
रामनगर/नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले राजमार्गमा हुने बढ्दो सवारी दुर्घटनाको न्यूनिकरण गर्ने उद्देश्य अनुरुप बागमती प्रदेशका जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुलाई १५ दिने अभियान सञ्चालन गरेको छ ।
अभियानको पहिलो दिन सवारी चलाउदा मोवाइल फोन प्रयोग गर्ने ५१ सवारी चालकहरुलाई कारवाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता रामकृष्ण सापकोटाले बताउनुभयो ।
सवारी साधन चलाउदा मोवाइल फोनको प्रयोग गर्ने, मोटरसाइकल चालकले हेल्मेट प्रयोग नगरी सवारी साधन चलाउने र चारपाङ्ग्रे सार्वजनिक सवारी, निजी सवारी साधनका चालकहरुले सिट वेल्ट प्रयोग नगरी सवारी चलाउने तथा यात्रु वाहक र मालवाहक सवारी साधनले क्षमता भन्दा बढी यात्रु वा मालसामान राखी ओसार पोसार गर्दा राजमार्गमा सवारी दुर्घटना बढेको कारणले अभियान सञ्चालन गरिएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।
हालसम्म गरिएको सवारी चेकजाँचबाट कार्वाहीमा परेका सवारी चालकहरुबाट ३ लाख २५ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ ।


