
मतदान केन्द्रभित्र फोटो खिच्न नपाइने, आयोगबाट अनुमति पाएका व्यक्तिमात्र मतदानस्थलमा जान पाउने
काठमाडौं(जस)–निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा अन्य सक्कली सरकारी कागजपत्रका आधारमा मतदान गर्न सकिने निर्णय गरेको छ ।
आयोगले बुधबार गरेको निर्णयानुसार मतदानका लागि मतदाता नामावलीमा नाम हुनु अनिवार्य छ भने मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गा धनी प्रमाण पुर्जाको सक्कल प्रमाण हुनु आवश्यक हुने गरी मतदान गर्न दिन सबै निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ ।
यस्तै मतदानका लागि मत केन्द्रमा जाँदा विभिन्न कुरामा ध्यान दिन निर्वाचन आयोगले आग्रह गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै स्थानीय तह निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले विभिन्न व्यवस्था गरेको जनाएको छ । मतदाता उम्मेदवार र आयोगबाट अनुमति पाएका व्यक्तिमात्र मतदानस्थलमा जान पाउने निर्वाचन आयोगले जनाएको छ ।
मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नावालक एवम् दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था रहेको आयोगले जनाएको छ । तर मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भएता पनि मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न दिन नहुने आयोगले जारी गरेको सूचनामा जनाइएको छ ।
त्यस्तै मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएको मतदाता वा अन्य कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोवाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हात हतियार, नमूना मतपत्र लगायतका कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनिने कुनै वस्तु लैजान नपाइने आयोगले जनाएको छ । नियमको उल्लंघन भएमा कानुन बमोजिम कारबाही हुने आयोगको सूचनामा जनाइएको छ ।
के भयो भने मत बदर हुन्छ ?
वैशाख ३० गते देशभर स्थानीत तह निर्वाचन हुँदैछ । सहि तरिकाले मतदान नगरे मत बदर हुन्छ । यसकारण मतदान गर्दा केही कुरामा ध्यानदिन जरुरी छ । निर्वाचन आयोगका अनुसार सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको मतपत्र बदर हुन्छ । यस्तै, औंठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्न बाहेक अन्य चिह्न वा छाप लगाई मत संकेत गरिएको मतपत्र बदर हुन्छ । मत संकेत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको छ भने पनि त्यस्तो मत बदर हुनेगर्छ ।
उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत संकेत नगरी अन्यत्र मत संकेत गरे र उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मत संकेत गरे पनि मत बदर हुने आयोगले जनाएको छ । कुनैपनि उम्मेदवारको निर्वाचन चिह्नमा मत संकेत नगरेमा मत बदर हुनेछ । निर्वाचित गर्नुपर्ने संख्याभन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टाछुट्टै मत संकेत गरेमा पनि मत बदर हुनेछ । आयोगका अनुसार मत संकेत नगरी मतदान अधिकृतलाई फिर्ता दिएमा, आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरेमा, मतपेटिका भन्दा बाहिर राखिएमा र जाली मतपत्रको प्रयोग गरेमा मत बदर हुनेछ ।
महासंघको आग्रह
निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले निजी क्षेत्रका उद्योग÷प्रतिष्ठानमा काम गर्ने श्रमिक÷कर्मचारीलाई मतदानमा सहभागी हुने व्यवस्था मिलाउन आग्रह गरेको छ । महासङ्घले बुधबार एक वक्तव्य जारी गर्दै उक्त आग्रह गरेको हो । शुक्रबार देशभर एकैसाथ स्थानीय तह सदस्य निर्वाचन हुँदैछ । निर्वाचनका दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।


