
काठमाडौं । अघिल्लो दिन ४०.६८ अङ्कले बढेको नेप्से परिसूचक आज बिहीबार पुनः दोहोरो अङ्कले घटेको छ ।
आज २३.९५ अङ्कले घटेर नेप्से परिसूचक २ हजार ५४४ दशमलव ३० विन्दुमा रोकिएको छ । आज कारोबारमा आएका २२८ ओटा धितोपत्रको ३७ लाख ८७ हजार ४५ कित्ता शेयर ३७ हजार ४२९ पटक खरीदविक्री हुँदा १ अर्ब ८९ करोड १ लाख ६४ हजार ६८६ रुपैयाँ ४० पैसा बराबरको शेयर कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन २ अर्ब २५ करोड १ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । उक्त दिन नेप्से पसिूचक ४०.६८ अङ्कले बढेर २ हजार ५६८ दशमलव २५ विन्दुमा रोकिएको थियो ।
आज नेप्सेसहित सेन्सेटिभ इन्डेक्स ०.९६ प्रतिशत, फ्लोट इन्डेक्स १.०९ प्रतिशत तथा सेन्सेटिभ फ्लोट इन्डेक्स १.३१ प्रतिशतले घटेको छ । त्यस्तै ब्यापार बाहेक सबै उपसूचकहरू पनि राताम्य बनेका छन् । आज व्यापार उपसूचक ०.७५ प्रतिशतले वृद्धि भएको छ ।
अधिकांश सूचक तथा उपसूचकहरू ऋणत्मक बन्दा पनि आज इमर्जिङ नेपाल लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो लघुवित्तको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार आज इमर्जिङ नेपालको सेयमूल्यमा १० प्रतिशतले वृद्धि भई प्रतिकित्ता १ हजार २२४ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ ।
त्यस्तै राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ९.९९ प्रतिशतले वृद्धि क्रमशः १ हजार ३१९ रुपैयाँ ५० पैसा र १ हजार ५५ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ ।


