
काठमाडौ, ११ फागुन । ललितपुरको नक्खुस्थित एनसेलको मुख्य कार्यालय अगाडि बम विस्फोट भएको छ । शुक्रबार साँझ अज्ञात समूहले कार्यालयको गेटमा बम विस्फोट गराएका हुन् ।
घटनामा तीन जना घाइते भएका छन् । घाइतेहरुको अल्का अस्पताल, मेडिसेटी र बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेहरुमा बागडोल बस्ने प्रतिक्षा खड्काको अल्का अस्पतालमा, भैसेपाटी बस्ने सिंह प्रताप गुरुङको बीएण्डीमा र पुरुषा मानन्धरको मेडिसिटीमा उपचार भइरहेको छ ।
ललितपुर प्रहरी प्रमुख रवीन्द्र घानुक अनुसार विस्फोटमा प्रेसर कुकर बम प्रयोग भएको थियो ।
बम बिस्फोटबाट गेटमा क्षति पुगेको साथै छेउको पसलमा पनि क्षति पुगेको प्रारम्भिक रिपोर्ट आएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरले बम विस्फोट गराउनेको पहिचान हुन नसकेको भन्दै घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरिएको जनाएको छ ।
कमलपोखरीको आगन स्वीट्समा बम फेला
काठमाडौँको कमलपोखरीस्थित लोहोत्से चोकमा रहेको आगन स्वीट्सभित्र बम फेला परेको छ । पसलको टेबलमाथि खरानी कलरको ब्यागमा प्रेसर कुकर बम फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाली सेनाको टोली पुगेर बम डिस्पोज गरेको छ ।


