
कराते टोली भुटान प्रस्थान
भुटानमा आयोजना हुने पाँचौं दक्षिण एशियन किकबक्सिङ्ग च्याम्पियनसिपमा सहभागि हुन नेपाल सो–क्योकुशिन करातेको टोली आज त्यस तर्फ प्रस्थान गरेका छन् ।
टोलीलाई बिहिबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राखेपमा बिदाई गरे । भुटान जाने टोलीमा ३ अफिसियल र ६ खेलाडी गरि कुल ९ जना रहेका छन् । संघका अध्यक्ष राजकुमार श्रेष्ठको नेतृत्वमा रहेको टोलीमा जगतबहादुर धामी, कसिस कुमारी क्षेत्री, सिवानी श्रेष्ठ, कविन देशार, भुवन हायु, जयराम ब्लोन, मुकेश लुईटेल खत्री र दलबहादुर घले रहेका छन् ।
भुटानको फुएनसोलिगमा अगष्ट २० र २१ गते हुने च्याम्पियनसिप निन्जा स्पोर्टस् फेडेरेशन र ईन्टरनेशनल स्पोर्टस् गेम्स फेडेरेशनको संयुक्त आयोजनामा हुने अध्यष श्रेष्ठले जानकारी दिए ।
भक्तपुर जिल्लाब्यापी अन्तर वडा ब्याडमिन्टन हुने
अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रको आयोजना तथा भक्तपुर जिल्ला ब्याडमिन्टन संघको तत्वावधानमा भक्तपुर जिल्लाब्यापी अन्तर वडा ब्याडमिन्टन प्रतियोगिता २०७९ भाद्र १८ गते देखि हुने भएको छ ।
प्रतियोगितामा पुरुष एकल, पुरुष युगल, महिला एकल र भेट्रान्स युगल ४५ माथि गरि ४ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् ।
१२ लाखको लागत रहेको प्रतियोगिताको विजयी शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले ट्रफी, मेडल र प्रमाण पत्रका साथ नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् । यस्तै पदक प्राप्त गरेको आधारमा टिम च्याम्पियन घोषणा गरिनुका साथै प्रथम, द्वितीय र तृतीय हुने वडालाई ट्रफी प्रदान गरिने छ ।
२०० बढि खेलाडीको सहभागिता रहने प्रतियोगिता दुवाकोट सिटी ब्याडमिन्टन सोसाईटी र मनोहरा ईन्डोर ब्याडमिन्टन हलमा खेलाईने आयोजकले जनाएका छन् ।


