दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

निजामती कर्मचारी संगठन के हो र यसले के गर्छ भन्ने जनतालाई बुझाउँछौं – अध्यक्ष कोइराला

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र २ गते, बुधबार १७:१७

काठमाडौं । नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनका नवनिर्वाचित अध्यक्ष लेखनाथ कोइरालाले सरकार पक्षले आफूले हार्ने डरले आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्न नचाहेको आरोप लगाएका छन् । उनले पार्टीमा केही समस्या देखिए पनि आफूहरुलाई कुनै असर नपरेकाले जहिले पनि आधिकारिक ट्रेड युनियनको निर्वाचनको सामना गर्न संगठन तयार भएको बताए ।
‘आधिकारिक ट्रेड युनियनको म्याद सकिएको छ, सक्छ भनें सरकारले निर्वाचन गरोस्, हामी सानदार जीत हासिल गर्ने छौं’ उनले भने ‘ हामीले जित्छौं भनेर नै होला सरकार निर्वाचन गर्न डराएको छ ।’ उनले पहिलोपटक भएको निर्वाचनमा पनि अरु संघ संगठनको सबै मत जोड्दा पनि संगठनले बढी मत ल्याएको पनि स्पष्ट पारे । उनले संगठन छोडेका केही साथीहरु पनि पछि फर्केर आउने बताए । आधिकारिकको निर्वाचन ४ वर्षको लागि २०७३ जेष्ठ १९ गते भएको थियो । उनले अधिवेशनको क्रममा आफू धेरै जिल्ला पुगेकोले त्यहाँको अवस्थाको बारेमा जानकार भएकाले निर्वाचनमा जान आतुर रहेको पनि जनाए । उनले ‘क्षतिपूर्तिसहितको नागरिक सेवा’ को बारेमा आफूहरुले पटक पटक कुरा उठाए पनि सरकारले कार्यान्वयन गर्न चासो नदेखाएको आरोप लगाएका छन् । उनले कुनै पनि कर्मचारीले काम नगरेबापत सेवाग्राहीलाई कुनै घाटा भए र काम गराउन बसेबापत खर्च भए त्यसबापत सेवाग्राहीलाई क्षतिपूर्ति दिने व्यवस्था यो सेवामा रहने उल्लेख गरे । उनले ट्रेड युनियन अधिकारबारे सबै प्रदेशमा गएर कार्यक्रम गर्ने पनि स्पष्ट पारेका छन् ।
फाल्गुण २८ गतेदेखि ३ दिनसम्म भएको ११ औं राष्ट्रिय अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्ष चुनिएका उनले ट्रेड युनियन अधिकारबारे अझै पनि कताकता अनेक भ्रम रहेकाले त्यसबारे सातैवटा प्रदेश र अन्य निकायमा पुगेर यसबारे स्पष्ट पार्ने बताएका हुन् । ‘ट्रेड युनियन अधिकार के हो ? सुशासन के हो ? जनप्रतिनिधि र उच्च प्रशासकसँगको सम्बन्ध कस्तो हुनुपर्छ भन्नेमा देशव्यापी रुपमा अभियान नै चलाउँछौं’ उनले भने ‘ यो अधिवेशनबाट नीतिगत रुपमा निजामती कर्मचारी संगठन कस्तो हुनुपर्ने, यसले के गर्ने र भावी रणनीति कस्तो हुने हो भन्ने स्पष्ट भएको छ ।’ उनले जिल्ला र विभागीय कार्यसमितिमा पनि नेतृत्व सर्वसम्मत आएकाले एउटा राम्रो सुरुवात भएको बताए । उनले बाँकी रहेका अधिवेशन पनि सर्वसम्मत हुने दाबी गरे । अध्यक्ष कोइरालाले योग्य भएर पनि नेतृत्वमा आउन छुटेकालाई कामको मूल्यांकन गर्दै उपयुक्त जिम्मेवारी दिने पनि बताए । कोइराला निवर्तमान वरिष्ट उपाध्यक्ष हुन् । नेकपा एमालेका केन्द्रीय सदस्य, पेशागत महासंघ नेपालका संयोजक एवै इन्चार्ज बाबुराम थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
भक्तपुरमा अधिवेशनले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कोइरालाले संस्थालाई आगामी दिनमा कसरी अघि बढाउने भन्ने खाका पनि प्रस्तुत गरे । संगठनका नवनिर्वाचित महासचिव जीवन काफ्लेले संस्थाको तर्फबाट भावी योजना र कार्यदिशा पढेर सुनाएका थिए । पत्रकारको जवाफ दिँदै अध्यक्ष कोइरालाले आफूहरुले जनताको पक्षमा गरेका राम्रा कामको चर्चा कम हुने गरेको भन्दै कर्मचारीप्रति नकारात्मक धारणा बढेकोमा चिन्ता पनि गरे । उनले यो संगठन कर्मचारीको सबैभन्दा जेठो संगठन भएकाले नागरिकको सेवालाई प्रमुख मुद्या बनाउँदै आएको बताए । संगठनको स्थापना २०४७ साल वैशाख ७ गते भएको थियो । उनले झण्डै ४० हजार निमाजती कर्मचारी संगठनमा आबद्ध हुनु संगठनको लागि गौरवको विषय भएको जनाए । ‘संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान–राजनीतिक अधिकारसहितको ट्रेड युनियन, हाम्रो अभियान’ भन्ने नाराका साथ सम्पन्न महाधिवेशनले कोइरालाको अध्यक्षतामा ३ वर्षको लागि १ सय ५१ जनाको केन्द्रीय समिति गठन गरेको छ । कार्यक्रममा अधिवेशन सम्मन्न गर्न सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मानस्वरुप प्रशंसापत्र प्रदान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु