दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नङ नकाटी भत्ता बुझ्न आउनेलाई भत्ता नदिइने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ २९ गते, मंगलवार १३:३३

रोल्पा-पुसमा जिल्लालाई खुला दिसामुक्त घोषणा गरेपछि सुस्ताएको पूर्ण सरसफाइ अभियान स्थानीय तहमा जनप्रतिनिधि पाएसँगै पुनः सक्रिय देखिन थालेको छ ।अभियानलाई सार्थक तुल्याउन तथा तोकिएकै समयमा पूर्ण सरसफाइ उन्मुख बनाउन यहाँका जनप्रतिनिधिले विभिन्न सिर्जनशील अभ्याससमेत गर्न थालेका छन् । रोल्पाको सुकिदह गाउँपालिकाको एक वडाले सबै घर हरियो रंगले पोतेर देशकै पहिलो हरित वडा भएको दाबीसहित सार्वजनिक कार्यक्रममार्फत घोषणासमेत गरिसकेको छ भने उत्तरी रोल्पाको एक वडाले नङ नकाटेर भत्ता बुझ्न आउने सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता नदिने भएको छ ।

थवाङ गाउँपालिका–३, मिरुलले यस्तो अभियानको थालनी गरेको हो । पूर्ण सरसफाइ अभियानलाई टेवा पुर्याउने उद्देश्यले वडाले यस्तो अभियान चालेको बताएको छ । पूर्ण सरसफाइका लागि व्यक्तिगत सरसफाइ पहिलो खुड्किलो भएकाले सामाजिक सुरक्षा भत्ता बुझ्ने सरसफाइमा संवेदनशील होउन् भन्ने उद्देश्यले यस्तो कार्यको थालनी गरेका हौँ, वडाध्यक्ष भीमबहादुर रोकाले भने ।जनताको घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताउँदै नागरिकलाई समेत कर्तव्यप्रति जिम्मेवार बनाउन यस्तो अभियान थालेको रोकाले बताए ।

वडामा पूर्ण सरसफाइ अभियान चलिरहेको भएपनि पूर्ण सरसफाइसम्बन्धी व्यवहार परिवर्तनको अवस्था निकै कमजोर रहेकाले यस्तो कामको थालनी गरेको अध्यक्ष रोकाले बताए ।वडा कार्यालयमा सेवा लिन आउने सबै सेवाग्राहीलाई व्यक्तिगत सरसफाइका लागि उत्प्रेरित गरिरहेका छौँ, वडासचिव चन्द्रज्योति सुवेदीले भने । साबुन पानीले हात धुने, कपाल कोर्ने, नङ काट्ने, शुद्धीकरण गरिएको पानी मात्र प्रयोग गर्ने कुरामा सेवाग्राहीलाई उत्प्रेरित गर्दै आएको सुवेदीले जानकारी दिए ।

सन् २०२१ भित्र वडालाई पूर्ण सरसफाइ उन्मुख वडा बनाउने लक्ष्य लिएका कारण अहिलेदेखि नै व्यवहार परिवर्तनमा जोड दिइरहेको सुवेदीले जानकारी दिए । सन् २०२२ भित्र जिल्लालाई पूर्णसरसफाइ उन्मुख जिल्ला घोषणा गर्ने लक्ष्य निर्धारण गरिएकाले स्थानीय तहसमेत सक्रिय हुन थालेको जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय रोल्पाका सरसफाइ फोकल पर्सन डिल्लीराज न्यौपानेले बताए । १० स्थानीय तहमा ७२ वडा रहेको रोल्पामा हालसम्म एक वडा मात्रै पूर्ण सरसफाइ उन्मुख घोषणा भएको न्यौपानेले जानकारी दिए । अभियान सफल पार्न सबै स्थानीय तहले सक्रियता देखाएका कारण तोकिएकै समयमा जिल्ला पूर्णसरसफाइ उन्मुख हुनेमा आफू आशावादी रहेको न्यौपानेको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु