
नुवाकोट ।समाजमा हुने कुरिती विरुद्ध वुलन्द आवाज उठाउने स्पष्ट विचारका पक्षधर सामाजिक कार्यकर्ता , प्रगतिशील साहित्यकार शम्भु प्रसाद गजुरेलले स्थानीय निर्वाचनमा बेलकोटगढी नगरपालिकाको मेयरको पदको लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।पञ्चायत विरुद्धको आन्दोलनबाट राजनैतिक परिवर्तनका लागि सदैव लागिपर्नु हुने गजुरेल एमालेको जन्मदेखी मृत्यु र पुनर्जन्म सम्म पनि एमाले नै भनेर परिचयपत्र बोकेर हिड्नुभयो! गत निर्वाचनमा स्थानीय निकायमा अत्यधिक बहुमतको एमाले सरकार बेलकोटगढी नगरपालिकामा स्थापित गराउन आफ्नो जिम्मामा परेको कामलाई इमानदारी पूर्वक निर्वहन गर्नुभएका उहाले यो पाँच बर्षे कार्यकाल को जनप्रतिनिधिको क्रियाकलापमा देखिएको दम्भ गैर राजनैतिक चरित्र र सत्तामा एकलौटी हालिमुहाली गर्ने प्रवृति बाट उद्देलित कार्यको आलोचना गर्दा स्वतन्त्र नागरिकले नगरपालिकाबाट प्राप्त गर्ने अधिकार लाई समेत छेकबार लगाएको प्रती समेत आलोचना गर्दै स्वतन्त्र र जनपक्षीय काम गर्न लगानीकर्ताको होइन सामाजिक कार्यकर्ता को खाचो भएकोले आफूले स्वतन्त्र उम्मेदवारी दिन लागेको जनाउनु भएको छ।
शिक्षामा अधिकतम लगानी गरि शिक्षकको सुविधा र दक्षतामा सुधार गरेर मात्रै भविस्यको आधार निर्माण गर्न सकिन्छ,
स्थानीय स्तरमा बीउ उत्पादन र कृषि उपजलाइ न्युनतम समर्थन मूल्य निर्धारण गरेर मात्रै किसान को आय वृद्धि गर्न सकिन्छ,
प्लास्टिक को छाना र केराको बिरुवा बेचेर कृषकको उत्थान हुँदैन त्यसको लागि निस्चित कार्यदिशा हुनुपर्छ भन्दै समग्र नगरलाई वास्तविक उन्नति तर्फ लैजान मेयरको उम्मेदवार बन्ने उहाँको भनाइ छ।
शम्भु प्रसाद गजुरेल ज्यू को अपिल जस्ताको तस्तै:
अपिल
“हाम्रो राजस्वको प्रयोग हाम्रो लागि हामिद्वारा”
गाँस, वास, कपास, शिक्षा स्वास्थ्य अभिव्यक्ति स्वतन्त्रता को निमित्त प्रजातान्त्रिक शासन प्रणाली अवलम्बन गरिएको हो , प्रजातन्त्रमा आवधिक निर्वाचन एउटा मुलभुत प्रक्रिया हो।निर्वाचनबाट चुनिएका प्रतिनिधिले जे प्रयोग गरेर निर्वाचित भएका हुन्छन् त्यही प्राप्त गर्नु नै उसको मुख्य लक्ष्य हुन्छ, करोडौं खर्छ गरेर निर्वाचनमा जाने उम्मेदवार लाई त्यो खर्छ गर्ने रकम कताबाट आउँछ हामिले सोचेका छौँ ?
मासु, रक्सी, चुरोट र आश्वासनको भुलभुलैयामा फसेर हाम्रो अमूल्य मत दिदै आएका हामी जनता वास्तविक मतदाता बन्नु जरुरी छ। विगतलाइ समिक्षा गरेर हेर्ने हो भने हामी छर्लङ्ग हुन सक्छौ कि हाम्रो मत लिएर गएका जनप्रतिनिधिले साढे ४ बर्ष सम्म नश्लिय टिप्पणी गरेर मतदातालाइ जात र भेगमा विभाजन गर्दै एउटा सिमित भजन मण्डलीको भक्तिगानमा झुम्दै बस्यो , केही चेलाहरूका नवीनतम पट्टाहरूमा कल्भर्टहरू हालिदियो र सवाकरोड पास अनि सवा मात्र लगानी जस्तो उच्चस्तरीय निर्माण कार्य गर्यो, कार्यकालको
अधिकतम समयमा अधिनायकवादी चरित्र देखाएको स्थानीय सरकारको मुखियाको कार्यको स्वरूप जनसेवा परिलक्षित कुनै दृष्टिकोणबाट पाउन सकिन्न।
राजनीतिको नाममा व्यापार गरेर मुनाफा कमाउन आएका चरित्रहरूलाइ किन र के का लागि मतदान गर्ने भनेर बिचार गर्नुपर्ने बेला भएन र?
निर्वाचनको नजिकै आएपछी आलोचकहरूका तर्फबाट आएका जायज र कानुनी प्रक्रिया अनुरूपका कामका फाइल लाई रोकेर राख्दै राजस्वको रकमलाइ पैत्रिक सम्पत्ति झैँ अनुभुत गरेर विभिन्न बहानामा वितरण गर्ने नग्न दृश्यलाई एक आँखा चिम्लेर हेर्नू के उचित हो र?
भक्तिको चोंगा फुकालेर निर्वस्त्र शरीर भएको मान्छे बनेर सोचौं त के तपाइँको निर्णय उचित हुँदै छ त?
अब पनि आवाज उठाउदा मेरो भाग फुस्किन्छ भनेर एक चौटाको पर्खाइमा बलेसी कुरेर उभिने बानी त्यागेनौं भने हाम्रो मानवीय चेतनामा प्रश्न उठ्न जान्छ।
सोचौं कुकृत्यको भण्डाफोर गर्दै यो निर्वाचनमा वास्तविक जनप्रतिनिधि चुन्ने प्रयत्न गरौँ ।
सनक को भरमा जनताको कामलाइ लत्याउने नव सामन्ती सोच बोकेका ठेकेदार र विचौलियालाइ प्रतिनिधि चुनेर पठाउदा प्रधानमन्त्री का १०० सल्लाहकार नियुक्त गरेर राजस्व लुटे जस्तै दर्जनौं सहयोगी नियुक्त गरेर महाराज शैलीको अमन चयन मा रहने जनप्रतिनिधि किन? के हाम्रो चाहना सिंहदरबारको काम गाउँमा होस् भन्ने थियो कि गाउँमा नारायणहिटि आएर रनिबास निर्माण गरोस् भन्ने थियो??
उन्माद र अहंकारको विरुद्ध मेरो उम्मेदवारी हो यहाँहरू सँग सहयोगको अपिल गर्दछु।


