
काठमाडौं – सेयर बजारको रौनक बुधबार पनि जारी छ । बढ्दोक्रममा रहेको नेप्से सूचकलाई दैनिक खरिदबिक्री रकमले मज्जाले साथ दिएको छ । सूचक र कारोबार रकम दुवैमा उत्साहजनक वृद्धि हुँदा लगानीकर्ताको आत्मबल पनि बढेको छ । उनीहरु भएभरको क्षमता प्रयोग गरेर सेयर बजारमा लगानी गर्न थालेका लगानीकर्तासँग प्रत्यक्ष रहने बस्ने ब्रोकरहरु बताउँछन् ।
यसअघि ४२ महिनासम्म लगभग लगातारजसो घटेको बजारबाट आजीत भएका आम लगानीकर्ताको मुहारमा खुशीयाली आउनुलाई स्वभाविक मानिएको छ । बजार सुधारका कार्यक्रम अघि बढ्नु अनि सेयर धितो कर्जा सजिलै पाइनुले लगानीकर्ताको आत्मबलमा सुधार आएको विश्लेषकहरु बताउँछन् ।
दैनिक खरिदबिक्री रकमले बजारमा अधिक चहलपहल बढाइदिएको छ । नेप्से सूचक विस्तारै माथि लागिरहँदा कारोबार रकममा नयाँ उमंग पैदा भएको हो । बुधबार यो समाचार अपडेट गर्दासम्म (करिब १ः३५ बजे) करिब २ अर्ब ८६ करोड रुपैयाँको सेयर कारोबार भइसकेको छ । नेप्से सूचकमा पनि ४० अंक आसपासले वृद्धि भइसकेको छ ।
यतिबेला नयाँ तथा पुराना दुवैथरीका लगानीकर्ता उत्साहित छन् । उनीहरुले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हिसाबले सञ्चय गर्ने हिसाबले समेत सेयर खरिद गरिरहेको फ्रन्टलाइनमा बसेर काम गर्ने ब्रोकरहरु बताउँछन् । खरिदबिक्रीमा निरन्तर तेजी आउन थाल्नु नै बुल रनको प्रस्ट आधार भएको अनुभवी लगानीकर्ताहरु बताउँछन् ।
सेयर बजार सुधारका कार्यक्रम अघि बढिरहेका छन् । नयाँ नियमहरु ल्याएर बजारको दायरा फराकिलो बनाउने काम भइरहेको छ । नागरिक लगानी कोषले सहायक कम्पनीमार्फत स्टक डिलरको काम थाल्दैछ । अन्य सुधारका थुप्रै कामहरु अघि बढिरहेका छन् । सूचीकृत कम्पनीहरुको नाफा पनि बढ्दो छ । बैंक ब्याजदर घट्दो क्रममा छ । यी तमाम पक्षहरुले सेयर बजारको आगामी दिनहरु सुखद् हुने प्रक्षेपण गर्न सकिन्छ ।


