
काठमाडौं –श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको मलेशिया भ्रमण फलदायी भएको श्रम मन्त्रालयले जनाएको छ । नेपाली प्रतिनिधिमण्डलले यही वैशाख १४ गतेदेखि पाँचदिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेको थियो ।
भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डलले मलेशियाका मानव संशाधन मन्त्री दातुक सेरी एम सराभनन र गृहमन्त्री हम्जाह बिन जैनुदिनसँग द्विपक्षीय भेटवार्ता गरी नेपाली नागरिकलाई मलेशियामा थप रोजगारीका अवसर प्रदान गर्ने र त्यहाँ कार्यरत नेपालीको सेवा सुविधा वृद्धि गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
द्विपक्षीय भेटवार्ताका क्रममा दुई देशबीच सन् २०१८ मा भएको श्रम समझदारीको प्रभावकारी कार्यान्वयन, मलेशियाको श्रम बजारको आवश्यकताबमोजिम नेपाली युवालाई सीपयुक्त बनाई थप रोजगारीका अवसर प्रदान गर्ने तथा रोजगारीका लागि युवाको छनोट तथा नियुक्तिलाई शून्य लागतसहितको स्वच्छ नियुक्तिको सिद्धान्तलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।
मलेशियामा रोजगारीमा रहेका नेपाली नागरिकको स्वास्थ्य, सामाजिक सुरक्षा र सामाजिक कल्याणलाई थप सबलीकरण गर्ने, मलेशियामा रोजगारी गरिरहेका नेपाली नागरिकलाई २४ घण्टा प्रभावकारी हुने बीमा सुविधाको व्यवस्था गर्ने र श्रम समझदारीअनुसार नेपालले आयोजना गर्नुपर्ने द्विपक्षीय संयुक्त कार्यसमितिको बैठक आगामी जुन महिनाभित्र गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ ।
नेपाली प्रतिनिधिण्डलले मलेशियामा सुरक्षागार्डका रूपमा कार्यरत नेपाली श्रमिकले पारिश्रमिक बढाएर तीन हजार रिङ्गेट पु¥याउन आग्रह गरेको थियो । संयुक्त कार्यदलको तेस्रो बैठकबाट नेपाली नागरिकलाई मलेशियाका सुरक्षा क्षेत्रमा रोजगारी दिन विशेष व्यवस्था मिलाउन सिफारिस गर्ने, नेपाली श्रमिकको स्वास्थ्योपचारमा विशेष ध्यान दिन, सामाजिक सुरक्षालगायत सुविधाहरुको उपलब्ध गराउन नेपाली टोलीले आग्रह गरेको मन्त्रालयले जनाएको छ ।
यस्तो रह्यो भ्रमण कार्यक्रम
मिति २०७९ बैशाख गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठको नेतृत्वमा सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल र उपसचिव डा. थानेश्वर भुसाल सम्मिलित प्रतिनिधिमण्डलले मिति २०७९ बैशाख १४ देखिको पाँचदिने म्स्लेसिया भ्रमण सम्पन्न गरेको छ । सो भ्रमणको क्रममा मलेसियाका मानव संसाधन मन्त्री दातुक सेरी एम. सराभनन र गृह मन्त्री हम्जाह बिन जैनुदिनसँग द्विपक्षीय वैठक गरी देहायका विषयहरुमा छलफल गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।
१. माननीय मानव संशाधन मन्त्रीसँगको उच्चस्तरीय बैठक
क) बैठकमा नेपाल र मलेसियावीच सन २०१८ मा हस्ताक्षर भई हाल कार्यान्वयनमा रहेको द्विपक्षीय समझदारीपत्रलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।
ख) मलेसियाको श्रमबजारको आवश्यकता बमोजिम नेपाली युवाहरुलाई सीपयुक्त बनाई थप रोजगारीका अवसरहरु प्रदान गर्ने ।
ग) रोजगारीको लागि युवाहरुको छनौट तथा नियुक्तिलाई शुन्य लागत (Zero Cost) सहितको स्वच्छ नियुक्तिको सिद्धान्तलाई थप प्रभावकारी बनाउने ।
घ) मलेसियामा रोजगारीमा रहेका नेपाली नागरिकहरुको स्वास्थ्य, सामाजिक सुरक्षा र सामाजिक कल्याणलाई थप सवलीकरण गर्ने ।
ङ) मलेसियमा रोजगारी गरिरहेका नेपाली नागरिकलाई चौबिसै घण्टा प्रभावकारी हुने बीमा सुविधाको व्यवस्था गर्ने ।
च) नेपाली श्रमिकहरुलाई आफ्ना अधिकार र आफुले पालना गर्नुपर्ने शर्तहरुको विषयमा मलेसिया प्रवेश गर्नुअघि नै सचेतनामूलक तालिम प्रदान गर्ने ।
छ) नेपाल-मलेसिया श्रम समझदारीपत्र अनुसार नेपालले आयोजना गर्नुपर्ने द्विपक्षीय संयुक्त कार्यसमितिको बैठक आगामी जुन महिनाभित्र गर्ने ।
२. मलेसियाका गृह मन्त्रीसँगको उच्चस्तरीय बैठक
क) मलेसियामा सुरक्षागार्डको रुपमा कार्यरत नेपालीहरुले देखाएको उच्च तहको अनुशासनप्रति माननीय
गृहमन्त्रीले प्रशंसा गर्नुभयो । सो अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले नेपाली सुरक्षागार्डहरुले पाइरहेको सेवा सुविधा कम भएकोले कम्तिमा ३०००/- मलेसियन रिङ्गेट बनाइदिन आग्रह गर्नुभयो ।
ख) मलेसियामा आवश्यक पर्ने सुरक्षागार्डमा नेपालीहरुलाई नेपालमा नै सीपयुक्त तालिम प्रदान गर्ने ।
ग) नेपाल र मलेसियाबीच आगामी जुन महिनाभित्र गरिने संयुक्त कार्यदलको तेस्रो बैठकबाट नेपाली नागरिकलाई मलेसियाका सुरक्षा क्षेत्रमा रोजगारी दिन विशेष व्यवस्था मिलाउन सिफारिस गर्ने ।
घ) स्वास्थ्य उपचारमा विशेष ध्यान दिन, सामाजिक सुरक्षा र कल्याणका क्षेत्र लगायतका सुविधाहरुको प्रवर्द्धन गराउने ।
३. सामाजिक सुरक्षा संगठनका महासचिवसँगको बैठक
क) मलेसियाको सामाजिक सुरक्षा प्रणालीमा बढी भन्दा बढी नेपाली कामदारलाई आवद्ध गराउन कामदारका लागि सचेतनामूलक र रोजगारदाताहरुको लागि जानकारीमूलक कार्यक्रमहरु सञ्चालन गर्ने ।
ख) नेपाली कामदारहरुले कार्यस्थलमा दूर्घटना हुँदा मात्र सामाजिक सुरक्षा संगठनको कार्यदायरामा आउने प्रावधानमा परिमार्जन गरी श्रम इजाजत (Work Permit) कायम रहेको जुनसुकै समयमा हुने भवितव्यलाई समावेश गर्ने ।
ग) नेपालको सामाजिक सुरक्षा कोष र मलेसियाको सामाजिक सुरक्षा संगठनबीच के कस्तो कार्यगत सम्बन्ध स्थापना गर्न सकिन्छ भन्ने सन्दर्भमा अध्ययन गरी आगामी संयुक्त कार्समितिको बैठकमा पेश गर्ने ।
घ) नेपालको वैदेशिक रोजगार बोर्ड र मलेसियाको सामाजिक सुरक्षा संगठनबीच तथ्याङ्क आदानप्रदान गर्न वैदेशिक रोजगार विभागले सञ्चालन गरेको Foreign Employment Information Management System (FEIMS) सँग तादत्म्यता कायम गर्ने ।
उच्चस्तरीय भ्रमणदलले नेपाली राजदूतावास क्वालालम्पुरको निरीक्षण गरी राजदूतावासबाट हुने सेवा प्रवाहको सम्बन्धमा जानकारी लियो । राजदूतावासकै पहलमा नेपाली समुदायसँग समेत छुट्टै छलफल गरी विदेशमा रहेका सम्पूर्ण नेपालीहरुको सामाजिक सुरक्षालाई सुनिश्चित गर्नको लागि नेपाली श्रमिकहरुको श्रम स्वीकृति नवीकरण गर्ने प्रक्रियालाई तत्काल थप सरलीकरण गर्ने जानकारी गराउनु भयो । श्रममन्त्रीको प्रतिनिधिमण्डलले नेपाली राजदूतावासको भवन निर्माण गर्नको लागि खरिद गरिएको जग्गाको अवलोकन समेत गरे ।
माननीय मन्त्रीबाट मलेसियामा कृयाशिल गैरआवासीय नेपाली संघको कार्यालयमा पुगी संघका पदाधिकारीहरुसँग मलेसियामा रहेका नेपाली नागरिकहरुको रोजगार तथा व्यवसायसँग सम्बन्धित विषयमा छलफल गर्नुभयो ।
भ्रमण दलका सदस्यहरुले मलेसियाको पेनाङमा पुगी त्यहाँ रहेका नेपाली समुदायसँग छलफल गर्नुभयो । सो क्रममा पेनाङमा रहेका रोजगारदाता कम्पनीहरुको स्थलगत भ्रमण गरी नेपालीहरुले पाएका सेवासुविधा र गुनासोहरुको बारेमा जानकारी लिइयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय श्री कृष्णकुमार श्रेष्ठज्यूले आमन्त्रण गर्नुभए अनुसार मलेसियाका मानव संसाधन मन्त्रीज्यूले छिटै नै नेपाल भ्रमण गर्नुहुने भएको छ।समग्रमा माननीय मन्त्रीज्यूको नेतृत्वमा भएको मलेसिया भ्रमण नेपाली नागरिकलाई मलेसियमा थप रोजगारीका अवसरहरु प्राप्त गर्न र त्यहाँ कार्यरत नेपालीहरुको रोजगारीसँग सम्बन्धित हित अभिवृद्धि गर्ने सन्दर्भमा अत्यन्त फलदायी रह्यो ।


