
काठमाडौँ, २३ बैशाख । नेपाली काँग्रेसको तर्फबाट टोखा नगरपालिका वडा नं ९ को अध्यक्षका उम्मेद्धार राजन प्रजापतिले आफ्नो वडाका सबै स्थानमा सिसि क्यामरा जडान गर्ने घोषणा गर्नुभएको छ ।
बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिका वडा नं ९ को उम्मेद्धार बन्नुभएका प्रजापतिले नयाँ बसपार्क आसपासको टोखा क्षेत्रमा सिसि क्यामरा जडान गर्ने घोषणा गर्नुभएको हो ।
उहाँले आफु अध्यक्ष भएमा वडाबासीलाई सुलभ स्वास्थ्य उपचारका लागि आधुनिक स्तरको ल्याबसहित सहरी स्वास्थ्य चौकी स्थापना गर्ने, नियमित रुपमा स्वच्छ खानेपानीको व्यवस्था, नगरसँग समन्वय गरेर नगरस्तरिय अस्पताल निर्माण, टोलस्तरिय स्वास्थ्य परामर्श केन्द्र स्थापना गर्ने बताउनुभएको छ ।
यस्तै, अपाङ्गमैत्री सार्वजनिक शौचालय, घरघरमा गएर सुत्केरीको स्वास्थ्य परिक्षण, बालग्राम पार्कको निर्माण, योग ध्यान केन्द्र स्थापना, ज्येष्ठ नागरिकलाई भत्ता वितरणमा सहज बनाउने, नियमित फोहोरमैला व्यवस्थापन, कुचिकारको व्यवस्था गर्ने घोषणा गर्नुभएको छ ।
प्रजापतिले युवाहरुलाई खेलप्रति आकर्षण गर्न विभिन्न किसिमका खेलकुद आयोजना सञ्चालन गर्ने, सार्वजनिक पुस्तकालय निर्माण, एम्बुलेन्स, दमकलको सहज सुविधा प्रदान, विपद् व्यवस्थापन केन्द्रको स्थापना गर्ने योजना अगाडि सार्नुभएको छ ।
यसैगरी, वडाभित्र डुवानको समस्या समाधान गर्ने, धार्मिक मठ मन्दिरको संरक्षण गर्ने, नयाँ बसपार्क क्षेत्र अन्तर्गत टोखा वडा नं ९ का पेशा, व्यवसायी, स्थानीय एवम् विद्धत वर्गसँग नियमित अन्तक्र्रिया गरी समस्या पहिचान गर्दै समाधानतर्फ ध्यान दिने उहाँको प्रतिवद्धतापत्रमा उल्लेख छ ।
विस २०३३ सालमा जन्मनुभएका राजन नेपाली काँग्रेस टोखा नगरपालिका वडा नं ९ का सभापति हुनुहुन्छ । लामो समयदेखि गोँगबु क्षेत्रको सामाजिक काममा सक्रिय उहाँ मनोहरतीर्थ व्यवस्थापन समितिको अध्यक्ष भएर काम गर्नुभएको छ ।
गोँगबु क्षेत्रको सम्पदा संरक्षणमा लामो समयदेखि अभियान्ताका रुपमा लाग्नुभएका उहाँले गोँगबु क्षेत्रमा डिपबोरिङ खनेर ४० घरलाई खानेपानी उपलब्ध गराउनुभएको छ । गोँगबु युवा क्लबको अध्यक्षका रुपमा समेत काम गर्नुभएका प्रजापतिले विष्णुमति क्षेत्रको मुहार फेर्नका लागि विष्णुमति खोलाको किनारामा वृक्षारोपणसमेत गर्नुभएको छ ।
उहाँसँगै सदस्यमा मचाकाजी महर्जन र गोविन्द खरेल, महिला सदस्यमा चोला तिमल्सिना (चन्दा) र दलित महिला सदस्यमा अमृता भुजेलले उम्मेद्धारी दिनुभएको छ । गोँगबुको नयाँ बसपार्कसँग जोडिएको टोखाको उक्त वडामा दुई हजार ९०० मतदाता रहेका छन् ।


