
देश पुन: एकपटक ब्यवस्था परिवर्तनको प्रयोगशाला बन्दैछ –
राणा शासन लाई ‘भारदारी शासन’ भनेर हटाईयो,
राजालाई ‘निरंकुश भनेर हटाईयो,
बहुदलीय प्रजातन्त्र’लाई पनि ‘केन्द्रीकृत’र ‘असमावेशी’भनेर पन्छाईयो ।
विगतका यी सबै कालमा सबै अवसर भारदारमा मात्र रह्यो,जनता निरीह रहे, सुखसुविधा र अवसरजति शासक र आसेपासेले मात्र हात पारे भनेर जनतालाई पुन: विद्रोहमा उतारियो ।
‘जनताकै शासन’ ल्याउन भन्दै आन्दोलनमा होमियो, आन्दोलन सफल पनि भयो “निरंकुश तन्त्र” चिहानमा पनि गयो ।
तर के हामीले जेका लागि भनेर विद्रोह गरेका थियौं त्यो उद्देश्य प्राप्त भएको छ त ?
प्राप्त गर्ने तर्फ अघि बढेका छौं त ?
समीक्षा गर्ने बेला भएको छ ।
दसक लामो ‘लोकतन्त्रको’ अनुभवले हामीलाई सही दिशातर्फ डोर्याएको अनुभूति हुँदैन ।
कम्युनिस्टको कम्युन र बिपिको समाजवाद व्यबहारमा देखिदैन।
यो कुरा जनताले व्योहोरेको मात्र होईन, स्वयम् शासकहरु मध्यबाट समेत प्रवाह भएको हो ।
अहिले राजनीतिमा दलगत र गुटगत प्रभाव तथा सुविधावादि प्रवृत्ति हावी हुँदै गएको सर्वबिदितै छ भनिरहनै पर्दैन।
राजनीतिक क्रान्ति सकियो अब आर्थिक क्रान्ति तर्फ अघि बढ्नुपर्छ भन्नेमा लगभग सबैको सहमति देखिन्छ, तर व्यवहारले त्यस्तो देखिदैन ।
भ्रष्टाचार धेरै भयो अब रोक्नुपर्छ भन्नेमा सबैको एकमत हुन्छ तर व्यबहारमा देखिदैन।
बेथिती बढ्यो थिती बसाल्नुपर्छ सबै एकमत तर ब्यबहारमा देखिदैन।
वैदेशिक हस्तक्षेप बढ्यो रोक्नुपर्छ सबैको मत मिल्छ तर ब्यबहारमा देखिदैन।
जनाक्रोश दिन दिनै बढ्दैछ सरकार र व्यवस्थाप्रति जनताका आशा जागृत गराउन सरकारको कार्यशैली र राजनीतिक दलहरूको सोचमा परिवर्तन हुन अत्यावश्यक छ ।
यस्तो हुन नसकेमा जनताको असन्तोष कुनै पनि रूपमा प्रकट हुन सक्छ।
यसैको एउटा उदाहरण हो सडकमा राजतन्त्रको नारा पनि।
अब पनि साशकहरु अबुझ ,अचेत र अटेर रहने हो भने फेरि ब्यवस्था परिवर्तनको नारा लाग्नेछ र देश पुन: एकपटक प्रयोगशाला बन्ने छ।
रामचन्द्र तिम्सिना
(आवाज)


