
काठमाडौ –राष्ट्रियसभा सदस्यको १८ पदका लागि आगामी माघ ९ गते हुने निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ । उक्त निर्वाचनका लागि मुलुकका सातै प्रदेशमा आइतबार भएको उम्मेदवारी मनोनयपत्र दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमले जानकारी दिए । बिहान १०ः०० देखि अपराह्न ३ः०० बजेसम्म उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम सञ्चालन भएको थियो । आगामी फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नौ, नेपाली काँग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक सदस्यको स्थानमा निर्वाचन हुन लागेको हो निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य समूहबाट सात सदस्य निर्वाचित हुनेछन ।
निर्वाचन आयोगका अनुसार, प्रदेश नं १ मा महिला, दलित र अन्य समूहका एक÷एक पदका लागि तीन÷तीनको उम्मेदवारी परेको छ । प्रदेश नं २ मा महिला, दलित, अल्पसङ्ख्यक र अन्य समूहका एक÷एक पदका लागि दुई÷दुई जनाले उम्मेवारी दर्ता गराएका छन् । प्रदेश नं ३ मा महिला र अन्य समूहका एक÷एक पदका लागि तीन÷तीनको उम्मेदवारी मनोनयन पत्र दर्ता भएको छ । गण्डकी प्रदेशमा महिला र अन्य समूहका एक÷एक पदका लागि महिलातर्फ दुई र अन्य समूहतर्फ तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश नं ५ मा महिला एक, अल्पसङ्ख्यक एक र अन्य समूहका एक÷एक पदका लागि क्रमशः दुई, तीन र चार जनाको उम्मेदवारी परेको छ ।
कर्णाली प्रदेशमा रिक्त हुने महिला एक र अन्य समूहको एक पदका लागि दुई÷दुई जनाले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश नं ७ मा महिला र अन्य समूहका एक÷एक पदका लागि दुई दुई जनाको उम्मेदवारी परेको छ । उनान्साठी सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ । पदावधि सकिनेमध्ये एक सदस्य मनोनित गरिने छन् । राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् ।
नेकपा र काँग्रेस उम्मेदवारको मनोनयन दर्ता
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली काँग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । आगामी माघ ९ गते हुने निर्वाचनका लागि नेकपाका मायाप्रसाद शर्मा आचार्य र सुमित्रा बिसीले निर्वाचन अधिकृतको कार्यालय सुर्खेतमा आइतबार मनोनयन दर्ता गरेका छन् । शर्मा भेरी नगरपालिका ११ जाजरकोट तथा बिसी वीरेन्द्रनगर नगरपालिका ५ सुर्खेत निवासी छन् ।
शर्माको मनोनयन दर्ता प्रस्तावकमा करवीर शाही र समर्थकमा ठम्मर विष्ट तथा बिसीको मनोनयन दर्ता प्रस्तावकमा कर्णाली प्रदेशसभा सदस्य देवी वली र समर्थकमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया भण्डारी रहेको निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आचार्यले जानकारी दिए । सोही निर्वाचनका लागि नेपाली काँग्रेसबाट डिल्लीराम पाठक र गणेशकुमारी बस्नेतले मनोनयन दर्ता गरेका छन् । पाठकको मनोनयन दर्ता प्रस्तावकमा बराहताल गाउँपालिकाका उपाध्यक्ष शोभाकुमारी शर्मा र समर्थकमा पञ्चपुरी नगरपालिका सुर्खेतका प्रमुख उपेन्द्र थापा तथा बस्नेतको मनोनयन दर्ता प्रस्तावकमा कर्णाली प्रदेशसभा सदस्य यज्ञबहादुर बिसी र समर्थकमा गुर्भाकोट नगरपालिका सुर्खेतका प्रमुख हस्तबहादुर पुन रहेको निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ ।
दुवै पार्टीका उम्मेदवारले आआफ्नो जीत सुनिश्चित भएको घोषणा गरेका छन् । नेकपाका उम्मेदवार शर्माले देश, जनता र परिवर्तित व्यवस्था कार्यान्वयनका लागि उम्मेदवारी दिएको जनाउँदै जीत सुनिश्चित रहेको बताए । त्यस्तै नेत्री बिसीले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली जनता’को लक्ष्य पूरा गर्न र महिला तथा उत्पीडित वर्गको न्यायको खातिर आफूले उम्मेदवारी दिएको बताए ।
काँगे्रेसका उम्मेदवार पाठक र बस्नेत दुवैले सरकारको ‘मनपरीतन्त्र’का विरुद्ध आफूले उम्मेदवारी दिएको भन्दै आआफ्नो जीत सुनिश्चित रहेको जिकिर गरे । निर्वाचनका लागि कर्णाली प्रदेशका स्थानीय तहअन्तर्गत ५४ गाउँपालिकाका १०८ अध्यक्ष र उपाध्यक्ष, २५ नगरपालिकाका ५० प्रमुख र उपप्रमुख तथा ४० कर्णाली प्रदेशसभा सदस्य गरी जम्मा १९८ मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
डोटी– राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट नेकपा र काङ्ग्रेसका उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । आइतबार गरिएको उम्मेदवारी दर्तामा नेकपाका तर्फबाट अछामका तारामान स्वाँर र कैलालीकी शारदा भट्ट तथा काँग्रेसबाट कैलालीकै तुलसी देवकोटा तथा बैतडीका प्रताप ठगुन्नाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए । जिल्लामा रहेका अन्य दलले भने उम्मेदवारी दर्ता गराएनन् ।
राष्ट्रियसभामा रिक्त हुन लागेका कुल १८ सदस्य पदमध्ये सुदूरपश्चिम प्रदेशमा दुई सदस्यका लागि निर्वाचन हुन लागेको हो । सुदूरपश्चिमका प्रदेशसभा सदस्य ५३ र स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष १७६ गरी कुल २२९ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत काफ्लेले जानकारी दिए । राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट रिक्त दुई पदमध्ये एक महिला तथा एक पुरुष रहेको मुख्य निर्वाचन आयोगको कार्यालय सुदूरपश्चिम प्रदेश डोटीले जनाएको छ । निर्वाचन जिल्लाको पद्मपब्लिक मुक्तिनारायण माविमा हुने भएको छ ।
दुई मतदान केन्द्र रहेको निर्वाचनमा सोही स्थानमा ‘क’ र ‘ख’ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । राष्ट्रियसभा निर्वाचन गराउने कार्यतालिकानुसार आइतबार पुस २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन अधिकृतको कार्यालयले डोटीले जनाएको छ । दाङ–राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेश नम्बर नं ५ मा उम्मेदवारले आइतबार घोराहीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् । सोअनुसार नेकपा प्रदेश नम्बर ५ बाट अपाङ्ग तथा अल्पसङ्ख्यकबाट जगप्रसाद शर्मा (अपाङ्ग), महिलातर्फबाट विमला घिमिरे र अन्यबाट गोपाल भट्टराईले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।
त्यस्तै काँग्रेसबाट प्रदेश नम्बर ५ मा अपाङ्गता तथा अल्पसङ्ख्यकबाट मेराज हलवाई, महिलाबाट गिरिजा न्यौपाने र अन्यबाट बालकृष्ण पाण्डेले मनोनयन दर्ता गराउनुभएको हो । त्यसैगरी समाजवादी पार्टीबाट बाँकेका सुनिल सिघल र बर्दियाका कृष्णप्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै राष्ट्रिय जनमोर्चाबाट कपिलवस्तुका शिव पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।राष्ट्रियसभा सदस्यमा रिक्त हुन लागेका १८ सदस्यमध्ये प्रदेश नं ५ मा तीन पदका लागि निर्वाचन हुन लागेको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिए । प्रदेश ५ मा कुल ३०५ मतदाता छन् जसमा प्रदेशसभाका सदस्य ८७ तथा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जना छन् । मनोनयन दर्ता गराउन उम्मेदवारहरु आआफ्ना नेता तथा कार्यकर्तासँग मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।
पोखरा– गण्डकी प्रदेशमा काँग्रेसका सूर्यप्रसाद रेग्मी र विमला गौचनले आइतबार उम्मेदवारी दर्ता गराएका छन् । पार्टीका नेता तथा कार्यकर्तासहित पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगी उनहरूले उम्मेदवारी दर्ता गरेका हुन् ।
रेग्मीको उम्मेदवारीमा गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्लले प्रस्ताव गरेका छन् भने भीरकोट नगरपालिका स्याङ्जाका प्रमुख छायाराम पौडेलले समर्थन गरेका छन् । त्यस्तै गौचनको उम्मेदवारीमा जलजला गाउँपालिका पर्वतका उपाध्यक्ष सीमा गर्बुजा पुनले प्रस्ताव गरेका छन् भने भीरकोट नगरपालिकाका उपप्रमुख सीमा कर्माचार्यले समर्थन गरेका छन् । यसअघि नेकपाका तर्फबाट गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेले उम्मेदवारी दर्ता गरेका थिए । राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ९ गते हुँदैछ ।
जनसवाल दैनिक बाट


