दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भीमसेनदास प्रधानको दाबी–गठबन्धनमा कांग्रेस ९० सिटभन्दा तल झर्दैन, भावी प्रधानमन्त्री देउवा नै हो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र २१ गते, मंगलवार २०:२८

नेपाललाई भारतसँग गाभ्ने, ‘नेहरु डक्ट्रिन’लाई सार्थकता बनाउनको लागि अहिलेको गठबन्धन लागेको छ ः आनन्द पोखरेल
गठबन्धनमा देउवा–प्रचण्ड सुझबुझपूर्ण तवरले अघि बढे एमाले धेरै तल झर्छ ः शर्मा
काठमाडौं, २१ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री भीमसेनदास प्रधानले आगामी निर्वाचनको लागि आफ्नो दलले गठबन्धनमा ९० सिटभन्दा तल नलिने स्पष्ट पारेका छन् ।
आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता प्रधानले अहिले गठबन्धनभित्र सिटको बाँडफाँड टुँगो नलागेको पनि स्पष्ट पारे । उनले भने,‘हाम्रो गठबन्धन अहिले सिट बाँडफाँडमा निश्कर्षमा पुगेको छैन् । यसबारेमा छलफल जारी छ। कार्यदलका संयोजक कृष्ण सटौलाजी झापा जानुभएको छ । आज फर्किँदै हुनुहुन्छ । उहाँ फर्किएपछि छलफल हुन्छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफ्नो दलको बटमलाईन १०० सिट भएको सुनाए । उनले थपे–‘हाम्रो बटमलाईन १०० सिट हो । हाम्रो महामन्त्री गगन थापाले पनि यही अडान राख्नुभएको छ । छलफल गरेर जाँदा सहमतिको लागि ८५ देखि ९० सिट राख्नुपर्छ भन्ने सुन्नमा आएको छ । तर, ८० सिटमा सहमति हुने सम्भावना न्यून देख्छु ।’
उनले अहिलेको पाँच दलीय गठबन्धनको सरकार बाध्यात्मक अवस्थामा बनेको स्मरण गराए । उनले तत्कालिन नेकपाका नेताहरु प्रचण्ड र माधव नेपालले आग्रह गरेर नै आफ्नो सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व लिएको सुनाए । उनले भने,‘त्यतिवेला संविधानमाथि प्रहार भएकोले नै हाम्रो पार्टी आन्दोलनमा जानुपर्छ भनेर गएको हो । त्यसकै उपज हो–यो गठबन्धन ।’
उनले अहिलेको चुनावलाई गठबन्धन भर्सेस एमालेको रुपमा पनि चित्रण गरे । उनले भने,‘गठबन्धनले जित्यो भन्यो, गठबन्धनका हिमायती प्रचण्ड, माधव नेपाल र देउवा सबैको जित हुन्छ, अहिलेको चुनाव भनेको त गठबन्धन भर्सेस एमाले नै हो । अहिले चुनावको कुरा गर्दा पहिलो बलियो दल कांग्रेस हो । दास्रो बलियो भनेको एमाले नै हो । गठबन्धनको कुरा गर्दा अब सिट बाँडफाँडमा जु–जुन ठाउँमा जुन दल बलियो छ, त्यही दललाई सिट छोड्नुपर्छ । मुख्यगरि यो चुनावमा कांग्रेस र एमालेबीच नै प्रतिष्पर्धा हुने हो । अहिले फुटको संघारमा परेको एमाले कमजोर देखिएको छ ।’
उनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटमा बहुमत ल्याउनेगरि सिट बाँडफाँड गर्नुपर्नेमा जोड दिए । उनले भने,‘गठबन्धन हार्यो भने त प्रधानमन्त्रीको महत्वकांक्षा बोक्नेहरुलाई धक्का लाग्छ । गठबन्धन जित्यो भने प्रचण्ड, देउवा र माधव नेपालको शीर पनि ठाडो हुने हो । अहिले सिट बाँडफाँडबारे गठबन्धनमा निर्णय भैसकेको छैन् । सबै वस्तुस्थिति हेरेर जानुपर्छ । नेताहरुले गठबन्धनको बहुमत आउनेगरि एक्सरसाईज गर्नुभएको छ ।’
उनले यो निर्वाचनमा गठबन्धनभित्र कांग्रेसले बढि सिट पाउने भयो भने निर्वाचनपछि गठबन्धनको सरकार बन्ने दाबी गरे । उनले भने,‘कांग्रेसले बढि सिट पाउने अवस्था आयो भने गठबन्धनको सरकार बन्छ । तर, नजित्ने ठाउँमा पनि भाग मात्रै खोजियो भने त, एमालेलाई परास्त गर्न गाह«ो हून्छ । हाम्रो बटमलाईन नै ९० हो । १०० सिट लिने महामन्त्री कसरी ८० मा झर्छ होला त? यो सम्भव छैन् । ठाउँ र पार्टीको जनाधारको अवस्था हेरेर सिट बाँडफाँडमा लाग्नुपर्छ । एकीकृत समाजवादीको कुरा गर्दा काठमाडौंमा जीवनराम बलियो छ । जीवनरामजी त हिजो आन्दोलनमा काम गरेको व्यक्तित्व हो । गठबन्धन हार्यो भने को हार्छ त ? देउवा हार्ने हो, माधव नेपाल र कमरेड प्रचण्ड हार्ने हो । गठबन्धनले कसरी बहुमत ल्याउँछ भन्ने रणनीति बनाउनुपर्छ । यसरी जान सकियो भने भोलिको सरकार गठबन्धनको बन्छ । हामी ८० सिटमा त झर्नै सक्दैनौं । अहिलेको प्रतिष्पर्धा भनेको नै एमाले र कांग्रेसबीच नै हो ।’
उनले विवादमा मुछिएका व्यक्तिहरुलाई पार्टीले चुनावमा उम्मेदवार नबनाउने स्पष्ट पारे । अफ्ताब आलम र विजयकुमार गच्छदारको बारेमा सोधिएको प्रश्नमा उनले यस्तो टिप्पणी गरेका हुन्ु । उनले भने,‘नेपालको निर्वाचन कानूनमा आरोपितलाई उम्मेदवार बनाउन कानूनी अड्चन छ । आफ्नो ठाउँबाट आउन सक्छ । तर, त्यसको असर पार्टीको लागि त अर्को क्षेत्रमा पर्नसक्छ। यो कुरा नेतृत्वले हेक्का राख्नुपर्छ । उहाँहरु उम्मेदवार नबन्दा नै राम्रो हो ।’ नेता प्रधानले महामन्त्री गगन थापा काठमाडौं–४ बाटै चुनाव लड्ने विश्वास व्यक्त गरे । उनले भने,‘उहाँ पपुलर फेस हो, उहाँको नाम धेरै ठाउँबाट सिफारिश भएको होला, यहाँबाट नउठिकन अब अन्त गयो भने, गगन थापा यहाँबाट भाग्यो भन्ने मेसेज जान्छ । चुनावमा हार÷जित हुन्छ नि, कांग्रेसका थुप्रै सिनियर लिडरले ०७४ मा हार्नुभयो । गगन थापा त भोलि पार्टीको सभापति बन्ने क्षमता बोकेको व्यक्ति हो ।’
उनले आगामी निर्वाचनपछि पार्टीबाट भावी प्रधानमन्त्री सभापति शेरबहादुर देउवा नै भएको स्पष्ट पारे । उनले भने,‘देउवाजी अहिले दलको नेता हो । पार्टीको सभापति पनि हो । उहाँकै नेतृतवमा चुनाव हुँदैछ । केपी ओली त कति विरामी भयो, भयो । प्रचण्डले पनि आलोपालो पनि त्याग्नुभयो । अहिलेसम्म देउवा अस्पताल भर्ना भएको थाहा छ ? उहाँ स्वस्थ हुनुहुन्छ ।जिन नै राम्रो हो । उहाँको बुवा पनि ९६ वर्ष बाँच्नुभयो । गिरिजाबाबु कति विरामी हुनुभयो, रामचन्द्रजी पनि विरामी हुनुभयो, तर देउवा विरामी भएको सुन्नुभएको छ ? हाम्रोपार्टीमा प्रधानमन्त्रीको लागि देउवाको विकल्प छैन् । आलोपालोमा त्यसपछि प्रचण्ड होला ।’
उनले आफ्नो सभापतिले कहिल्यैपनि नराम्रो काम नगरेको दाबी गरे । उनले भने,‘देउवाले समयमै स्थानीय तहको निर्वाचन गराउनुभयो, अब संघ र प्रदेशको निर्वाचन एकैचरणमा गर्दै हुनुहुन्छ । सिस्टमअनुसार उहाँ नै हो प्रधानमन्त्री हो । पहिलो चरणमा कांग्रेसले सरकारको नेतृत्व गर्छ । हाम्रो गठबन्धनको साझा एजेण्डा भनेको नै सरकारमा जाने हो । संविधान बचाउने हो ।’
नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री आनन्द पोखरेलले सबै दल मिलेर आएपनि आफ्नो दल एक्लै निर्वाचनमा जाने बताएका छन् । उनले निर्वाचनपछि एमालेले एकल बहुमतको सरकार बनाउने पनि दाबी गरे ।
उनले भने,‘नेपालमा एमालेको विरुद्धमा सबै दलको गठबन्धन गरिएको छ, र एमालेलाई हराउने भनिएको छ । केही साथीहरु कम्युनिष्ट आन्दोलन ध्वस्त गर्न भनेर गठबन्धन बनाएर गए । माओवादी कांग्रेससँग लम्पसार परेको छ । एमालेले यो चुनावलाई सामान्य रुपमा लिएको छैन् । यो चुनाव त हाम्रो लागि वर्ग युद्ध नै हो । नेपालको आन्दोलनमा कहिल्यैपनि सामन्तको अवशेषले जित्दैनन् । गठबन्धन पाँच दलको हो, लोसपा पनि मिसिँदैछ अरे, तर एमालेले यो युद्ध जित्छ । सारा किल्लालाई हामी नष्ट गर्छौं ।’
उनले एमालेले प्रधानमन्त्रीको रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारिसकेको सुनाउँदै एकल बहुमत हाँसिल गरेर एकल सरकार बनाउने पनि दाबी गरे । उनले भने,‘हामी अध्यक्ष ओलीकै ब्यानरमा निर्वाचनमा जाँदैछौं । हिजो हामीले माओवादीलाई ठीक ठाउँमा ल्याएका थियौं, जातीय सम्प्रदायिक कुरा गर्नेहरुलाई ठीक लाईनमा ल्याएका थियौं । केपी ओली सांस्कृतिक राष्ट्रवादको पनि प्रवक्ताको रुपमा आएका छन् । भपुरिवेष्ठित देशलाई भूजडित बनाउने नेता हो । हामी उहाँको नेतृत्वमा ठूलो सफलता हात पार्छौं ।’
उनले सत्तापक्षले देशलाई सिक्किमिकरण गर्नेगरि नागरिकता विद्येयक ल्याएको गम्भीर आरोप लगाए । उनले भने,‘विदेशी चेलीले नेपालीसँग विवाह गर्नेबित्तिकै नगारिकता दिने सोच गलत छ, एउटा नयाँ खालको, जसरी जनमतसंग्रहमार्फत सिक्कीम विलय भयो, नेपाललाई भारतसँग गाभ्ने, नेहरु डक्ट्रिनलाई सार्थकता बनाउनको लागि अहिलेको गठबन्धन लागेको छ । यो विद्येयकको सन्दर्भमा समितिमा पठाएर छलफल गर्ने धैर्यता यो सरकारसँग रहेन । जनताले एमालेलाई हराउँछनजस्तो मलाई लागेको छैन् । यो सरकार नालायकी हो । एसपिपीलार्ई अघि बढाउने सोचका साथ यो सरकार अघि बढिरहेको छ।’
उनले वर्तमान गठबन्धनसँग एमाले नडराएको पनि सुनाए । उनले भने,‘हामी राष्ट्रिय हितको सम्र्वद्धन गर्नेगरि अघि बढेका छौं । अखण्डताको रक्षा र मुलुक आत्मनिर्भरताको लागि, यही एजेण्डा लिएर जनताको बीचमा जानेछौं । हामी चूनाव जितेर एकल बहुमतको सरकार बनाउँछौं ।’
उनले अहिलेको सरकारबाट निश्पक्ष निर्वाचन हुनेमा आशंका व्यक्त गरे । उनले भने,‘गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा मेरो छोरोमाथि ज्यान मार्ने उद्योगको मुद्दा लागेको छ । मेरो छोरो मुलुकमा छैन् । यो सरकारले चुनाव त कब्जा गरेर जित्ने हो । जनाधार छैन् । यो गठबन्धनले निश्पक्ष चुनाव गर्छ भन्ने मलाई लाग्दैन् । हाम्रो लागि निर्वाचन जीवन र मरणको संघर्ष हो । निर्वाचन जित्नको लागि एमालेको तयारी छ ।’
उनले आफ्नो पार्टीका अध्यक्ष केपी ओलीको स्वास्थ्य राम्रो रहेको सुनाए । उनले भने,‘म चूनौति दिएर भन्न चाहन्छु–केपी ओली १८ घण्टा खट्नुहुन्छ । विरामी भनेर आक्षेप लगाउने गरिएको छ । उहाँजत्ति स्वस्थ मान्छे कोही पनि छैन् ।’ उनले वर्तमान गठबन्धन लोकतन्त्र र जनताको मत अपहरण गर्नको लागि बनाईएको आरोप लगाए । उनले आफ्नो दलले केन्द्रीय आधारमा कसैसँग पनि गठबन्धन नगर्ने स्पष्ट पारे ।
उनले भने,‘हामी केन्द्रीय आधारमा कसैसँग पनि गठबन्धन गर्दैनौं । तर, स्थानीय तहको मतको लेनदेन हुन्छ। हाम्रो एजेण्डालाई कसैले तलमाथि गर्दैन् ।’ उनले पार्टीमा अहिले १० भाई र १० बुँदे भन्ने नै नरहेको स्पष्ट पारे । उनले भने,‘पार्टीको १०औं महाधिवेशनअघि त्यस्तो थियो । अहिले महाधिवेशनपछि त्यस्तो छैन् । भीम रावल अछामबाट सर्वसम्म्त उम्मेदवार सिफारिश भएर आउनुभएको छ।’ उनले एमालेमा धेरै मान्छे प्रधानमन्त्री हुन योग्य रहेको सुनाए । तर, अहिलेको आवश्यकत्ता भनेको केपी ओली नै भएकोले भावी प्रधानमन्त्रीको रुपमा ओलीलाई नै अघि सारिएको उनको स्पष्टोक्ति थियो । उनले एमालेले गलत तत्वलाई टिकट नदिने पनि सुनाए । दीपक मनाङेहरुबाट पाठ सिकेको उनको भनाई थियो ।
सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का सचिव दिनानाथ शर्माले आगामी निर्वाचनपछि पनि अहिलेको गठबन्धन रहने बताएका छन् । उनले भने,‘यो गठबन्धन निर्वाचनपछि पनि जान्छ । संविधान र लोकतन्त्रको रक्षाको लागि, सडकमा जाने सन्दर्भमा यो गठबन्धन जुटेको हो । संविधान र राष्ट्रको हितलाई केन्द्रमा राखेर गठबन्धन बनेको हो । गठबन्धन सरकार बन्नु आवश्यकत्ता थियो । नेकपा विभाजन भयो, यो वामपन्थीहरुको लागि दुःखको विषय हो । ओलीले निषेधको राजनीति गर्नुभयो । उहाँले चालेका कदमका कारण राजनीतिक अस्थिरताको स्थिति सिर्जना भयो ।’
शर्माले निर्वाचनको सन्दर्भमा गठबन्धन गर्ने कुरा प्राकृतिक भएको पनि स्पष्ट पारे । उनले वर्तमान सरकारले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने विश्वास पनि व्यक्त गरे । उनले गठबन्धनभित्र सिट बाँडफाँडमा छलफल भैरहेको सुनाए । उनले भने,‘सिट बाँडफाँडको विषयमा कांग्रेस जिम्मेवार छ । यसको सभापति शेरबहादुर देउवा बढि जिम्मेवार छन् । गठबन्धनलाई जोगाएर जानुपर्ने पनि हो । देउवाजीले सबैलाई सम्मानजनक रुपमा अघि बढाउनुपर्छ । देशमा व्यवस्था फेरियो, तर अवस्था उस्तै रह्यो । अब अवस्था फेर्नको लागिपनि भोलिसम्मको लागि यो गठबन्धन आवश्यकत्ता छ ।’
उनले गठबन्धनमा राम्रो एकता हुने भयो भने एमाले धेरै तल हुने दाबी गरे । उनले यसको लागि देउवा र प्रचण्डले सुझबुझपूर्ण तवरले गठबन्धनलाई सँगै लिएर जान सके गठबन्धनले जित्ने उनको दाबी थियो । उनले भने,‘गठबन्धनको परिणाम सकारात्मक आएको छ। नेपालमा भविष्य भनेको गठबन्धनको नै हो । भोलिको दिनमा यहाँ कसैको पनि बहुमतको सरकार बन्दैन् । नेपालको निर्वाचन प्रणाली नै मिश्रित छ । यो निर्वाचन प्रणालील्े गठबन्धनको संस्कारको विकास गरेरजानुपर्छ भनेको छ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु