दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अपराधमा सजाय पाएर कारागारमा रहेका कैदीबन्दीले समयको सदुपयोगसँगै आम्दानीको स्रोतको बाटो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ कार्तिक २० गते, शनिबार ८:५७

रासस तनहुँ, २० कात्तिक । तनहुँ कारागारका कैदीबन्दी आम्दानीको स्रोततर्फ लागेका छन् । विभिन्न अपराधमा सजाय पाएर कारागारमा रहेका कैदीबन्दीले समयको सदुपयोगसँगै आम्दानीको स्रोतको बाटो अवलम्बन गरेका हुन् ।

कैदीबन्दीले कारागारभित्रै मुढा बुनेर आम्दानी गर्दै आएका छन् । कारागारमा बस्दा यत्तिकै जाने समयको सदुपयोग गर्दै उनीहरु मुढा बुन्न व्यस्त रहने गरेका छन् । मुढा बिक्री गरेर आम्दानी गरेको रकम कैदीबन्दीले घर पठाउने गरेका छन् ।

कारागारका कैदीबन्दीले सीपको सदुपयोग गर्दै मुढा बुन्ने काम गरिरहेको कैदीबन्दी सुनिल पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार कैदीबन्दीले मुढा बिक्री गरेर कमाएको रकम घरमा पठाउने गरेका छन् । “विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि कैदीबन्दीले मुढा बिक्री गरेर दसैँ–तिहारमा घर खर्च पठाएका छन्”, उहाँले भन्नुभयो, “कैदीबन्दी यतिबेला मुढा बुन्ने, टायर राख्ने, बिट मार्नेलगायतका काममा व्यस्त छन् ।”

कारागारमा मुढा बुन्ने कामले मन बहलाउनुका साथै आम्दानीको स्रोत पनि भएको पराजुलीले बताए । उनले भने, “कारागारमा यत्तिकै बसिरह्यो भने पागलजस्तो भइन्छ । मुढा बुन्ने कामले चाहिँ दिन काट्ने वातावरण बनेको छ ।”

कैदीबन्दीका अनुसार एउटा मुढा तयार गर्नका लागि दुई÷तीन दिन लाग्छ । कारागारमा रहेका कैदीबन्दीले दसैँ–तिहारमा बढी मात्रामा मुढा बुन्ने गरेका छन् । दसैँ–तिहारमा मुढाको बढी माग हुने भएकाले चाडपर्वको बेला कैदीबन्दीलाई मुढा बुन्न भ्याइनभ्याई हुने गरेको छ । मुढा उठाउने, टायर राख्ने, बुन्ने, बिट मार्ने र बुट्टा भर्ने काम फरक–फरक व्यक्तिले गर्ने गरेका छन् । यसरी काम गर्दा एक जनाले मासिक रु पाँचदेखि छ हजारसम्म कमाई गर्ने गरेका छन् ।

चाडपर्व सुरु भएसँगै कैदीबन्दीलाई मुढा बनाउन भ्याइनभ्याई छ । कैदीबन्दीले बुनेका मुढा गुणस्तरीय र आकर्षक भएकाले बजारमा माग रहेको कारागारले जनाएको छ । एउटा मुढा रु २५० देखि रु ६०० सम्म बिक्री हुने गरेको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिए।

कारागारमा रहेका कैदीबन्दीलाई सीपको सदुपयोग गरी मुढा बुन्न प्रेरित गर्दै आयआर्जन गर्ने वातावरण सिर्जना गरिएको अधिकारीले बताए । “विभिन्न अपराधमा सजाय पाएर कारागारमा आएका कैदीबन्दी मुढा बिक्री गरी आयआर्जनको बाटोमा लागेका छन्”, अधिकारीले भने । जिल्ला कारागार तनहुँमा हाल २८२ जना कैदीबन्दी रहेका छन् । त्यसमध्ये आधाभन्दा बढीले कारागारमा मुढा बुन्ने गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु