तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

क्रान्तीले छोडेको र पाटीले भुलेको योद्धा, हरि बजगाई–जमिन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण १५ गते, बुधबार १३:४९

जन्मदिनको शुभकामना दाई । आजबाट तपाईले यस धर्तिमा पाईला टेकेको ठ्याक्कै ४३ वर्ष पुरा भएछ । २०३३ साल साउन १५ अर्थात खिर खाने दिन तपाईले यस धर्तिमा पाईला टेक्नु भएको हो, मलाई जानकारी भएअनुसार । दाई तपाई जस्तो दाजु पाउनु कमैको भाग्यमा लेखिएको हुन्छ त्यहि भाग्यमानी मध्येको म, आज अत्यन्तै खुसी छु । दाई म सानो छँदा साउन १५ मा हरेक वर्ष हाम्रो घरमा खिर अनिवार्य पाक्थ्यो र मलाई लाग्थ्यो तपाई जन्मिएकै कारण साउन १५ गते खिर खान सुरु भयो । अहिलेपनि साउन १५ खिर खाने पर्व भन्दा बढि तपाईको जन्मदिनको कारण महत्वपुर्ण र यादगार छ झै लाग्छ मलाई ।

दाई हामी बुबा आमाको ९ जना सन्तान (हाल ८ जना मात्र छौं) को परिवारमा तपाई जन्मिएको दिन साँच्चै अरु दाई दिदि र म जन्मिएको दिन भन्दा धेरै रमाईलो हुन्थ्यो । खिर खाने र तपाईको जन्मदिन मनाउने भनेर विहे गरेर गएका दिदीहरु बोलाएर कति रमाईलो गरिन्थ्यो । त्यसैगरि हजुरसंगै भएर खिर खाँदै हजुरको जन्मदिन नमनाएको संकटकाल बाहेकका समय पछिपनि ३/४ वर्ष भैसकेछ । भौगोलिक दुरीले टाढा नरहेपनि जन्मदिनमा भेटहुने संयोग नपरेको धेरै भयो ।
दाई हामी बच्चै थियौं । घरमा हुर्किएको र आमा बा लाई काममा सहयोग गर्न सक्ने तपाई मात्र हुनुहुन्थ्यो । तपाई भन्दा माथिको एउटा दिदी र तपाई मुनीका दुईओटी दिदी सहित तपाईको पनि विवाह भैसकेको थियो । र अरु बाँकी दाई दिदी र म सानै थियौं । म जन्मिएको करिव एक वर्ष पुग्दा नपुग्दै देशमा युद्ध सुरु भएको रहेछ । देश र जनतालाई मुक्तीको निमीत्त वर्ग संघर्ष सुरु भएको थियो । महान क्रान्तीयोद्धा माओको नामबाट र उनको सिद्धान्तलाई आत्मसात् गदै नेकपा माओवादीले राज्यको कदम विरुद्ध र शोसित पीडित जनताको मुक्तीको नाम दिएको महान क्रान्तीमा तपाईले पनि भाग लिनु भएको थियो । खै दाई कतिवर्षको हुनुहुन्थ्यो र तपाईको मनले के सोच्यो तपाईलाई कुन कुराले तान्यो कुन्नी । तपाई श्रीमती बुबा आमा र कलिला भाई बहिनीलाई यतिकै छोडेर महान क्रान्तीका निम्ती लाग्नु भयो । र त्यसपछि सुरु भयो घरमा वास्तविक पीडा ।

हरेक दिन रेडियोबाट यहाँ यस्तो घटना भयो, यति जनाको ज्यान गयो, हो यस्तै समाचार सुनिन्थ्यो । जताततै माओवादी मरेको भन्ने खवरले कयौं रातहरु आमा बुवा र भाउजुहरुसंगै हामी रोएर विताईयो । न कुनै सम्पर्क हुन्थ्यो न त कुनै खवर, बल्ल बल्ल एक महिना जतिमा खवर आउँथ्यो अनि अलि दिन केहि हल्का हुन्थ्यो मन । दाई, बुवा र आमाहरु कहिल्यै रातभरि सुत्दैनथे । रातभरी समाचार सुन्दा सुन्दा रेडियोमा व्याट्रि सकिन्थ्यो तर हामी सुन्न छोडेनौं । कतै तपाईलाई केहि भईहालेको खड्मा के गर्ने हामीसंग केहि उपाय थिएन ।

यता घरमा शाही सेनाको दिनहुँ जसो आउजाउ हुन्थ्यो । त्यतिमात्र नभएर परिवारमा बुबा, तथा अरुदाई लगायतलाई निर्घात कुटपीट गर्ने, भकारीको धान पोखिदिने, परालको माँच भत्काईदिने देखि विभिन्न शारिरिक तथा मानशिक आतंक यता परिवारमा हामीले भोगिरहेकै हुन्थ्यौं । उता तपाई महान क्रान्तीलाई सफल बनाउने यात्रामा आफुलाई सर्मपण गरि संघर्षको बाटोमा मृत्युलाई हत्केलामा राखेर गरिव जनता, पीछडिएको वर्ग/जाति, धर्म, महिला, दलितको अधिकार र वषौंदेखिको सामान्ती शासनलाई जनताको अगाढि घुँडा टेकाउने र संघिय लोकतान्त्रीक गणतन्त्रात्मक धर्म निरपेक्ष राज्य र जनताले चुनेको शासकको लागि आफ्नो जीवन अपर्ण गरेर महान क्रान्तीको अभिलाषा सहित निरन्तर लागिरहनुभएको थियो ।
तपाईको बारेमा जानकारी लिन कयौं पटक दिन तथा रातमा पनि सैनिकहरु हतियार बोकेर हाम्रो घर घेर्न आईपुग्थे र बन्दुकको नालले हानेर हाम्रा कोमल मन र शरिरमा चोट पुर्याएर जान्थे । खै उनिहरुको त्यो रहर थियो की बाध्यता म त्यतिबेला विश्लेषण गर्न सक्दैनथे । अहिले निकै सोच्छु ।

ति दिनहरु अहिले सम्मपनि मेरा मानसपटलमा ताजा नै छन् । हामी र हाम्रो परिवारले भोगेको त्यो दुर्दशा सायदै कमैले भोगे होला । हुन त कतिले दाजु भाई गुमाए, कतिको सिउँदो पुछियो, कतिको सन्तानको घाँटि चुँडियो । हामीले तपाईलाई गुमाउनु परेन हाम्रो कुलको धर्म र परिवारको मायाले तपाईलाई त्यति ठूलो केहि भएन । दुईपीपलको रुसेपानीमा आर्मीसंगको जम्काभेट भएर भाग्दै बाँचेको त्यो घटना तपाईबाट र पछि अरु प्रत्यक्षदर्शीहरु बाट सुन्दा मुटुले काम नगरे जस्तै भएको थियो अहिलेपनि सम्झीयो भने मन अन्तै पुग्छ कतै उडेर । अझ दाई तपाईले त त्यो सव भोग्नु भएको छ तपाईको मनमा के भएको होला ? कति आउलान यादहरु पटक पटक मृत्यको मुखमा पुग्दै नयाँ जीवन पाएको घटनाहरु सम्झीदा ?

तर दाई, तपाई र तपाईका कयौं साथीहरुले रगत र पसिनाले सिंचनगरि जन्माएको परिवर्तनमा सिमित अवसरवादीहरुले भोकचलन गरिरहेका छन् । आज तपाईसंग नुन तेल जोड्नसक्ने सामथ्य छैन । विहान खाएर बेलुकाको छाक टार्न ज्याला निवेक, कुटो कोदालो र हलो जुवा गर्न पर्छ । महिनौ ननुहाएको शरिर बोकेर बषौं पुरानो एकसरो लगाएर शहर बजारमा माओवादी उपनामको बदनामी कमाएर, ‘दुनियाले घर बनाए हेर यस्को हालत’ भन्ने शत्रुहरुको अगाढि साँच्चे जोगिएर हिड्न कति कठिन छ है दाई ? अबुझ, अशिक्षीत समाजमा जन्मेर जनताको मुक्तीको यात्रा महान सर्वहारा क्रान्तीका तपाई सच्चा पहरेदार । तर दाई आज विहान बेलुकाको छाक टार्न मुस्कील छ तपाईलाई । दाई के यहि दिनको लागि तपाईले क्रान्तीमा होमिनु भएको हो त ?

दाई, क्रान्ती र ति सपनाहरु पुरा नहुँदै क्रान्तीकारिहरु सम्पति, घर–घडेरी तथा पजेरोको लोभमा फसे र छोडिदिए क्रान्तीका नारा लगाउन । तपाई जस्ले एकरती जनतालाई दुःख नदिई एक रुपैंया कसैको नखाई आज यो हालतमा जीवन ? र संगै एउटै मोर्चामा लडेकाहरु मन्त्री, सांसद, प्रधानमन्त्री देखि मेयर, उपमेयर हुँदै वडासम्म आउँदा तपाईलाई पाटिले वडा अध्यक्षको टिकट समेत पत्याएन । दाई न त क्रान्तीले चिन्यो न त पाटिले, आखिर त्यहि पाटि र क्रान्तीको निमित्त तपाईले जीवन सर्मपण गर्नुभयो ।
दाई, तपाईले शान्तीकालपछि घरमै बसेर हामी भाई बहिनी र परिवारको लागि निकै संघर्ष गर्दै आजको दिनसम्म ल्याउनमा ठूलो चुनौतिको सामना गर्नुभयो । पढाई खर्च नभएर मैले पढाई छोड्ने अवस्था आउँदा बारीका रुख बेचेर मलाई पढाउनु भयो । बाबा आमाले सानैमा छोडेर गएपनि बाबु आमाको अभाव सकेसम्म खड्किन दिनुभएन । जीवनभरि नै तपाई अरुको भलो र अरुको खुसीमै हराउँदा हराउँदै आफ्नो खुसी नै भुलिदिनु भयो है दाई ?

दाई, तपाईसंगै लडेकाहरु कोही माटोमुनि होलान, माटोमाथी भएकाहरु धेरै नै माथि छन् तर तपाईको योगदानको किन मुल्यांकन भएन । किन यति सजिलै भुल्यो पाटीले तपाईको योगदान ? यसको खोजिमा म निरन्तर लागिरहने छु । तपाईहरुले नै खाई नखाई मलाई यहाँसम्म ल्याउनु भयो, आवश्यक परे अवको तपाईको बाँकी अभिभारा पुरा गर्न म तयार छु तर तपाईले पाटी र क्रान्तीको लागि गरेका हरेक संघर्षको अवश्य मुल्यांकन हुनु पर्दछ ।

हिजोका दिनमा राज्यले आतंककारीको विल्ला भिरायो, समाजले माओवादीको उपनाले हेप्यो, क्रान्ती यात्राका योद्धाहरु शहरमै भुले, न तपाईलाई कसैले चिन्यो न त कसैले खोज्यो । तपाई जनताको लागि लड्नु भो न दिन फिरे तपाईका न त केहि पाउनु भयो । आज हिजोका, प्रतिक्रियावादीहरु सल्वलाई रहेका छन् तपाईको पसिनामा । आखिर के रहेछ त खैैं ? सव् झुट रहेछ दाई, सोझा नागरिकहरुलाई भ्रममा पारेर गए । शासक सधैं शामन्त नै हुन्छ र रहिरहोस् अवपनि ।

दाई, यस्तै त रहेछ जो आएपनि आखिर न गरिवको लागि केहि भयो न त तपाईहरुको लागि । तपाईको आजको अवस्था हेर्छु मुटुभित्र भकानो फुटेर आउँछ केहि बोल्नै सक्दिन । दाई म पनि न केहि गर्न सक्छु तपाईको लागि त्यसैले तपाईको दुःख देख्न नपरोस् भनेर घर आउनै मन लाग्दैन ।

आज जिन्दगीको ४३ वर्षे ईतिहास बनाई रहँदा तपाईले सिकेका भोगेका हेरेक चुनौतिहरु मेरालागि सहि मार्गनिर्देशन र असल पाठ बन्न सकोस् । तपाईको बाँकी जीवन अझ शसक्त होस् । क्रान्ती र पाटीले भुलेपनि सत्य कहिल्यै रुक्ने छैन ईतिहासमा तपाईको योगदानको अवश्य मुल्यांकन होला । जन्मदिनको धेरै धेरै शुभकामना ठूलोदाई ।

(१० वर्षे जनयुद्धमा होमीएका उहाँजस्ता हजारौं योद्धाहरु आज उहाँको जस्तै दयनिय जीवन यापन गर्दैछन् । संगै लडेकाहरु मन्त्रि हुँदा संगै लडेका उहाँहरु छाकटार्न नसकेर मर्नुपर्छ । आखिर क्रान्ती के का लागि थियो ? के पाए जनताले अनि निस्वार्थ लडेका कर्मविरहरुले ? धिक्कार छ तिम्रो सामान्ती शासनलाई कम्रेड ।)

सन्तोष बजगाई
(सन्तोष हरि बजगाईका भाई हुन्)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु