
काठमाडौं । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षका युवा नेता पुष्पकुमार शाहीले महाधिवेशनमा देउवाले ६ सय ५७ मतको अन्तरले सभापतिमा जित्ने वालुवाटारमा हिसावकिताव भइसकेको दाबी गरेका छन् ।
ओमकार टेलिभिजनको बुधबारको अन्तरवार्तामूलक कार्यक्रम ‘ओमकार विशेष’ मा पत्रकार गंगा बरालसँग कुरा गर्दै उनले कसैले पनि देउवालाई हराउन नसक्ने ठोकुवा गरे । ‘देउवाले जित्ने निश्चित छ, हामीले पटक पटक हिसाव गरेर यो तथ्यांक निकालेका हौं, यसमा केही तलमाथि होला तर लगभग यही हो ’ उनले भने ‘देउवा कच्चा खेलाडी होइनन्, ढुक्क हुनुहोस् फेरि पनि देउवा नै सभापति भएको देख्न पाउनुहुने छ ।’ शाहीले देउवाको नेतृत्वमा पार्टीले पुनर्जिवन पाएको पनि बताएका छन् । उनले देउवाले पार्टी बिगारे भनेर गलत प्रचार गर्नेलाई यो कार्यकालको समीक्षा गर्नसमेत अनुरोध गरेका छन् । उनले देउवाले ५७ प्रतिशत मत ल्याउने र पहिलो चरणमा नै सभापति हुने र दोस्रो चरणमा मतदान गर्नु नपर्ने पनि बताए ।
उनले सभापतिमा हारिन्छ भन्ने निश्चित भएपछि अर्को पक्षले अझै पनि सभापतिको उम्मेदवार छान्न नसकेको बताए । ‘केही दिन अघिसम्म सबै सभापतिमा उठ्छु भन्दै आएका थिए अहिले आएर सबै उठ्न डराए’ उनले भने ‘अर्को पक्षमा सभापतिको उम्मेदवार भइदेउ न भन्ने बेला आएको छ ।’

शाहीले पार्टीको आगामी महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने भएका छन् ।
उनले आफू सुदूरपश्चिम प्रदेशबाट उम्मेदवार बन्न लागेको जानकारी दिए । डोटीबाट महाधिवेशन प्रतिनिधिमा अत्याधिक मत ल्याएर जितेका उनले पार्टीमा युवाको खाँचो रहेको बताए । पार्टीको केन्द्रीय समितिमा युवाहरुको सहभागिता भए पार्टी मजबुत हुने उनको तर्क छ । झन्डै ३० बर्ष अघिदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेका उनी नेपाल विद्यार्थी सघंका निवर्तमान केन्द्रीय उपाध्यक्ष पनि हुन् । उनले पार्टीको विभिन्न पदमा रही काम गरिसकेका छन् । राजनीतिसँगै समाजसेवामा पनि सक्रिय उनले सुदूरपश्चिम प्रदेशको सभापतिमा उठ्ने घोषणा गरेका थिए । नेपाली कांग्रेसको यो महाधिवेशन यही शुक्रबारदेखि सोमबारसम्म काठमाडौँमा हुँदै छ ।
https://fb.watch/9NdDPd9_ep/


