
शम्भु गजुरेल नुवाकोट
यो देशको एकता
छन्द -शार्दूलविक्रीडित
छाती पर्वत हो हिमाल शिर हो मेची र काली नसा
पानी रक्त तथा पहाड तनको हो हाड छाला सफा
सीता गौतम नेत्र हुन् हृदय हो प्यारो तराई तथा
पृथ्वीको उपदेशमा छ कसिलो यो राष्ट्रको एकता।।१।।
शेर्पा,बाहुन वा चमार र मियाँ, तामाङ, शुक्लाहरू
साटासाट खुशी गरेर सँगमा उन्मुक्त हाँस्नेहरू
झुर्मा, डम्फु बजाउँदै अतिथिको चल्ने मिठो स्वागत
मुर्चुङ्गा, मुरली, धिमे र डफली हो राष्ट्रको एकता।।२।।
धोती,बख्खु,घलेक, हाकु, पटुका, दौरा र टोपी, गुन्यु
रातो चन्दन वा गुराँस तुलसी श्रीखण्ड बोझो उन्यू
माघी क्रिस्मसमा तिहार छठमा नाच्छन् युवा देशका
भाषा धर्म बिचारमा विविधता हो देशको एकता।३।।
सेनाले पहरा दिने कृषकले उब्जाउने अन्नज
व्यापारी धनको उपार्जन दिने विद्या दिने दिग्गज
रोगीको उपचार वैद्य जनले गर्छन् विना धृष्टता
आस्थाको जगमा रहन्छ बलियो यो देशको एकता।।४।।
रातो चन्द्र र सूर्य अंकित ध्वजा नेपालको शान हो
गौरीशंकर वा इलाम मिथिला नाम्चे धुरी मान हो
सेवा भाव र प्रेममा विनयले धोएर संकीर्णता
चोखो न्याय समानता मनुजमा हो देशको एकता।।५।।
मेरो देश
महाधिराज देशका समस्त राष्ट्रका पिता
विभक्त सुक्ष्म राज्यको गरे अखण्ड संहिता
युवा र वृद्ध देहमा भरेर भक्ति मार्मिक
समस्त राज्य एक होस् भनी बनाए सैनिक।।१।।
बिशे महान नै थियो दियो अमूल्य योजना
प्रजा सबै समेटिए बिचार योगदानमा
विशाल राज्यको ध्वजा तयार गर्न थालियो
भुपाल पुत्र गर्जिए र पुण्य देश जन्मियो।।२।।
छ चन्द्र सूर्य माथमा र खड्ग शूल काँधमा
सु सभ्य सैन्य देशको सदैव बस्छ साँधमा
निमग्न शान्त स्वप्नमा रमून् भनेर बान्धव
सुदूर गाउँ गाउँमा घुलेर बस्छ सैनिक।।३।।
कतै हिमाल पग्लिँदा पहाड दग्ध भैदिँदा
असंख्य ज्याँनमालमा कराल मार बर्षिँदा
डुबेर गाउँ तड्पिदा निराश नेत्र छल्किँदा
डटेर मृत्यु दूरमा दपेट्छ सैन्य सर्वदा।।४।।
अनेक जात धर्मले छ भव्य वाग पुष्पको
मिलेर गोड्नु वाग यो सुवास बढ्छ शान्तिको
समस्त मौसमी कला समेट्छ हास्छ यो धरा
त्रिलाेक पूज्य शैलको सिरान यो वसुन्धरा।।५।।


