
कुबेत । नेपाली कामदारका लागि गन्तब्य मुलुक रहेको खाडी मुलुक कुवेतले दुई साताका लागि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सम्पूर्ण व्यवसायिक उडान र अवतरण बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै कुवेतले दुई साताका लागि हवाइ उडान बन्द गर्नेसँगै देशमा कार्यरत कामदारहरूलाई समेत दुई साता बिदा दिने निर्णय पनि गरेको छ ।
कुबेत सरकारको यो निर्णयसँग कुबेत जाने नेपालीहरु प्रभावित हुने भएका छन् । कुबेतले हवाई प्रतिबन्ध लगाएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले रोजगार व्यवसायीहरुलाई जानकारी गराइएको बताए । हवाई प्रतिबन्धसँगै कुबेतमा रोजगारका लागि जान तयार कामदारहरु प्रभावित भएका छन् । अहिले कुबेतमा ७० हजार नेपाली कार्यरत छन् । कुवेतमा अहिलेसम्म नेपालीलाई कोरोना संक्रमण नभएको एनआरएनए आईसिसि सदस्य अमित चाम्लिङ्गले बताए । उनले सबै नेपालीलाई साबधानी हुन् आग्रह पनि गरे ।
बिहीबारदेखि सुरू भएको यो निर्णय मार्च २६ सम्मका लागि हुने उसले जनाएको छ । कुवेती सरकारका प्रवक्ताका अनुसार यो निर्णय कार्गो विमान र विदेशबाट उद्धार गरेर कुवेती नागरिक ल्याउने विमानको हकमा लागु नहुने जनाएको छ । योसँगै कुवेतले बजार, क्याफे तथा हेल्थ क्लबमा हुने जमघटमा समेत रोक लगाएको छ । कुवेतमा हालसम्म ७२ जनामा कोरना भाइरसको संक्रमण देखिएको छ ।
कतारमा २ सय ६२ जनामा भाइरसको संक्रमण भेटिएपछि कुवेत सरकारले सम्भावित जोखिमलाई रोक्न भन्दै यो कदम चालेको होे । यसैबीच खाद्यान्न अभाव हुन नदिनका लागि कुवेत सरकारले विभिन्न उपाय गर्ने सूचना पनि जारी गरेको छ । साथै कोरोना भाइरसका बारेमा आधारहिन हल्ला फैलाउनेलाई कानुनी कारबाही हुन सक्ने भएकाले यस्ता कार्यसमा संलग्न नहुन पनि अनुरोध गरिएको नेपाली राजदूतावास दूतावास कुबेतले जनाएको छ ।


