
काठमाडौ । चिनमा देखिएको नोभेल कोरोना भाइरसको महामारीले अहिलेसम्म २५९ जनाको मृत्यु भएको छ ।
उक्त भाइरसको संक्रमणबाट चीनमा मात्र ११ हजार ७९१ संक्रमित भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । तर, अनुसन्धानकर्ताहरुले भने चीनमा ७५ हजारभन्दा बढी संक्रमित भएको बताएका छन् । विश्भर १२ हजारभन्दा बढी संक्रमित भएको सीएनएनले जनाएको छ ।
यसको संक्रमण विश्भरका २४ मुलुकमा फैलिएको छ । अमेरिकामा सातजनामा कोरोनाको संक्रमण भेटिएको छ भने बेलायतमा दुईजना, भारतमा एक, नेपालमा एक, अस्ट्रेलियामा ९, जापान १७, दक्षिण कोरिया ११, थाइल्याण्डमा १९ जनामा संक्रमण देखिएको छ । त्यसैगरी मलेसियामा ७, यूएईमा ४ जनामा नोभेल कोरोना भाइरसको संक्रमण देखिएको छ ।
विश्व स्वास्थ्य संगठनले शुक्रबारदेखि नै कोरोनाको संक्रमण तीव्ररुपमा फैलिन थालेपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । चीनका सबै भू–भागमा कोरोनाको संक्रमण फैलिसकेको जनाइएको छ ।
विभिन्न मुलुकले चीनबाट आउने पर्यटकमा अस्थाईरुपमा प्रतिबन्ध लगाएका छन् ।
सीएनएन


