दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भगवान् पशुपतिनाथ विराजमान पाशुपत क्षेत्रमा आगामी मङ्गलबार हुने महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते, आईतवार १६:४२

काठमाडौं । भगवान् पशुपतिनाथ विराजमान पाशुपत क्षेत्रमा आगामी मङ्गलबार हुने महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको छ ।

पशुपति क्षेत्र विकास कोषले आज यहाँ पत्रकार सम्मेलन गरेर पर्वलाई व्यवस्थित ढङ्गले सुसम्पन्न गर्न सुरक्षा व्यवस्था, दर्शन, चन्दन, मन्दिर रात्रिकालीन व्यवस्था, आवास, भोजन, साधुसन्त सत्कार तथा धार्मिक कार्यक्रम, सरसफाइ, जुत्ताचप्पल व्यवस्थापन, स्वास्थ्य सेवा व्यवस्था तथा स्वयंसेवक परिचालनका सम्पूर्ण काम पूरा भएको जनाएको हो ।

कोषका कोषाध्यक्ष एवं प्रचारप्रसार व्यवस्था उपसमितिका संयोजक नारायणप्रसाद सुवेदीले कोभिड–१९ सङ्क्रमणको जोखिम अन्त्य नभइसकेकाले सरकारले निर्धारण गरेका सुरक्षा मापदण्डको पूर्ण पालना गरेर दर्शनार्थीहरुलाई मेला भर्न अनुरोध गर्नुभयो ।

गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणमूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ भने मित्रपार्क–जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरी हुँदै पश्चिमबाट, बत्तिसपुतली–गौशाला–एयरपोर्ट–पिङ्गलास्थान भएर सुमार्गी भवन हुँदै चार शिवालयबाट पशुपतिभित्र प्रवेश गर्न पाइनेछ ।

मङ्गलबारका दिन महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकावासीलाई पशुपति क्षेत्रको यात्रामा वैकल्पिक मार्ग प्रयोग गरी सवारीसाधन सञ्चालन गर्न अनुरोध गर्दै मालवाहक सवारीसाधन, बस, माइक्रोबस तथा ट्याम्पोलगायत सवारीसाधनलाई सिफलचौर, जोरपाटी, चाबहिल र सिनामङ्गलभन्दा अगाडि सञ्चालनमा रोक लागाइएको जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो ।

राष्ट्रपति भण्डारीद्वारा महाशिवरात्रिमा साधुसन्तलाई दिने सामग्री सङ्कल्प
राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आउने साधुसन्तलाई वितरण गरिने सामग्रीको सङ्कल्प गर्नुभएको छ ।

शीतल निवासमा आज बिहान १०ः३० बजेको साइतमा महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आएका साधुसन्तलाई बिदाइका दिन वितरण गरिने राडी, पाखी, बख्खु, कमण्डलु, च्यादर, फलफूल र सिदासहितको सामग्री उहाँले विधिपूर्वक सङ्कल्प गर्नुभएको हो । सङ्कल्प गरिएको सामग्री प्रतिष्ठित साधुसन्तलाई प्रदान गरिने गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख सुशीला शर्मा घिमिरेले राससलाई जानकारी दिनुभयो ।

प्रत्येक वर्ष फागुन कृष्ण एकादशीका दिन यी सामग्री सङ्कल्प गर्ने विधि छ । यी सामग्री फागुन कृष्ण औँसीका दिन साधुसन्तको बिदाइका बेला दिइन्छ । फागुन कृष्ण त्रयोदशीको रात्रिमा महाशिवरात्रि पर्व मनाइन्छ । यसवर्ष महाशिवरात्रि पर्व फागुन १७ गते मङ्गलबार परेको छ ।

राष्ट्राध्यक्षबाट साधुसन्तलाई दिइने सामग्रीको सङ्कल्पपछि आज बिहानदेखि नै पशुपति क्षेत्र र थापाथली, त्रिपुरेश्वर क्षेत्रका अखडामा भण्डारा सुरु गरिएको छ । पशुपतिनाथ मूल मन्दिरभित्र बस्ने नागाबाबालाई भने आज बेलुकीदेखि नै खानपिन र धुनीको व्यवस्था गरिने संस्थान पशुपति कार्यालय प्रमुख घिमिरेले जानकारी दिनुभयो ।

यस वर्ष कोरोना जोखिम कम हुँदै गएको र धेरैले तेस्रो चरणसम्मको खोप लगाएकाले पनि देशविदेशबाट आउने साधुसन्तको सङ्ख्या बढेको छ । यस वर्ष बिदाइका दिन साधुसन्तलाई सम्मानका साथै अन्तक्र्रिया कार्यक्रम पनि गर्न लागिएको संस्थानले जनाएको छ । त्यसका लागि साधुसन्तको गणनासमेत सुरु गरिएको जनाइएको छ । पशुपति क्षेत्रमा आजदेखि साधुसन्तलगायत अन्य आगन्तुकको विशेष भीड देखिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु