
जंगल मासेर निजगढमा विमानस्थल नबनाउन इपनको चेतावनी’
काठमाडौं, २४ बैशाख । नेपाल पर्यावरण संरक्षण तथा सम्वद्र्धन संघले विकल्पहरु हुँदाहुँदै बाराको निजगढमा रुखहरु मासेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको भन्दै आपत्ति जनाएको छ । संघले जंगल मासेर विमानस्थल बनाउन नपाईने आफ्नो अडान अघि सारेको छ। पानीको मुहान सुक्ने, हात्तीको वासस्थान र अरू प्रकृति विनाश गर्न नहुने पनि संघको धारणा छ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले यस्तो धारणा अघि सारेको हो । संघको तर्फबाट अध्यक्ष सुदर्शन प्रधानले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘हवाई मैदानजस्तो दुरगामी महत्व राख्ने स्थलको छनौट गर्ने माथि निजगढको जंगल, खोटपूणर् र शंकास्पद रह्यो किनकी चितवनको शुक्रनगर-नयाँगाउँ सेरोफेरोको हजारौं हेक्टरमा एउटा सालको रुख पनि छैन तर निजगढमा ७००३ हेक्टर वनक्षेत्रमा सालका रुखवृक्ष, लाथ्रा, पोल, बल्लाबल्ली जम्मा ८ करोड ६८ लाख १५ हजार ३३५ वटा छन् । जसको बजार मूल्य ६०० अर्ब (६ खर्ब) भन्दा माथि हुन्छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा के अन्तर छ ? जहाँ बाघ, गैंडा, जंगली हात्ती, चितुवा, हरिण, मृगलगायत ३७ स्तनधारी प्रजाति, ४९० पंक्षीहरु, सरिसृप र भ्यागुता १५ जाति, उभयचर ३ प्रजाति र माछा १८ प्रजातिका लगायत अरु सयौं प्रकारका प्रकृतिका सन्तानहरु छन् ।’
उनले निजगढको ८ हजार हेक्टर जंगल फाँडेर विमानस्थल बनाउँदा त्यहाँको जमुनी, अडुवा, तिथरी, काँटघाट नदीहरु,थलनी, बडकी पैनी र जोकाहा खोलाहरुको मुहान भएकोले पानीका स्रोतहरु पूणर् रुपले सुक्ने बताए । उनले भने,‘यसले बाराको ५ गाउँपालिका (देवताल, सुवणर्, करैयामाई, आदर्श केटवाल र बारागढी) र चार नगरपालिका (कोल्वी, पचरौता, महागढीमाई, सिम्रौनगढ र कलैयाँ उपमहानगरपालिकाका झण्डै ५ लाख ५० हजार जनताको खानेपानी र सिँचाईमा गम्भीर दुष्प्रभाव पार्नेछ । साथै, रौतहट जिल्लाका लाखौं जनतालाई पनि गम्भीर असर पर्नेछ।’
प्रधानले काठ तस्करहरुका चंगुलमा परेर राज्यको नेतृत्व गर्नेहरुहरुले मनोमानी गरेर विमान कुनै गम्भीर अध्ययन-अनुशन्धान निजगढको जंगल फाँड्न निणर्य गर्ने, आदेश दिनेजस्तो आत्मघाती कदम चालिरहेको आरोप लगाए । उनले भने,‘तिनलाई तुरुन्त रोक्नुपर्छ । र, वनजंगल पनि बच्ने र हवाई मैदान पनि बन्ने कदम चाल्नु पर्छ ।’ उनले राज्यले आफूहरुले अघि सारेका मागप्रति गम्भीरता नदेखाए र जबरजस्ती रुपमा जंगल मासेर विमानस्थल बनाउन खोजे त्यसको विरुद्धमा सशक्त रुपमा आन्दोलनमा उत्रिने चेतावनी पनि दिए ।
कार्यक्रममा पूर्व प्रमुख संरक्षण अधिकृत तथा पर्यावरणविद् बाबुराम यादवले निजगढ विमानस्थलको विकल्प रहेको सुनाए । निजगढमा विमानस्थल बनाउने नाममा अहिले पनि झण्डै ७ हजार हेक्टर जमिनमा चारै दिशाको (४२ किलोमिटर) मा तारबार लगाएको र घेरिएको ठाउँमा पनि (झण्डै ५ किलोमिटर) मा तारबार लगाएर वन्यजन्तुमाथि अमानवीय व्यवहार गरिएको यादवले वस्तुस्थिति सुनाए ।
यादवले भने,‘निजगढ हवाई मैदानको विकल्प सिमरा विमानस्थललाई विस्तार गरेर बनाउन सकिन्छ, जुन १२ सय हेक्टरमा रहन्छ । अर्को विकल्प भनेको सर्लाहीको मूर्तियामा ३४ सय हेक्टरमा निर्माण गर्न सकिन्छ ।’ यादवले सिमरा र सर्लाहीको मूर्तियामा विमानस्थल निर्माण गर्दा लागत पनि न्यून लाग्ने दाबी गरे । उनले भने,‘सिमरा र मूर्तियामा विमानस्थल बनाईयो भने लागत कम लाग्नुको साथै यसले जंगल पनि सखाप पार्दैन्, कुनै पानीका मुहानहरु पनि सुक्दैनन् र जनता दुष्प्रभावित बन्दैनन् ।’
यादवले लण्डनको हिथ्रो हवाई मैदान १२२७ हेक्टरमा बनेको, सिंगापुरको चाङी हवाईमैदान १३०० हेक्टरमा र दुवईको अन्तर्राष्ट्रिय हवाई मैदान १२५० हेक्टरमा बनेको उल्लेख गर्दै भने-‘यी विमानस्थलहरुले क्रमशः यात्रुहरु ८ करोड, ६.५६ करोड र ८.९१ करोडलाई सेवा पुर्याईरहेछन् । जबकी काठमाडौंको त्रिभुवन विमानस्थलले वार्षिक ७१ लख हवाई यात्रुहरुलाई सेवा दिईरहेछ । प्रस्तावित निजगढको हवाई मैदानले जम्मा ७२ लाखलाई सेवा दिने लक्ष्य बनाईएको छ ।’
त्यस्तै, ३७ वर्षसम्म विमान चलाएका क्याप्टेन युवराज भट्टराईले विमानस्थल बनाउनु भनेको संवेदनशील विषय भएको उल्लेख गर्दै विमानस्थल बनाउनुपुर्व सबै कोणबाट हेर्नुपर्ने र विशेषगरि पर्यावरणीय अवस्थाको लेखाजोखा गर्नुपर्नेमा जोड दिए । उनले निजगढमा विमानस्थल बनाउने नाममा जंगल सखाप पार्ने काम गर्न नहुने पनि तर्क गरे । उनले निजगढमा विमानस्थल बनाउनुभन्दा पनि यसको विकल्प खोज्न सरकारलाई सुझाव दिए ।
कार्यक्रममा पर्यावरणविद् सुरेन्द्र ढकालले नेपालका हिमालहरु संकटमा परेको र आगामी दिनमा पनि यसको अझै क्षति हुने उल्लेख गर्दै नेपाल पर्यावरणको हिसाबले दिनप्रतिदिन कमजोर अवस्थामा पुगेको चिन्ता व्यक्त गरे । यसबाट मुक्त गराउनको लागि पनि सबै सरोकारवालाहरुले वनजंगलको संरक्षण गर्नुपर्नेमा उनको जोड थियो । उनले पनि निजगढमा जंगल मासेर विमानस्थल बनाउन नहुने तर्क गरे । उनले विमानस्थल बनाउने नाममा जंगल मासेर त्यहाँका वन्यु जीवजन्तु र पन्छीहरुको वासस्थान सखाप पार्नु भनेको अहिलेको मानव पुस्ताको नै विनाश गर्नुसरह हुने चिन्ता व्यक्त गरे । उनले राज्यले पर्यावरणीय क्षतिको बारेमा गम्भीर हुनुपर्ने र निजगढ विमानस्थल बनाउनको लागि ठाउँको विकल्प खोज्नुपर्ने सुझाव दिए ।


