
बागमती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले मंगलबार रेफ्रीलाई बल हस्तान्तरण गरेर महिला फुटबल प्रतियोगिताको उद्घाटन गरेका छन् । आठ टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंले काभ्रेलाई ५–० गोलले हरायो । काठमाडौंकी मनिता थापा मगरले ह्याट्रीक पूरा गरिन् भने पूजा बोहोरा र सुस्मिता आचार्यले समान एक–एक गोल थपे । बुधवार सिन्धुली र काभ्रेपलाञ्चोक तथा मकवानपुर र रामेछापबीच खेल हुनेछ । खेल धुलिखेल फुटबल मैदानमा भइरहेको छ ।


