तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

इच्छाशक्ति र सीप हुने महिलाहरूलाई कतार उपयुक्त छ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ १३ गते, आईतवार १२:११

 

मिना थापा क्षेत्री
सवारी चालक, कतार
कतारमा लिमोजिन चलाउने पहिलो महिला मिना थापा क्षेत्रीको नेपालको स्थायी ठेगाना भरतपुर चितवन हो । कर्मले उनलाई मध्यपूर्वको खाडी राष्ट्र कतारमा ल्याइपुर्यायो । जीवनमा सयौं दुःख, कष्ट, पीडा, चोट, हन्डर र ठक्करहरुको सामना गरेक क्षेत्री जीवनलाई सुख दुखको संगम भन्न रुचाउँछिन् । अहिले कतारको फराकिलो सडकमा विश्वकै लामो सवारीमा गनिने लिमोजिन गाडी हाँक्ने मिनाको जीवन अहिले सन्तुष्ट छ । नेपालबाट कतारमा आएर लिमोजिन गाडी चलाउने पहिलो महिला क्षेत्रीसँग उनको जीवन सघर्ष, कतार र कतार बसाइँका विषयमा केन्द्रित रहेर जनसवाल दैनिकका लागि रामजी बगालेले गरेको कुराकानीको सारसंक्षेप :

कस्तो वाध्यात्मक परिस्थितिले तपाईँलाई खाडीमा रोजगारिकोलागि आउन बाध्य तुल्यायो ?
खासमा म एकदमै ठुलो परिवारको छोरी हुँ । हाम्रो आमाले ११ सन्तान जन्माउनुभएको थियो । जसमा २ सन्तानको अकाल मृत्युभएकोले ६ छोरी र ३ वटा छोरा सहित ९ जना दाजुभाइ दिदीबहिनी थियौँ हामी । दिदीहरूको सानै उमेरमा विवाह भएर जानुभयो । म भरखर निम्न माध्यमिक शिक्षा पढ्दै थिए । बाले सधैँ एउटा छोराको पनि कमाई खान पाइएन भनेर गुनासो पोखेको पोख्यै गरेको सुनिन्थ्यो घरमा । त्यतिखेर मलाई लाग्थ्यो– बाले किन छोराको कमाई खान पाइन मात्र भन्नुहुन्छ, हामी छोरीहरूले कमाएर खुवाए पनि हुँदैन होला भनेर सोच्थे । तर के गर्नु, बाले मलाई पनि धेरै पढाउन सक्नुभएन । र, मैले ठाने– अरूले पढेर गरोस तर म परेर गर्छु । छोरालेभन्दा बढी गरेर देखाउँछु । नभन्दै १५ वर्षको पढ्ने तरुण उमेरमै म नोकरीको खोजीमा कुखुराको पोथि बेचेको पैसा बोकेर गाउँ छाडेर छिमेकीको साथ लागेर काठमाडौँ आए । त्यसपछि जीवनका अनेकन अप्ठ्यारा, दुःख, कष्ट, पीडा, चोट, हन्डर र ठक्करको सामना गरे । एक दिन न एक दिन त मेरो पनि पालो आउला भन्ने सकारात्मक संघर्षभावले निरन्तर आफ्नो सङ्घर्षको मैदानमा लडी रहे । लगभगत ९ वर्ष काठमाडौँमै नोकरी गरे । काठमाडौँ बसाईमा गोराहरूको भारी बोकेर कहिले हिमालको थुम्काहरूमा पुगे भने कहिले ट्रेकिङ गाइड भएर ५ हजार भन्दा माथिको उचाइसम्म पनि पुगे ।
काठमाडौँ बसाइको क्रममै मेरो विवाह भयो । श्रीमानलाई पनि काठमाडौँ ल्याए । आर्थिक उपार्जनको निमित्त सानो पसल खोलेर बस्यौ । तर, घरको घरायसी समस्याले गर्दा पसल बेचेर गाउँ फर्कन पर्यो । त्यसपछि श्रीमानले पनि गाउँमा अनेकन सङ्घर्ष गर्नुभयो । कहिले कुखुरा पाल्ने, कहिले खेतीपाती गर्ने । त्यसपछि बच्चा जन्मियो । त्यसपछि गाउँमा जे जति गरे पनि गुजारा चलेन । ऋणले समेत च्याप्न थाल्यो । श्रीमान् अलिक शारीरिक अशक्त हुनुहुन्थ्यो । तब मैले श्रीमानसँग सल्लाह गरे– होर्नुस तपाईँ र म एक रथको दुई पाङ्ग्रा हौँ, हाम्रो र बच्चाको उज्वल भविष्यको लागि म विदेश जान्छु भने । यसरी, लगभग २ वर्षको बच्चा छाडेर परदेश (मलेसिया) पस्न बाध्य भए ।

अनि तपाईँको मलेसिया बसाई चैँ कस्तो रह्यो ?
एउटा आमा आफ्नो काखको बच्चा छाडेर जीविकोपार्जनको निमित्त जब वैदेशिक रोजगारीको सिलसिलामा परदेशमा बस्नुपर्दा मन मस्तिष्क सधैँ दुःखित पीडित मात्र रहन्छ । मलेसियामा म मोबाइल कम्पनीमा प्याकिङको लागि भनेर गएको भए पनि त्यहाँ मैले सेकेन्ड सेकेन्डमा ३० केजीको वेट उचाल्ने सार्ने काम गर्नुपथ्र्यो । काम भनेजस्तो भएन । गाउँमा काखको नानी । श्रीमान् शारीरीकरुपमा अशक्त हुनुहुन्थ्यो । हरेक दिन, हरेक रात मुटु भक्कानीएर आँसुको बुढीगंगा बग्थ्यो । तै पनि बच्चा, श्रीमान् र आफ्नो जीविकोपार्जनको लागि रोजगारीको लागि आएको भएर सकि नसकी सङ्घर्षको भुमरीमा पेलिनै पथ्र्यो । त्यसरी नै बित्यो मलेसिया बसाइँ ।

मलेसियाबाट के करण फर्किनुभयो त ?
मलेसियामा दुईवर्षको अवधिसम्म रहँदा मेरो ससुरा बुबा बित्नुभएकोले छुटिमा नेपाल फर्किए । तर विविध घरायसी समस्याले गर्दा पुनः मलेसिया फर्कन सकिन । एकवर्षजति गाउँमै बसेर ससुरा बाको एक वर्षे कार्य सम्पन्न गयौँ । नेपालमा पुनः ट्रेकिङ गाइड गर्न सक्ने अवस्थामा थिइन म किनभने बच्चा अपरेसन गरेर निकाल्नुपरेको थियो । त्यसर्थ, म फेरी फेरी वैदेशिक रोजगारीको निमित्त कतारमा असिस्टेन्ट टिचरको रुपमा गए ।

अनि कतारमा के कस्तो सङ्घर्ष गर्नुभयो ?
कतार आएको १ वर्षमै कम्पनीले तेरो कन्ट्रयाक्ट सकियो कि घर जा कि एनओसी दिन्छौ भन्यो । कतारमा पनि एकपछि अर्को गर्दै अनेकौँ समस्याले प्रहार गर्न छाडेन । तर, म पनि समस्याहरूसँग लड्न÷जुध्न छाडिन । कम्पनीले एनओसी दिएपछि अर्को ड्राइभिङ स्कुलमा ट्रान्सफर हुने अवसर सृजना गरे । त्यहाँ २ वर्ष काम गरे । त्यहाँको लाइसेन्स समेत झिक्न सके । त्यसपछि पुनः म बिदामा नेपाल फर्किए । नेपालबाट फर्किएपछि केहिसमय एउटा नेपालीकै कम्पनीमा मार्केटिङ काम गरे । भलै मैले नेपालमा २ पटक सम्मको प्रयासमा सवारी लाइसेन्स लिई सकेको भए पनि यहाँको सवारी चलाउनु बहुतै चुनौतीपूर्ण कार्य थियो । तर मैले सम्भव गराए । अहिले मैले मजाले ८÷९ लाइनको बाटोमा विश्वकै लामो सवारीमा गनिने लिमोजिन गाडी हाँक्छु । विभिन्न कन्ट्रयाक्टको काम गर्छु ।

एउटा नेपाली महिलाले कतारमा लिमोजिन गाडी हाँक्नुहुन्छ । कस्तो छ अनुभव ?
मलाई बहुत गर्व लाग्छ । म नेपाली चेली भएर पनि परदेशको ठाउँमा आएर ८÷९ ल्यानको बाटोमा व्यावसायिक रूपमा लिमोजिन सवारी चलाउँछु । गाउँ समाजको– नेपाली नारीहरू केवल चुला चौका गर्न मात्र जन्मिएका हुन भन्ने धारणालाई मैले गलत पुष्टि गरिदिए । नारीहरू पनि बहादुर हुन्छन् । परिआएको खण्डमा जस्तोसुकै कठिन कार्यसम्पादन गर्न सक्छन् भन्ने प्रमाणित गरिदिए । यहाँको सवारी चालक भईरहदाको चुनौतीपूर्ण पक्ष भनेको– सेकेन्ड सेकेन्डमा यहाँको नीति, नियम र सवारी संहितालाई पालना गर्नुपर्दछ, नत्रभने महिनौँ कमाएको पैसा एकै सेकेन्डमा फाइन तिर्नुपर्ने हुन्छ । समग्रमा सङ्घर्षमय जीवन चलिरहेको छ । मनभित्र पूर्ण कन्फिडेन्ट भएपछि गाडी चलाउले काय भलै मुस्किल भए पनि बहुत सरल लाग्ने रहेछ ।

तपाईँ नेपालबाट कतारमा आएर लिमोजिन गाडी चलाउने पहिलो महिला हो ?
सायद हुँ होला । अहिलेसम्म मैले कोही भेटेको पनि छैन । देखेको पनि छैन । र, सुनेको पनि छैन । फिलिपिन्स वा अन्ततिरका भने छन् । मान्छेहरूले कहिलेकाहीँ सोध्छन– त फिलिपिनो हो भनेर । तर म गर्वकासाथ भन्छु– म नेपाली हुँ । तर उनीहरू जिब्रो निकाल्छन, नेपालीहरूले पनि यस्तो कठिन कार्य गर्न सक्छन् भनेर । त्यसर्थ, म सधैँ आफ्नो पेसा प्रति सन्तुष्ट छु । खुसी छु ।

तपाईँलाई अरेविक भाषा र अङ्ग्रेजी भाषा पनि आउँछ ?
यहाँ लामो बसाई भइसकेको भएर सामान्य त अरेविक भाषा आउँछ । अङ्ग्रेजी भाषा त नेपाल हुँदा देखि नै ठिकै आउँथ्यो ।

अब तपाईँको भविष्यको योजना कस्तो रहेको छ त ? आफ्नै गाडी किनेर चलाउनुहुन्छ कि ? वा सवारी चालककोरुपमा काम नै गरिरहनुहुन्छ ?
हा हा । जीवनमा बहुत सङ्घर्ष गरे । एउटा नेपालको सामान्य परिवारको छोरी भएर पनि कठिन कठिन परिस्थितिहरूलाई धैर्यता र सङ्घर्षले चिर्दै चिर्दै यहाँसम्म आई पुगे । अहिले मसँग गाडी चलाउने राम्रो दक्षता छ । आर्थिकरुपमा पनि बिस्तारै उकासिँदै छु । त्यसर्थ, भविष्यमा आफ्नै एउटा गाडी किनेर चलाउनेछु भन्ने लक्ष्य रहेको छ । र, मलाई थाहा छ मैले लक्ष्य लिएपछि म कुनै पनि हालतमा पुरा गरेरै छाड्छु । केही ढिलो वा छिटै होला तर म यो मेरो उद्देश्य पुरा गरेरै छाडने छु ।

नेपाली सङ्कुचित समाजको एउटा चली भएर पनि विदेशमा यसरी डाईभरको रूपमा काम गरिरहनुभएको छ । परिवार, छरछिमेक र आफन्तहरूको साथ सहयोग पाउनुभएको छ त ?
म पहिले देखिनै स्वतन्त्रता मन पराउने मान्छे परे । आफू आफ्नो इमान र नैतिकतामा बसेपछि परिवार, समाज र आफन्तहरूले के भन्छन् वा भन्लान भन्ने कुराले मलाई प्रभावित पार्दैन । तैपनि, परिवार, छिमेकी र आफन्तजनहरूबाट पनि मलाई एकदमै विश्वास, साथ र सहयोग पाई रहेको छु । सबैतिरबाट हाई हाई नै पाएको छु । सबैले काम गर्नु, आफ्नो स्वास्थ्य र ज्यानको ख्याल गर्नु । सवारी चलाउँदा विशेष ध्यान दिनु भन्छन् । म एकदमै सकारात्मक एवं आशावादी महिला भएकोले होला, भाग्य प्रति मेरो सकारात्मक धारणा छ । आफूलाई भाग्यमानी नै ठान्छु । जीवनमा अनेकन दुःख, कष्ट र हन्डरहरु भोग्नु पर्न सक्छ, कहिलेकाहीँ त चोटै चोट र पीडै पीडाले गर्दा मरु मरु समेत लाग्न सक्छ तर जीवनदेखि हार खानुहुन्न । सधैँ एउटा कुरा याद गर्नुपर्छ– भगवानले वा भाग्यले उसको प्यारो मान्छेलाई मात्रै आत्म परिक्षा लिन सताईरहन्छ । तर, अन्ततः भाग्य उसैको दाहिना हुन्छ ।

महिला कामदारहरूलाई कतारमा के कस्ता समस्याहरू छन् ? सरकारले चेलीहरूलाई लिगल रूपमा खाडी मुलुक जान झन्झटीलो नीति समेत बनाएको छ । के भन्न चाहनुहुन्छ ?
खाडीमा नेपाली चेलीहरूलाई गाह्रै छ । यहाँ हरेक काम कठिन छ । तर, इच्छा शक्ति र सिप हुनेहरूलाई भने कुनै पनि कार्य सरल लाग्छ । यहाँ आउनु पूर्व नेपाली चेलीहरूले यहाँको भाषा, सिप, नीति नियम र अन्य विभिन्न ज्ञानहरू बटुलेर मात्र आउनु होला भन्न चाहन्छु नेपाली चेलीहरूलाई । यहाँ आएर दुःख पाउनु भन्दा नेपालबाटै भाषा, तालिम र सिप हाँसील गरेर आउनुभयो भने यहाँ नेपाली चेलीहरूले पनि राम्रै अवसरहरू पाउँछन । र, सरकारले चेलीहरूलाई खाडी मुलुक जान लगाएको प्रतिबन्धलाई पनि खुलाउनु पर्छ । पुरुषहरूको जति अधिकार हुन्छ, महिलाहरूको पनि उतिनै श्रम सम्बन्धी अधिकार हुनुपर्छ । महिलाहरूले पनि अवसर पाएपछि पुरुषहरूले जस्तै कर्म गर्न सक्छन् । धन्यवाद

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु