काठमाडौँ – चलचित्र “मिस्टर नेपाली”को “नाचौँ न छम्म छम्म” बोलको गीत सार्वजनिक भएको छ । चलचित्र युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीत सार्वजनिक गरेका हुन् । मिलन लामा र रिता केसीको स्वर रहेको यस गीतमा देव भुषालको शब्द रहेको छ भने सुवास भुषालको संगीत रहेको छ ।
गीतमा चलचित्रका मुख्य कलाकार नायक भूवन केसी र रीमा विश्वकर्मालाई फिर्चड गरिएको छ । नायक भूवन केसी र रीमा विश्वकर्मालाई बेहुला बेहुलीको भेषमा देखाइएको उक्त गीतको भिडियोमा उनीहरुको बिबाहलाई प्रस्तुत गरिएको छ ।
चलचित्रमा नायक भूवन केसी, रीमा विश्वकर्मा, बिष्णु सपाकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, रवि डंगोल , नव–कलाकार साहिल श्रेष्ठ र कुसुम राउत लगायतका कलाकारहरुको अभिनय रहेको छ । उक्त चलचित्रमा नायक भूवन केसी दोहोरी भूमिकामा देखिदैछन् । हिमाल केसीको एक्सन रहेको चलचित्रमा सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन छ ।
देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको उक्त चलचित्रको छायांकन नवलपरासी र काठमाण्डौमा गरिएको छ । चलचित्रले विदेशमा रहेका नेपालीहरुको नेपालप्रतिको मायालाई झल्काउने छ । प्रेमराज दाहालको लगानी रहेको चलचित्रका प्रोडक्शन डिजाइनर गणेश सापकोटा हुन् । चलचित्र कार्तिक २९ गतेबाट रिलिज हुँदै छ ।