
गद्य कविता
खुटी को टोपी र मेरो साथी
मेरो टोपी ले
मेरो टुप्पी छोपेन
उहिले देखी
अहिलेसम्म
उस्तै छ मेरो टोपी
घेरामात्र बाँचेको टोपी
अस्ति नै
पोहोर परारै
मेरो नाडी मा
रगतको बाढी उर्लने बेला
सुप्लाको तलुवा
केतुकेको तुना
रहरको चप्पल बन्थ्यो
उस्को र मेरो संयुक्त रचना
कागजी डुङ्गा जस्तै!
बन्माराको झाडीमा
तिलचौडे फूल जस्तै
गुन्द्रुके कपाल भरी
टलक्क टल्केका लिखा
कनपट्टी को छालामा
थुप्रीएको चाया
सुस्त
सुइखुट्टे
मेरो हितैषी
एकदिन
हात्ती छाप चप्पल चोरेर
हरायो
नामोनिशाना नदेखिने गरेर!
मलिन अनुहार
आज्ञाकारी सेवकको स्वाङ्ग बोकेर
अनुनय को बिलौना गाउदै
घर फर्केको
देखावटी सुदामा,
कारुणिकताको पंखा हम्किदै
मेरो झुप्रोमा बसेर
मेरो घेरामात्रको टोपी उचालेर
मेरो रित्तो ताप्केमा
व्यन्जन पस्किने
मिठा मिठा भजन गायो उस्ले
अलिअलि भएको सातु खायो उसैले
छर्नुसम्म छर्यो आँखामा छारो।
लाखौं घेरावालको टोपी बोकेर
सिंहासन को लचकता मा
थच्चिदा
उस्को आँखामा
सुवर्ण को पर्दाले छोप्यो
भिमको शक्ती उन्माद थपियो
दुर्योधनको र शकूनी को झेल झाङ्गियो
नयाँ टोपी ल्याउने वाचा गरेर
दरबार पुगेको मेरो मित्र
मेरो टोपीको घेरो लाइ
खुटीमा टांगेर
टिकट बेचेर प्रदर्शन गर्दै रहेछ
मेरो गरीबी को हाट बजार थापेर।
ढुंग्रो मा चिच्याउने ऊ
आज
परजीवी जुका बनेर
मेरो आन्द्रा चुस्दै छ
मेरो अधिकार को दुहाइ उराल्दै।
शम्भु गजुरेल
नुवाकोट


