
प्रल्हाद दाहाल -निवर्तमान सचीव (नेशनल प्याब्सन)
अब यो देशमा सत्यको हार भएकै हो त ? बेथिति मौलाएकै हो त ? नेतृत्वमा बस्ने मान्छेको आँखा बन्द भएकै हो त ? यो देशको कसैलाई माया नभएकै हो त ? यो देश जे भए पनि कसैलाई मतलब नभएकै हो त ? आज आएर हेर्दा यि सबै कुरा सत्य सावित भएका छन् । यहाँ कसैलाई को बिग्रोस, को सप्रोससँग कुनै मतलब छैन । यहाँ त खाली शक्तिमा हुने मान्छेले आफ्नो स्वार्थमा जे जे मन लाग्छ त्यहि त्यहि गरे हुने भएकोछ । सारा सबै कुरा खुल्ला, लाखौंको भिड हुने कार्यक्रम गर्दा केहि नहुने अनि सबै मापदण्ड अपनाइ विद्यालय खोल्न किन नहुने ? के घरमा विद्यार्थी सुरक्षित छन् त ? प्रत्येक घरका आम मानिस कतै नगइ सबै घरमै छन् त? सबै अभिभावकको घरमा खेल्ने अनि बालबालिका सुरक्षित रहने वातावरण छ त ? यि यावत कुराको कुनै ठोस अध्ययन नै नगरि हचुवाको भरमा विद्यालय बन्द गरेर अनावश्यक रुपमा भविष्यका कर्णधार बालबालिकाको पुरा जिन्दगी नै बर्बाद हुँदा पनि कसैको ध्यान त्यसतर्फ जान सकेन । साँच्चै भन्ने नै हो भने घरभन्दा पनि सुरक्षित र विद्यार्थी विद्यालयमै हुने थिए। विद्यालयमा नियमित एकै किसिममा मान्छेको उपस्थिति रहने र दिनदिनै चेक हुने हुँदा त्यस्तो असुरक्षा हुदैनथ्यो । तर त्यो कुराको कुनै वास्तै नगरि अनावश्यक विद्यालय बन्द गरियो। आज दुई वर्षदेखि राम्रोसँग पढ्न नपाई कक्षा अपग्रेड हुँदा त्यसको असर अब केहि वर्षको नतिजामा विस्तार आउन थाल्छ । के त्यसको असर हाम्रै देशमा देखिने होइन र ? आम नेतृत्वमा बस्ने मान्छेको ध्यान किन यस्तो कुरामा जान नसकेको हो ?
“कुनै देशलाई पछाडि धकेल्नु छ र बर्बाद पार्नु छ भने त्यो देशको शिक्षा क्षेत्रलाई ध्वस्त पार्नु” भन्ने भनाईसँग अहिलेको यो अवस्था मेल खान्छ । साँच्चै हुन पनि हाम्रो देशमा त्यस्तै खालको काम भइरहेको छ । जताततै सारा भीडभाड हुन हुने अनि सबै कुरा खुल्ला गरेर विद्यालय मात्र बन्द गरेर संक्रमण दर कसरी कम हुन्छ ? अहिले आम मानिसले बुझ्न नसकेको कुरा पनि यहि हो । अब अहिले त प्रायः ठाउँमा विद्यार्थीले खोप पनि लगासकेका छन् । बरु जहाँ जहाँ खोप लगाउन बाँकी छ त्यहाँ त्यहाँ खोपको वयवस्था गरि विद्यालय सकभर चाँडोभन्दा चाँडो खोल्न लाग्नु कहाँ हो कहाँ उल्टो विद्यालय बन्द गर्ने समय चाँहि लम्याएर सरकारले के गर्न खोजेको हो ? अब केका लागि किन विद्यालय मात्र बन्द गर्ने हो ? आम सरोकारवाला निकायले गम्भीर भएर सोच्ने समय आएको छ। यसरी विद्यालय मात्र बन्द गरेर कुनै पनि हालतमा यो कोभिड नियन्त्रण हुन सक्दैन । यसका लागि सरकारले अन्य उपायहरु खोजी गरि सबै स्थानमा खोपको व्यवस्था गर्नतिर लाग्नु पर्ने हुन्छ ।
विद्यालय तहको शिक्षा हेर्ने सबै जिम्मा र अधिकार स्थानीय तहको हो भन्ने कुरा सारा छर्लङ्ग छ अनि फेरि त्यहि अधिकार स्थानीय तहले अवलम्बन गर्दा त्यसो नगर्न भनेर जिल्ला प्रशासनले निर्देशन दिन्छ । यो के हो ? यदि कुनै अधिकार अरुलाई दिन मिल्दैन भने किन दिएको ? अनि फेरि अधिकार दिएपछि उसले प्रयोग गर्दा किन पुनः खोसिन्छ ? सबै स्थानमा त कोभिड पनि त छैन । अनि यो सबै स्थानमा एकै पटक हुने पनि त होइन । अनि फेरि किन पुरै देशैभर अनावश्यक रुपमा विद्यालय बन्द गर्नु पर्यो ? यसबाट कहाँ कति नोक्सान पुगेको छ भन्ने कुरा सरकारसँग लेखाजोखा छ? यहाँ कति जना विद्यालय संचालकले आत्महत्या गरे , कतिजना घर न घाटको भएका छन् , कति जना अनावश्यक झनझटमा फसेका छन् । कयौंजना पेशाबाटै पलायन भएर अन्यत्र जान बाध्य छन् । फेरि यो पेशा अन्य पेशा जस्तो उत्तिकै छोडेर हिंड्न् पनि मिल्दैन । अनि कति दिन घाटा सहेर अनावश्यक तनावमा बस्ने ? यहाँ घाटा हुँदा ब्यक्ति हुने अनि नाफा हुँदा बिना लगानीको पाटर्नर जस्तो सरकारलाई कर तिर्नुपर्ने कुराले आम जनता आजित भएका छन् । यो कहिलेसम्म हो ? किन यस्तो गरिन्छ ? सरकार भनेको अभिभावक हो । कुन कुन क्षेत्रमा असर पुगेको छ ? कति कति घाटा भएको छ ? त्यसको तथ्यांक संकलन गरेर सरकारले सक्दो सहयोग गर्नु पर्नेमा उल्टो अनावश्यक बन्द गरेर दु:ख दिएकाले विशेष गरि निजि विद्यालय संचालक सरकारसँग आजित भएका छन् । आशा छ अब अनावश्यक रुपमा यसरी विद्यालय बन्द नगरि आवश्यक सुरक्षा अपनाउन लगाई विद्यालय संचालन गर्ने कुरामा ढिला गरिने छैन ।


