
रामहरि अधिकारी, हाम्रो नेपाली पार्टीका प्रदेशसभा उम्मेदवार, काठमाडौं क्षेत्र नम्बर ५ (क), चुनाव चिन्ह लौरो
वेरोजगारी, अशान्ति र अराजकतालाई विकास, समृद्धि र सुशासनमा बदल्नको लागि आफूले यसपटक उम्मेदवारी दिएको बताउने रामहरि अधिकारी विगत १ दशक देखि वैकल्पिक राजनीतिमा क्रियाशिल रहँदै आएका पात्र हुन् ।
यसपटकको प्रदेश सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ (क)बाट चुनावी मैदानमा खटिएका अधिकारीले २०७४ को निर्वाचनमा समेत विवेकशिल साझाको तर्फबाट प्रदेशसभामा उम्मेदवारी दिएका थिए ।
यति बेला अधिकारी विकास, समृद्धि, सुशासन, उद्यमशिल समाजको निर्माण र आत्मनिर्भरताको मुख्य मुद्दा लिएर अधिकारी जनताको घरदैलोमा दौडिरहेका छन् । उनी सामाजिक गतिविधिहरुमा समेत सक्रिय पात्र हुन् ।
राष्ट्रिय संस्कार धाम नेपाल र रारा समाज योग केन्द्रका संस्थापक अध्यक्ष समेत रहेका अधिकारी राष्ट्रका सबै व्यक्तिहरु संस्कारी हुन सकुन् भन्ने मान्यता राख्छन् । यसैकारण हरेक नेपालीलाई योग, ध्यान, सत्सङ, व्यायाम एवं खेलकुद लगायतका गतिविधिहरुमा संलग्न गराउनुपर्ने र यस्ता गतिविधिले हरेक मानिसलाई सुशासनको दारयामा राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अधिकारीको बुझाई छ । हरेक व्यक्ति भित्रै देखि सचेत र जागरुक बन्न सकेको खण्डमा वेथिति आफैं हट्दै जाने र यसै बिन्दुबाट राष्ट्रलाई सुशासनको दिशामा अघी बढाउन सकिने तर्क अधिकारीको छ ।
चुनाव लक्षित भई अधिकारीले सार्वजनिक गरेको संकल्प पत्रमा शिक्षा, स्वास्थ्य, खेलकुद, पूर्वाधार विकास एवं संस्कृति जगेर्ना लगायतका कार्यक्रमलाई बढी महत्व दिइएको छ।



