
काठमाडौं । नेपाली बजारमा सुनले नयाँ रेकर्ड कायम भएको छ । मंगलबार नेपालमा हालसम्मकै सबैभन्दा महंगो मूल्यमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो सुनको हालसम्मकै सबैभन्दा उच्च मूल्य हो ।
आइतबार र सोमबार प्रतितोला ८२ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार प्रतितोला २ सय रुपैयाँ बढेर प्रतितोला ८२ हजार ७ सय रुपैयाँ पुगेको हो ।
त्यस्तै तेजाबी सुन पनि सोमबारको तुलनामा मंगलबार प्रतितोला २ सय रुपैयाँ बढेर प्रतितोला ८२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन आइतबार र सोमबार प्रतितोला ८२ हजार २ सयमा कारोबार भएको थियो ।
मंगलबार सुनको मूल्य बढेको भए पनि चाँदीको मूल्य भने घटेको छ । मंगलबार चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार र सोमबार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।


