
२०७८ फागुन ३ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानले आजीवन सदस्य तथा वरिष्ठ साहित्य साधक डा. तारानाथ शर्माप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको छ । प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य वरिष्ठ साहित्य साधक कीर्तिशेष शर्माप्रति प्रज्ञा–प्रतिष्ठानले भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको हो । कुलपति गङ्गाप्रसाद उप्रेतीले बागमती नदी किनारको भस्मेश्वरघाटमा कीर्तिशेष शर्माको पार्थिव शरीरमा पुष्पमाला तथा पुष्पगुच्छा अर्पण गरी भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । श्रद्धाञ्जलि अर्पणपछि बोल्दै कुलपति उप्रेतीले नेपाली वाङ्मयका यशस्वी साधक डा. शर्माको निधनले राष्ट्रलाई अपूरणीय क्षति भएको बताउनुभयो ।
कीर्तिशेष डा. शर्माका भतिज तथा नेपाल सरकारका पूर्व सचिव दीेपेन्द्रनाथ शर्माले भण्डारी कुलका गौरव डा. शर्माको निधनले भण्डारी कुल अत्यन्त दुःखी भएको बताउनुभयो । उहाँले अथक साधक शर्माले राष्ट्रको वाङ्मयका क्षेत्रमा अतुलनीय योगदान दिएको स्मरण गर्नुभयो ।
कीर्तिशेष शर्माको पार्थिव शरीरमा प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णुविभु घिमिरे, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद् सदस्यहरू प्रा. दिनशेराज पन्त, प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. हेमनाथ पौडेल, माया ठकुरी, प्रा.डा. गोपीन्द्र पौडेलका साथै प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।
नेपाली भाषामा झर्रोवादी आन्दोलनका अगुवा तथा आत्मपरक नियात्रा लेखनका अत्यन्त लोकप्रिय वाङ्मय साधक डा. शर्माको ८७ वर्षको उमेरमा आज फागुन ३ गते मङ्गलबार बिहान ८ः२० बजे चाबहिल, सरस्वतीनगरस्थित आफ्नै निवासमा मष्तिष्कघातका कारण निधन भएको थियो ।
कीर्तिशेष डा. शर्माको निधनको शोकमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आजै शोक विज्ञप्ति प्रकाशित गरेको छ ।


