
मलेसिया –दुई दशकअघि श्रमिका रूपमा मलेसिया आएका भोजपुर नेपाले–डाँडाका विनोद थापा अहिले मलेसियामा जमेका व्यवसायीमा गनिन्छन । मनमा इच्छाशक्ति र कडा मेहनत गरेपछि असम्भव के छ र भन्ने उदाहरणका रूपमा विनोदलाई हेर्न सकिन्छ । एकजना आफन्तको भरमा क्याम्पस पढ्नका लागि नेपालेडाँडादेखि काठमाडौंसम्म पुगेको बताउँछन उनी । त्यो बेला विनोदका लागि काठमाडौं पनि उत्तिकै बिरानो थियो । तरपनि आफन्तले क्याम्पस भर्ना गरिदिए । अनि एउटा मारवाडीको पसलमा काम गर्न थाले । विनोदलाई ती मारबाढीले महिनाको १५ सय रूपैयाँ पारिश्रमिक दिन्थे । सुरू–सुरूमा एक्लै थिए, उनी । खाना–बस्न र पढ्न पुगेकै थियो । लगतै विनोदले भाइलाई पनि पढ्नका लागी काठमाडौं ल्याए । अनि पैसाको अभाव हुन थाल्यो ।
एकजनाको कमाईले दुई भाइको गुजारा चल्नै छाड्यो । सोच–विचार गरेर बढी तलव पाइने रोजगारीको खोजीमा निस्के, विनोद । त्यो बेला भर्खरै मलेसिया रोजगारीमा जाने लहर चलेको उनले सुईको पाए । उनी मलेसिया पठाउने मेनपावर कम्पनीको खोजीमा निस्ने । अन्ततः ८० हजार रूपैयाँ तिरेर पुकार इन्टरनेसनल नामक मेनपावर कम्पनीबाट मलेसिया उडे । परिश्रमले नै मानिसलाई सफल बनाउछु भन्ने विनोदको दिमागमै सेट भइसकेको थियो । समान्य श्रमिकका रूपमा मलेसिया आएका उनले केही समय कठिनाइ भोगे । तरपनि उनी आत्तिएनन । कडा मेहनत गर्दै गए ।
विनोदको इमान्दारीता र कामप्रतिको लगाव देखेर उनका हाकिमहरू दंग पर्थे । उनको भिषा र्शीषक परिर्वतन गरेर दर्जा बढ्दै गयो । विभिन्न सामानहरू विदेश निर्यात गर्ने कम्पनीमा काम गर्थे, उनी । हुँदा–हुँदा पछि म्यानेजर नै बने । लगतै उनलाई कम्पनीले पत्याएर जापान पठायो । जापानमा पनि विनोदले उत्तिकै क्षमता प्रदर्शन गरे । त्यहाँदेखि साहुजन झन् खुशी भए । उनको बोली बिक्न थाल्यो । थापालाई झन्–झन् विश्वास गर्न थाले । उनलाई अब आफै केही गरौँ भन्ने सोच आयो । अनि साहुसँग सल्लाह गरेर आफै गर्छु भनी बताए । साहुले पनि हाँसीखुसी अनुमति दिए ।
विनोदले मलेसियाकै स्थानीयसँग मिलेर सुरक्षा गार्ड सप्लाई गर्ने एजेन्सी चलाउन थाले । कुनै बेला सामान्य श्रमिक भएर मलेसिया छिरेका उनले अहिले दैनिक सयौं श्रमिकलाई मलेसियामा काममा लगाउँछन । उनीहरू नेपाललगायत विभिन्न मुलुकका श्रमिकहरू हुन । श्रमिकका पीडा बुझेका विनोदको श्रमिकप्रतिको माया र ममता उत्तिकै छ । श्रमिक भएकै कारण आफ्नो व्यवसाय चलेको भन्दै उनले श्रमिकलाई सुरक्षित राख्नु आफ्नो धर्म ठान्छन ।
जनसवाल राष्ट्रिय दैनिकसँगको भेटमा विनोदले मुसुक्क हाँस्दै भने, ‘नेपाले–डाँडाबाट काठमाडौं छिरेको हुँ । भाइ–बहिनी पढाउन र परिवारको खर्च धान्न मुस्किल भएर मलेसिया आएको हुँ । अहिले लाखौँ त नभनौँ हजारौँको परिवार पाल्दै आएको छु ।’ कडा परिश्रम र आत्मबल बढाएर चुनौती पूरा गर्न सके एकदिन सफलता प्राप्त गरिछाड्ने उनको विश्वास छ । ‘उबेला गाँउमा क्याम्पस थिएन । आफन्तको सहयोगमा काठमाडौं आए । कोटेश्वर क्याम्पसमा भर्ना भए । पढ्दै गर्दा रोजगारी थाले । पुराना दिनहरू सम्झिँदा पीडा महसुस हुन्छ,’ विनोदले बिगत सम्झिँदै भने ।
उनी व्यवसायी मात्रै होइनन् । अर्को परिचय पनि छ उनको गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष ।श्रमिकले भरिभराउ मलेसियाजस्तो मुलुकमा एनआरएनएलाई स्थापित गर्ने कुरा चानचुन थिएन । विनोदले सबैलाई समेटेर एनआरएनए मलेसियाको उचाइँ ह्वात्तै माथि पुर्याएका छन् । सबै संघ–संस्था र समुदायलाई एकठाउँमा राखेर अघि बढेका छन विनोद । विनोदले नेतृत्व गरेको समूहलाई अहिले सबैले सम्मान गर्छन ।
मलेसियामा एनआरएनएको बोर्ड नै राखेर कार्यालय सञ्चालन गर्न सहज थिएन । तर, उनी नेतृत्वको टोलीले कार्यालय मात्रै खोलेन भोलिका दिनमा दुःखमा परेका नेपालीलाई राख्ने सेल्टरसमेत स्थापना गर्यो । एनआरएनएको भवन र भित्ता–भित्तामा टासीएका नेपालका पोस्टर देख्दा गर्वले छाती फुलेर आउँछ उनी लगाएत यहाँ पुग्ने नेपालीलाई । पहिले–पहिले नेपाली संघ–संस्था र समुदायले कार्यक्रम गर्दा ठाँउ पाइँदैन्थ्यो । कतै सडक त कतै होटलका कोठा भाडामा लिएर गर्नुपर्ने बाध्यता थियो । तर अहिले त्यो बाध्यता हटेको छ । ढुक्कले कार्यक्रम गर्न सक्ने वातावरण बनेको छ ।
समस्यामा परेका नेपालीहरूलाइ उद्धारदेखि नेपालसम्म पठाउने कार्यमा विनोद नेतृत्वको समूह रातदिन नभनी खटिएको छ । कोरोना महामारीमा एनआरएनए मेलेसियाले कैयौं नेपाली श्रमिकको उद्धारमा उल्लेखनीय भूमिका खेलेको छ । राहत संकलन गरेर नेपालसम्म पठाएको त्यो समय स्मरण गर्छन्, उनी । ‘समस्यामा परेको भन्दै नेपाली दाजुभाइको रात १२ बजे फोन आउँछ । सुनेपछि उद्धार गर्नैपर्यो । नेपाली दूतावासको पनि उत्तिकै सहयोग छ । जसका कारण उद्धार गर्न निक्कै सहज भएको छ,’ विनोदले भने । मलेसियाका लागि नेपाली दूतावासको कार्यको प्रशंसा गरेर थाक्दैनन्, उनी । ‘पेसा–व्यवसायलाई धरापमा राखेर पनि हामीले समाजसेवा गर्नुपरेको छ’, उनी थप्छन । ‘तर, कतिपय साथीहरूले कुरा नबुझ्दा कहिलेकाहीँ दिक्क लाग्छ,’ उनले भने । उनी आफ्नो ब्यावसाय सन्गै सामाजिक कार्यमा कहिलै नथाक्ने बताउँछन ।


