकास, खेलाडीको प्रतिभा प्रस्फुटन तथा राष्ट्रियस्तरमा प्रदेशको पहिचान प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।


